थापा हिड्छन् पार्टी रोजी, आर्थिक घोटालामा अख्तियारको खोजी

खाेटाङकाे रुपाकोट सूचना तथा सञ्चार सहकारीमा व्यापक आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगले सो सम्बन्धी छानबिन प्रक्रिया अघि बढाएको छ ।

सहकारीमा भएको आर्थिक अनियमितताबारे छानबिन गर्न अख्तियारले पत्र पठाएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

छानबिन समितिमा कार्यालयको मुद्दा शाखाका एक कर्मचारी र कोलेनिकाका एक जना कर्मचारी सदस्य छन् ।

सहकारीले खोटाङमा रुपाकोट सामुदायिक रेडियो सञ्चालन गरेको थियो ।

तर, सहकारीका तत्कालीन प्रबन्धक तथा हाल जनता समाजवादी पार्टी छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका नेता टंकबहादुर थापासहितका व्यक्तिहरुले अपारदर्शी ढंगले आर्थिक कारोबार गरेकाले रेडियो बन्द हुन पुगेको थियो ।

रेडियो बन्द भएपछि र सहकारीको नाममा रहेको जग्गा पनि बिक्री गरिएको थाहा पाएपछि केही सेयर सदस्यहरुले सोबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्दै गत असार १८ गते अख्तियारमा उजुरी दिएका थिए ।

जिल्ला प्रशासन कार्यालय खोटाङमा भने गत साउन १३ गते अख्तियारले पठाएको पत्र दर्ता भएको थियो ।

सोपछि जिल्ला प्रशासन कार्यालय खोटाङले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

‘सहकारीमा जिम्मेवार रहेका केही व्यक्तिहरुले आर्थिक अनियमितता गरेको र जग्गा पनि बिक्री गरेको भन्ने कुरा आएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले भने, ‘त्यसका लागि हामीले छानबिन समिति बनाइसकेका छौं, तत्काल काम सुरु गर्दैछौं ।’

अख्तियारमा दिइएको उजुरीपत्रमा रेडियोमा संकलन हुने विज्ञापन बापतको रकम जम्मा नगर्ने, खर्च विवरण नराख्ने, सेयर सदस्य बापतको रकम हिसाब नगरी हिनामिना गर्नेजस्ता आर्थिक नियमविपरीतका गतिविधिले रेडियो बन्द भएको उल्लेख छ ।

साथै सहकारीको नियम विपरीत वर्षौसम्म साधारण सभा नगरी अवैधानिक भइसकेको कार्यसमितिबाटै काम गरिएको र साधारण सभाबाट पारित नै नगरी सहकारीको नाममा भएको जग्गा बिक्री गरिएको पनि उल्लेख छ ।

सहकारी सञ्चालक समितिका कार्यबाहक अध्यक्ष हरि राजभण्डारी, उपाध्यक्ष सागर जोशी, प्रबन्धक टंकबहादुर थापा, सदस्यहरु जयप्रसाद राई, नारायणदास राई र स्टेशन मेनेजर सुर्य तामाङको उपस्थितिमा गत वैशाख १८ गते बैठक बसी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुढेको कित्ता नं १५४० र ५१५ को जग्गा बिक्री गरिएको उजुरीमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार