अशोक राईलाई अघि सारेर धरानको विकासमा जुटे सत्तारुढ दल र मेयर हर्क साम्पाङ

धरानको भौतिक, सांस्कृतिक, सामाजिक तथा पर्यटकीयलगायत सबैखाले विकासका लागि धरान उपमहानगरका मेयर, उपमेयरसहितका जनप्रतिनिधि तथा राजनीतिक दलका स्थानीय नेताहरु पनि एकजुट भएका छन् ।

धरानको समग्र विकासमा पहल गर्न तथा चालू आर्थिक वर्षमै सुरु हुने गरी थप नयाँ योजनाहरु ल्याउनका नगरका मेयर–उपमेयर मात्रै नभएर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजजादीका नेताहरु नै लागेका छन् ।

उनीहरुले हाल धरान–१७ रेल्वेमा घरजग्गा जोडेर बस्न थालेका जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष तथा पूर्वमन्त्री अशोक राईलाई अघि सारेर विकासका योजना थप्ने प्रयत्न गर्दैछन् ।

सोमबार मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघाका साथै सत्तारुढ ‘राजनीतिक दलीय संयन्त्र’का संयोजक तथा कांग्रेस नेता किशोर राई, माओवादी केन्द्र धरान नगरका इन्चार्ज चोत्लुङ, जसपा धरान नगरअध्यक्ष ताजुब लिम्बू, नेकपा एकीकृत समाजवादी धरान नगरअध्यक्ष रेवतीरमण राईसहितका नेताहरुले काठमाडौं आएर जसपा सङ्घीय परिषद् अध्यक्ष राईलाई अघि सार्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री इश्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठसँग डेलीगेशन गएका छन् ।

सो क्रममा उनीहरुले भौतिक पूर्वाधार मन्त्री राईलाई विष्णुपादुका सडक निर्माणका लागि ३३ करोड ५७ लाख बजेट उपलब्ध गराउन र सेउतीखोला र खांकरडाँडामा पक्की पुल निर्माण गर्न ८ करोड बजेट व्यवस्था गर्न माग गर्दै पत्र बुझाए ।

उनीहरुले वन तथा वातावरणमन्त्री यादवसँग जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको भवन निर्माणका लागि तिनकुनेस्थित लाङ्घाली सामुदायिक वनको ५ कट्ठा जग्गा उपलब्ध गराउन पहल गर्न माग गरे ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री श्रेष्ठसँग भने वीपी पार्क, सभागृह मर्मत, नाटकघर निर्माण, हेलीप्याड निर्माण, सप्तकोसीको कटान नियन्त्रण, बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या मन्दिरको वृहत्तर विजयपुर विकास समिति निर्माण गर्न, विष्णुपादुका, रामधुनी, वर्जु ताल लगायत धार्मिकस्थलहरुलाई धार्मिक पर्यटनको रुपमा विकास गर्न लगायत माग राखेका थिए ।

भौतिक पूर्वाधारमन्त्री राईले आफ्नै पार्टीको प्रभावशाली नेता आएर बजेट माग्दा उपलब्ध नगराए ‘आफ्नै टिकट काटिदिने’ ठट्टा गर्दै विष्णुपादुका सडक निर्माणका लागि ३३ करोड बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् भने वन तथा वातावरणमन्त्री यादवले ट्राफिक कार्यालयको भवन बनाउन आवश्यक जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री श्रेष्ठले पनि जनप्रतिनिधि र राजनीतिक दलको नेताहरुको मागप्रति आफू गम्भीर भएको र सकेको योजना राखिदिने बताए ।
मन्त्री राई र यादव जसपाबाट मन्त्री बनेका हुन् भने श्रेष्ठ नेकपा एकीकृत समाजवादीबाट बनेका हुन् ।

दलीय संयन्त्रका संयोजक किशोर राईसहितको नेताहरुले यसअघि नै धरानको रेल्वेमा पुगेर जसपा अध्यक्ष राईलाई धरानको समग्र विकासमा नेतृत्व लिन आग्रह गरेका थिए ।

नेता राईले आफूले पहिल्यैदेखि धरानको विकासमा अगुवाई गर्दै आएको प्रष्ट पार्दै हाल दलीय संयन्त्रले नै आग्रह गरेकोले त्यो आफ्नाे लागि झनै खुसीको कुरा भएको बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार