मधेस प्रदेशको नामाकरणले मधेसी जनतालाई ठूलो सफलता प्राप्त भयो : उपेन्द्र यादव

 155 पटक हेरिएको

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशको नामाकरणले मधेसी जनतालाई ठूलो सफलता प्राप्त भएको बताएका छन् । २०६३ मा अन्तरिम संविधान जारी भएपछि मधेसमा विद्रोह भयो । त्यो विद्रोहको कमान्डर पनि यादव थिए । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारले गरेको सम्झौताअनुसार अन्तरिम संविधानमा ‘संघीयता’ थपिएपछि मधेस आन्दोलन रोकिएको थियो ।

मधेस आन्दोलनका दुई एजेन्डा थिए । एउटा मुलुक संघीय संरचनामा जानुपर्ने र अर्को स्वायत्त मधेस एक प्रदेश । राजनीतिक उतारचढावले मधेसको भू–भाग विभिन्न प्रदेशमा बाँडिए । तर, प्रदेश २ का ८ जिल्लालाई मधेस प्रदेश बनाउनुपर्ने एजेन्डामा यादवको अडान यथावतै रह्यो । सोही अडानले आज मूर्त रुप लिएको छ । अध्यक्ष यादवले भने, ‘प्रदेश २ को मधेस प्रदेशको नामाकरणले मधेसी जनतालाई ठूलो सफलता मिलेको छ । मधेसका सहिदहरुको सपना साकार भयो ।’

उनले थप्दै भने, ‘प्रदेश २ का जनताले आफ्नो पहिचानका आधारमा नाम तय गरे । यहाँको जनताको आत्मनिर्णयको अधिकार पनि हो । जहाँसम्म अन्य प्रदेशको नाम राखिएको छ, त्यो नामाकरण राजा महेन्द्रकै पालाको हो । कोसी, गण्डकी, कर्णाली अञ्चल । नदी–खोलाका नामबाट राजा महेन्द्रले अञ्चलको नाम राखे । त्यही अनुशरण गरेर बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश भनेर नाम राखियो । उच्चस्तरीय राज्य पुनर्संरचना आयोगले पनि पहिचान र सामर्थ्यका आधारमा राज्यको पुनर्संरचना गर्नुपर्छ भनेर राज्यलाई सुझाव दिएको छ । र, पहिलो संविधानसभाले पनि त्यसलाई स्वीकारेको छ । राज्यको पुनर्संरचना गर्दा पहिचान र सामर्थ्यकै आधारमा गर्दा राम्रो हुन्छ ।’

तत्कालीन समयमा यो आन्दोलन पानीको फोका हो भन्नेहरु नै आज अध्यक्ष यादवको एजेण्डामा सहमति जनाएका छन् । अध्यक्ष यादव पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन तीन दिनदेखि जनकपुरमै रहेका बेला सोमबार प्रदेश २ को नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ चयन भएको थियो । सोमबार जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा पार्टी प्रवेश गराइरहँदा प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधाम दुई तिहाइले पारित भएको खबर सुनेपछि यादव भावुक बनेका थिए । मधेस आन्दोलनको जगमा राष्ट्रिय राजनीतिमा उदाएका यादव त्यही पात्र हुन्, जसले संघीयता र मधेस प्रदेशको मागलाई बुलन्द बनाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार