नीति संस्कृति पुनस्थापित गर्दा खसहरुले हेक्का राख्नुपर्ने कुरा !

चन्द्रप्रकाश बानियाँ

गत शनिबार विश्वभर छरिएर रहेका खसबन्धुहरुका बिचमा भिजुएल छलफलको आयोजना गरिएछ । विषय थियो– गृहप्रवेश अर्थात नयाँ घर निर्माणपछि गरिने वास्तुपूजा वा घरपैंचो ।

खस एउटा त्यस्तो जाति बनेको छ, जसले आफ्ना रीतिरिवाज, परम्परा, धर्मसंस्कृति र भाषासमेत बिर्सिसकेको छ । पराई संस्कृतिमा रमाउन थालेकै सयौं वर्ष भैसकेको छ । आफ्नोपन भूलेर पराई संस्कार संस्कृतिमा भतुवा लागेको छ । आफ्नो परम्परा त्यागेर पराई सामाजिक व्यवस्थालाई अङ्कमाल गरेको छ । सांस्कृतिक दासमा रुपान्तरित भएको छ । अरुको भारी बोक्नमै रमाएको छ । सिङ्गो जाति पराई धर्म संस्कृतिको गुलाम बनिसकेको छ । आफ्नो कुन हो र पराईको कुन हो भनेर छुट्टयाउन नसक्ने अवस्थामा पुगेको छ । यो तेरो होइन भने तेरो आफ्नो के हो त भनेर स्वभाविक रुपमा सोधिने प्रश्नमा नाजवाफ हुनुपर्ने अवस्थामा छ । भाषा अलिकता बाँचेको छ । त्यसको कारण पनि महाकाली पारिको समाज बनेको छ । उता आउजाउ नगरी हाम्रो काम चल्दैन । उता त्यही भाषा चल्छ । त्यसैले डोटेली भनेर चिनिने भाषिकाका २÷३ भिन्न रुपहरु जीवित छन् । त्यो कारण रहँदैनथ्यो अर्थात उता ती भाषिकाहरु प्रयोगमा हुदैनथे भने सिंजाली खस भाषिकाझै यतिखेरसम्म बोलचालबाट डोटेली भाषा पनि बिलुप्त भैसक्ने थियो । खस भाषा पूर्णरुपमा चिहानमा समाधिस्थ भैसकेको हुने थियो ।

ढिलै भएपनि खसहरुमा जागरण आउन थालेको छ । आफ्नोपनको खोजी हुन थालेको छ । खस अभियान सुस्त गतिमै भए पनि अघि बढ्न थालेको छ । खस अगुवाहरु आफ्ना मौलिक रीतिसंस्कृति पुनस्थापनाको अभियानमा छन् । जातिको अस्तित्व जोगाउनुपर्छ भनेर लागिपरेका छन् । अर्थात आफ्नो परम्पराहरुको खोजीमा छन् । आफ्ना रीतिसंस्कृतिको खोजीमा छन् । आफ्नो धर्मको खोजीमा छन् । आफ्नो जातिको खोजीमा छन् । खसहरु बल्ल खस भएरै बाँच्ने कोसिसमा छन् । पछिल्लो विमर्श त्यही अभियानको एउटा कडी थियो ।

नेपाल अल्पसंख्यक जातिहरुको बसोबास भएको ठाउँ हो । कुनै पनि जाति एकल बहुमतमा छैन । हो, कुनै जातिविशेषको वर्चस्व छ तर जातिगतरुपमा नेपाल बहुजाति रहेको मुलुक हो भनेर संविधानले पनि स्वीकारेको छ । नेपालको सन्दर्भमा जाति मेट्ने कोसिस राज्यका तर्फबाट भएकै हो । एक जाति एक धर्म, एक भाषा एक भेषको नारा दशकौं दशकसम्म अभ्यास गर्ने कोसिस भएकै हो । त्यो सम्भव भएन । जातीय विविधताले राज्यको अभियान स्वीकारेन । भाषिक, धार्मिक र सांस्कृति विविधताले राज्यको अभियानलाई असफल बनाइदियो । पहिचानको आन्दोलन उठ्यो । सुस्तायो । फेरि उठ्ने छ । समस्या बाँकी रहँदासम्म पटक पटक उठ्दै रहनेछ । जुन बेलमा देशमा पहिचानको आन्दोलन चलिरहेको थियो, त्यतिबेला खस समाज मस्त निद्रामा थियो । बरु पहिचानको आन्दोलनको विरुद्धमा थियो । उसको गतिविधि उल्टो धारमा केन्द्रित थियो । ढिलै भए पनि खसहरुमा जातिपहिचानको चेतना जाग्न थालेको छ । खस अगुवाहरुको पछिल्ला गतिविधि त्यसैमा केन्द्रित छन् । त्यसैले खसहरुको त्यो चेष्टा प्रेरक छ । प्रशंसनीय छ । आफ्नोपनको खोजी स्तुत्य छ । रीति संस्कृतिविना कुनै पनि जातिको अस्तित्व जोगिदैन । जातिको माया गर्नेहरुले जातिगत रीतिसंस्कृतिलाई माया गर्नुपर्छ । तिनको खोजी र संरक्षण गर्नैपर्छ ।

खस अगुवाहरुमा अदम्य उत्साह जागेको भए पनि एउटा अलमल भने देखापर्छ । हुन पनि खस जातिले आफ्नो सर्वस्व गुमाइसकेको थियो । भाषा, संस्कृति, परम्परा, धर्मसमेत सबै कुरा हराईसकेको थियो । जाति पहिचान स्थापनाको कुरो गर्दा मासिन आँटेका सबै कुराहरु पुनस्थापना गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । सारा आफ्नोपनहरु हराएको हुनाले गरौं त के गरौं, कसरी गरौं भन्ने अलमल हुनु स्वभाविक हो । मानव समाज एक एक पाइला अघि सारेर आजको युगमा आइपुगेको हो । मानवजातिले गरेको उन्नति प्रगति एकैदिनको उपलब्धी होइन । स्थापित रीतिसंस्कृतिहरु एक दिनको अभ्यासको प्रतिफल होइनन् । न भाषा एकैदिनमा जन्मेको हो, न संस्कार संस्कृति एकै दिनमा निर्माण भएका हुन् । मानिसको लामो अभ्यास, निरन्तरको प्रयाशबाट स्थापित भएका हुन् । विकसित भएका हुन् । धर्मशास्त्रहरुले भनेजस्तो इश्वरले सबै कुरा तयार पारेर मानिसलाई “लौ गरीखाउ” भनेर बनिबनाउ पोको सुम्पेको होइन । भाषा मानिसले सिर्जना ग¥यो । धर्म मानिसले बनायो । भगवान पनि मान्छेले बनायो । भगवान वास्तवमा मानव समाजको सतकर्मको साँक्षी मात्र हो । प्रतिमान हो । लाखौं वर्षको निरन्तर अभ्यास, अनुभव र प्रयत्नबाट आजको सुसंस्कृत र सभ्य समाज निर्माण भएको हो । ज्ञान विज्ञान र प्रविधिको विकास भएको हो । पृथ्वीमा मानवजातिको वर्चस्व स्थापित भएको हो ।

खस जातिको लामो र गौरवपूर्ण इतिहास थियो । खस जातिले चर्चेको विशाल भूगोल थियो । अलग सम्यता थियो । समुन्न्त संस्कृति थियो । मौलिक परम्परा र रीति थियो । विडम्बना नै मान्नुपर्छ गौरवशाली इतिहास भएको जाति खस यतिखेर समयको गर्तमा विलुप्त भाएको आफ्नोपनको खोजीगर्नुपर्ने अवस्थामा पुगेको छ । जातिको इतिहास, भूगोल, अस्तित्व, अस्मिता र पम्पराहरुको खोजी एकैसाथ गर्नुपर्ने भएको छ । कुन विन्दुबाट खोजी अभियान सुरु गर्ने, कुन विषयलाई प्राथमिकता दिने भनेर अलमलिनुपर्ने भएको छ । त्यसैको उदाहरण थियो– “घरपैंचो” को परम्पराको बारेमा भएको विमर्श ।

हो, आफ्ना रीति संस्कृतिहरुको खोजविन जरुरी भएको छ । सबै कुरा मासिएका हुनाले एक एक कुराको खोजी गर्नुपर्ने भएको छ । समाजलाई पुनर्जिवन दिन ती सबै कुराको आवश्यकता पर्छ । इतिहासको गर्भका विलुप्तप्रायः भैसकेका रीतिसंस्कृतिहरुको खोजी सजिलो छैन । फेला परेपछि पनि तिनको पुनस्थापना गर्नु उत्तिकै अप्ठेरो छ । रीति परम्पराहरु “फू मन्तर” गरेर तत्काल प्रकट गर्न सकिने कुरा होइनन् । तत्क्षण सिर्जना गर्न सकिने कुरा होइनन् । उपलब्ध झिना मसिना सूत्रहरु समातेर तथ्यको तहसम्म पुग्नुपर्ने हुन्छ । त्यसैले तातै खाउँ जली मरु गर्न हतारिनु पनि हुदैन । खोजले समय लिन्छ । तर त्यतिञ्ज्याल कुर्न सकिने अवस्था पनि छैन । त्यसैले तत्कालको समाजको आवश्यकता पहिचान गरेर कुन विषयलाई प्राथमिकता दिने भन्ने निर्णय लिनुपर्ने हुन्छ । समाजलाई तत्काल खट्कने कुराहरुको खोजी गर्ने र पुनस्थापित गर्दै जानुपर्ने हुन्छ ।

खस जातिले आफ्ना रीति संस्कारहरु बिर्सेको छ । पर्वदिवसहरु पनि भुलेको छ । संस्कारहरु त्यागेको छ । ती सबै कुरा समय सन्दर्भमा पुनस्थापित गरिदै जानु आवश्यक छ । सबै कुरा एकैसाथ गर्न नसकिने हो भने प्राथमिकता कुन विषयलाई दिने भनेर निश्चित गर्नुपर्छ । यसमा पनि उसमा पनि एकैसाथ हात हालेर गिजोल्नु हुदैन । उदाहरणका लागि संस्कार र पर्वमध्ये कुनलाई प्राथमिकता दिने भन्ने प्रश्न लिउँ । समाजका लागि दुबै कुरा उत्तिकै जरुरी होलान् । तर दुईमध्ये एकलाई प्राथमिकता दिनुपर्ने भयो भने आधार केलाई बनाउने भनेर स्पष्ट हुनु जरुरी हुन्छ । त्यसका लागि तत्काल समाजलाई खट्कने विषय कुन हो भनेर निक्र्योल गर्नुपर्छ ।

पर्व र संस्करामध्ये कुनचाहीँ विषय बढी मह्वको हो त ? यद्यपि दुबै समाजका लागि उत्तिकै आवश्यक तत्व हुन । दुबै समाजका आफ्ना सिर्जना र अभ्यास हुन् । समाजलाई सभ्य र सुसंस्कृत बनाउन दुबैको आवश्यकता पर्छ । यो चाहिदैन र त्यस्को आवश्यकता छैन भन्न मिल्दैन । तर समाजलाई आफ्नोपनको अनुभूति गराउने र फरकपन स्थापित गर्नका लागि पर्व र संस्कारमध्ये कुनलाई प्राथमिकता दिनुपर्ला भनेर गरिने प्रश्नको उत्तरमा आउने पहिलो कुरा हुन्छ– संस्कार । पर्व उत्सवहरु जातिविशेष र स्थानविशेषका फरक फरक हुन्छन् तापनि जसले जस्का माने पनि हुन्छ । नेपाली समाजले अँग्रेजी नयाँ वर्ष धुमधामले मनाउन थालेको दशकौं बितिसकेको छ । कुन सन्दर्भमा हो कुन्नी गोरखा पुगेका बेलायती युवराजले होली मनाएको कुराले निकै चर्चा पाएको थियो । धार्मिक दङ्गा भैरहने भारतीय समाजमा हिन्दू र मुस्लिमहरु एक अर्काका पर्व उत्सवहरुमा हार्दिकतापूर्वक सामेल हुनेगर्छन ।

पर्वहरु अरुका मान्दा पनि फरक पर्दैन । त्यसले सामाजिक सद्भाव बढाउनमा मदत गर्छ । पर्व मनाउनु भनेको खुसी मनाउनु हो । अरुको खुसीमा सामेल हुनु हो । तर संस्कार फरक कुरा हो । हरेक समाजका आआफ्नै संस्कार संस्कृति हुन्छन् । संस्कार समाजको विशिष्टता हो । आफ्नोपन जोगाउन संस्कार जोगाउनुपर्ने हुन्छ । अर्थात समाजले पर्व अरुका पनि मनाउन सक्छ तर संस्कार पनि अरुको अवलम्बन गर्न थाल्यो भने आफ्नोपन गुमाउँछ । त्यसैले पर्व र संस्कारमध्ये समाजलाई पहिले आवश्यकपर्ने संस्कार हो, रीतिसंस्कृति हो ।

खस एकता समाजका अध्यक्ष आफैले “आमाको अन्तिम संस्कार कसरी गरौं” भनेर सार्वजनिकरुपमा प्रश्न राखेको कुरा स्मरणीय हुन आउँछ । अर्थात संस्कार त्यस्तो विषय हो जस्ले व्यक्तिलालाई मात्र होयन, समाजलाईसमेत समस्यामा पार्छ । अघिल्लो महिना भएको एउटा भिजुएल छलफलमा एकजना सुवेदी बन्धुले एउटा सम्वेदनशील विषय उठाउनु भएको थियो । कुरो के रहेछ भने बन्धुकी छोरीको उमेर १३ वर्षमा चल्दै रहेछ । प्राकृतिक नियमले रजोदर्शनको बेला भैसकेको रहेछ । सुवेदी बन्धुले हिन्दू समाजको प्रचलनमा रहेको रजस्वला बार्ने चलनसंग विमति राख्नु हुँदोरहेछ । रजस्वलालाई अछुत मान्ने परम्परा मेट्नुपर्ने मान्यता राख्नु हुँदो रहेछ । तर समाजलाई मनाउन गाह्रो पर्ने अनुमान गर्नुभएको रहेछ । उहाँलाई पुरातन र अवैज्ञानिक प्रचलन तोड्नमा समाजको साथ र समर्थन चाहिएको रहेछ । परिवार र समाज तयार हुने अवस्था रहेनछ । समाजको पुरातन सोचाई स्वीकार्न उहाँको मनले मानेको रहेनछ । खस अभियन्ताहरुले त्यो जड परम्परा परित्यागको संस्थागत निर्णय गरिदिए आफूलाई सजिलो पथ्र्यो भन्ने लागेको रहेछ । खस समाजमा प्रथम रजोदर्शन महिना दिन बार्ने चलन छ । त्यस्तो चलन गलत हो भन्ने जानेर बुझेर पनि त्यसका विरुद्ध एक्लै उभिन गाह्रो हुनेछ भन्ने बुझाई सुवेदी बन्धुको रहेछ ।

पश्चिमको खस समाज छाउपडी प्रथाका कारणले आजपर्यन्त वदनाम छ । रजोदर्शनको अवधिभर घरभित्र बस्न नहुने चलन छ । मिठो चोखो, दूध मही खान हुन्न भन्ने मान्यता छ । त्यसो गरियो भने देवता रिसाउँछन्, विघ्नवाधा निम्तन्छ, गाईभैसीले दूध दिदैनन् भन्ने चलन छ । छाउ गोठहरु भत्काउने गैरसरकारी सामाजिक संस्थाहरुको अभियान र दण्डनीय मान्ने कानूनी व्यवस्थाले पनि रजोदर्शनलाई छुत बनाउन सकेको छैन । पश्चिमको तुलनामा पूर्वतिर अलिकता खुकुलो भए पनि रजोदर्शन बार्ने परम्परा मेटिएको छैन । घरघरमा छाउपडीको नयाँ रुप जीवित छ । बाहुन क्षत्रीका घरपरिवारमा छाउपडी बाँकी छ । छुवाछुत बाँकी छ । रजोदर्शनलाई पाप मान्ने अन्धविश्वासको जरो उखेलिएको छैन । जसरी समाजका अध्यक्षलाई अन्तिम संस्कार कसरी गर्ने भन्ने समस्या आकस्मिक रुपमा आइलाग्यो त्यसरी नै रजोदर्शनको समस्यामा पनि घरघरमा विद्यमान छ । संस्कार र मान्यता कहिलेकही समाजका लागि समस्या बनेर उभिदिन्छन् । अर्थात संस्कारले मानिसलाई अप्ठेरोमा पार्छ । त्यसैले संस्कार स्थापनालाई पहिलो प्राथमिकता दिनुपर्ने हुन्छ ।

बच्चा जन्म्यो नामकरण संस्कार कसरी गर्ने भन्ने समस्या आइलाग्छ । व्रतबन्ध गर्ने कि नगर्ने, गर्ने हो भनेर कसरी गर्ने, विवाहको परम्परा कस्तो बसाल्ने, अन्तिम संस्कार कसरी गर्ने भन्ने कुरा समाजलाई तत्काल प्रभावित बनाउने विषयहरु हुन् । खस समाजले ती सबै संस्कार रीतिहरुको खोजविन गर्नु जरुरी छ । खोज्दै जाँदा फेला परेका विधि परम्पराहरुलाई जस्ताको तस्तै अवलम्बन गर्न खोजियो भने समाजलाई पचाउन गाह्रो पर्ने हुन्छ । विज्ञान र व्यवहारले गलत सावित गरिसकेको कुरालाई हाम्रो परम्परा भनेर स्वीकार्न थालियो भने हाँस्य पात्र बनिने डर हुन्छ । धामीको निर्देशनमा अन्तिम संस्कारको विधि पूर्ण गरियो भन्ने खस एकता समाजका अध्यक्षको भनाई तर्कसंग र व्यवहारसंगत थिएन । समाजलाई गलत बाटोमा डो¥याउनु हुदैन । गलतलाई गलत भन्न सकिएन भने विषय पार लाग्दैन । रीति संस्कृतिको खोजविन र पुनस्थापना गर्दा पर्वलाईभन्दा संस्कारहरुलाई प्राथमिकता दिनु उपयुक्त हुने छ भन्ने कुराको हेक्का खस अभियन्ताहरुले राख्नैपर्ने हुन्छ । त्यसैले पुराना परम्परा रीति संस्कृति खोज्ने हो, पुनस्थापित गर्ने पनि हो तर व्यवहारिक दृष्टिले गलत परम्पराहरु छन् भने आफ्नै हुन भने पनि तिनलाई त्याग्न सक्नुपर्छ ।-जनधारणा साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार