संघीयता बलियो बनाउने संरचनाकाे गृहकार्य गर्दैछु : मन्त्री श्रेष्ठ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले केन्द्रीकृत मानसिकताले संघीयता कार्यान्वयनमा बाधा पुगिरहेकाे बताएका छन् ।

उनले संघीयता कार्यान्वयनलाई बलियो बनाउने र अन्तर तहबीचको समन्वयलाई मजबुत बनाउने संरचना अहिलेसम्म पनि नबनेको बताए ।

उनले भने, ‘संघीयता कार्यान्वयनलाई बलियो बनाउने, अन्तर तहबीचको समन्वयलाई मजबुत बनाउने संरचना अहिलेसम्म नबनेको मात्र होइन, त्यसको गृहकार्य गृहकार्य समेत भएको छैन ।’

गत असोजदेखि मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालेका मन्त्री श्रेष्ठले आफ्नो सबै ध्यान त्यही संरचना बनाउनमै लागेको बताए ।

उनले भने, ‘म मन्त्री भएर आइसकेपछि अहिले संरचना बनाउन तयारीमा लागेको छु । मेरो मुख्य उद्देश्य नै केन्द्रीकृत मानसिकताबाट मुक्त भई संविधानले दिएसम्म अधिकार हस्तान्तरण गर्ने हो ।’

उनले संघ, प्रदेश र स्थानीय तहबीच समन्वयलाई मजबुत बनाउने यो संरचनाले संघीयता कार्यान्वयनको नीतिसमेत बनाउने जानकारी दिए ।

मन्त्री श्रेष्ठले वर्तमान संघीयता खुट्टाले नभई टाउकाले टेकेर उभिएको टिप्पणी गर्दै भने, ‘जसले संघीयतालाई देशको समृद्धिका लागि आवश्यक ठान्यो, जसले संघीयतालाई जन्म दिन संघर्ष ग¥यो, त्यसले संघीयतालाई हुर्काउन पाएन । संघीयता नचाहने वा बाध्य भएर स्वीकार गरेका मूलधारका राजनीतिक शक्तिले संघीयतालाई नचाहँदा नचाहँदै जन्मिएको शिशुका रूपमा व्यवहार गर्दै आएको छ ।’

प्रदेशलाई खासै अधिकार नदिइएको र भएका अधिकार पनि अनेक बहाना बनाएर संकुचित गर्ने काम भइरहेकाले जनतामा संघीयता काम छैन भन्ने सन्देश जानुको साथै ‘सबै सरकारै सरकार, जनतालाई करैकर’ भन्ने बुझाइ पर्न गएको उनकाे भनाइ छ ।

संघ, प्रदेश र स्थानीय तहलाई सँगसँगै चलायमान नबनाईकन मुलुक अघि नबढ्ने यथार्थ सबैले बुझ्न जरुरी रहेकोमा उनले जाेड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार