ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । ‘विदेश पठाइदिन्छु’ भनेर ठगेको आरोपमा प्रहरीले पाँचथरको फाल्गुनन्द नगरपालिका घर भएका छत्रबहादुर विश्वकर्मालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले कीर्तिपुरको ट्याङ्ला फाँटबाट मङ्गलबार उनलाई पक्राउ गरेको हो ।

कीर्तिपुरमा बस्ने ४३ वर्षीय विश्वकर्माले २५ लाखभन्दा धेरै ठगी गरेको गुनासो आएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । बैंकिङ कसुर मुद्दामा फरार छत्रबहादुरलाई पक्राउ गरेपछि ठगी मुद्दाका पनि फरार रहेको खुलेको छ । ०७३ भदौ ५ मा काठमाडौं प्रहरीले मानव बेचविखन मुद्दामा उनलाई अनुसन्धान गरेको थियो । सो मुद्दामा उनि ३ महिना जेल बसेर छुटे ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुर, सातदोबाटो, कालिमाटी र महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई खोजिरहेको थियो । ०७६ जेठ १३ मा उच्च अदालत पाटनले राममाया तामाङको जाहेरीले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र १ लाख जरिवाना तोकेको थियो । कुमारी माया तामाङको जाहेरीले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र ३ लाख ४३ हजार जरिवाना हुने फैसला गरेको छ । फैसलापछि उनी फरार थिए ।

०७७ मंसिर २८ मा महानगरीय प्रहरी वृत सातदोबाटोले उनीविरुद्ध ८ लाख ५० हजार चेक बाउन्स भएको मुद्दा चलाएको थियो । सो मुद्दा अदालतमा विचाराधीन छ । महानगरीय प्रहरी वृत कीर्तिपुरले ०७७ पुस २२ मा सन्तोष अधिकारीको जाहेरीले ३ लाख ४० हजार बराबरको बैंकिङ कसुर मुद्दा चलाएको थियो । सो मुद्दामा पनि उनि फरार थिए ।

विदेश पठाइदिन्छु भनेर उनले २५ लाख बढी ठगेको भन्दै पीडितले महानगरीय प्रहरी परिसर काठमाडौंमा लिखित र मौखिक उजुरी गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार