चिनियाँ लगानीकर्ता ठगेको आरोप लागेका व्यक्ति बैंकिङ्ग कसुर मुद्दामा पक्राउ

काठमाडौं । चिनियाँ लगानीकर्तालाई ठगेको आरोप लागेका लमजुङ घर भएका गमबहादुर लामिछानेलाई प्रहरीले बैंकिङ्ग कसुर मुद्दामा पक्रेको छ । बैंकिङ कसुर मुद्दामा उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले शनिवार लाजिम्पाट स्थित एम्बेस्डर होटलबाट पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरमा गमबहादुरले दिएको दुई करोडको चेक बाउन्स भएको उजुर परेको छ । श्री बहादुर खड्काले उनीविरुद्ध जाहेरी दिएका छन् । बैंकिङ कसुर मुद्दामा उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेर बुझाएको प्रहरी परिसर ललितपुरकी एसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

०७६ मा पनि उनको विरुद्ध काठमाडौं प्रहरीमा बैंकिङ्ग कसुरको मुद्दा दर्ता भएको थियो । उनीमाथी नेपालमा लगानी गर्न आएका चिनियाँ व्यवसायी जुओङ्ग याङ्गलाई पनि ठगेको आरोप छ । नेपालमा ब्यवसाय गर्न चाहेका चिनियाँ नागरिकलाई छक्याएर उनले १० करोड ठगी गरेका हुन् । चितवनमा घाँस उत्पादन तथा प्रशोधन गरी आहारा उत्पादन गर्ने उद्योग खोल्न आएका चिनियाँलाई साझेदार बन्ने प्रस्ताव राखेर उनले ठगेका छन् ।

अधिकृत पुँजी १ अर्ब रहेको ‘टियान यु इन्टरनेशनल प्रा.ली’मा १० प्रतिशत सेयर लामिछानेले पाउने गरी दर्ता प्रक्रिया अघि बढाए । तर, ०७६ वैशाख १६ मा कम्पनी दर्ता गर्दा एकलौटी दर्ता गरेका थिए । उद्योगको लागी जग्गा किन्न भनेर व्यवस्थापन गरेको ६ करोड ५० लाख रकमबाट लामिछानेले काठमाडौंको टोखारोडमा आफ्नौ नाममा घर किनेको चिनियाँ पक्षको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार