सवारी दुर्घटनामा ६ जनाले गुमाए ज्यान

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । कैलाली, सिरहा, मोरङ, धनुषा र रौतहटका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका-५ डोके बजार नजिक सडकमा लु-१ ख ८६०६ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा ना ६ ख ७४६१ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल पल्टिएर आइतवार साँझ दुर्घटना हुँदा बसमा सवार हाल नाम, थर, वतन र उमेर नखुलेका पुरुषको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बसमा सवार २७ जनामध्ये १ जनालाई घोडाघोडी अस्पताल सुखड हुँदै थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ भने १९ जना उपचार पश्चात डिस्चार्ज भएको र ७ जनाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ । दुबै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहाको कल्याणपुर नगरपालिका-२ चतरी कमला बाधस्थित सडकमा स-१ त ७०१६ नम्बरको ट्रयाक्टरमा जडान भएको थ्रेशर खेतमा पल्टिएर आइतवार दिउँसो दुर्घटना हुँदा थ्रेसरमा सवार सोही नगरपालिका-२ चतरी बस्ने ५५ वर्षीय रामरतन मण्डलको घटनास्थलमै मृत्यु भएको छ । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङको कटहरी गाउँपालिका-३ स्थित सडकमा को-१ ख ४७८३ नम्बरको टिपरको ठक्करबाट साईकलयात्री सोही गाउँपालिका-२ बस्ने ३६ वर्षीय बच्चु डुमको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी मोरङ, सुन्दरहरैचा नगरपालिका-५ दुलारीस्थित सडकमा को-१८ प १८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री मोरङ सुन्दरहरैचा नगरपालिका-६ बस्ने ५५ वर्षीय ईन्द्र बहादुर श्रेष्ठको आइतवार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सुनसरी ईटहरी उपमहानगरपालिका-५ बस्ने २६ वर्षीय सेवन कोईरालाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

धनुषाको सबैला नगरपालिका-१० सिमराडीस्थित सडकमा ज-८ प १३४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७५ वर्षीया गुन्दी आमदको आइतवार साँझ घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका-१ स्थित सडकमा ग-१ ख ६४४७ नम्बरको बसले प्रदेश २-०३-०११ प ७८७९ नम्बरको मोटरसाइकललाई आइतवार राति ठक्कर दिँदा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका-१ बागमती डाँडाटोल बस्ने ३४ वर्षीय कुमार लुङ्गेलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुरस्थित चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने २७ वर्षीय जय बहादुर दर्लामीको सोही अस्पताल हुँदै थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंतर्फ रिफर गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार