विवादकाबीच भारतमा कोरोना खोप कार्यक्रम शुरु

 140 पटक हेरिएको

काठमाडौं । चीनपछि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको छिमेकी मुुलुक भारतमा पनि आजबाट कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम सुरु हुँदैछ ।

भारतीय सरकारले कोरोनाका दुई खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) का अनुसार भारतमा कोभिसिल्ड र कोभ्याक्सिन खोपले अनुमति पाएका छन् ।

अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर भारतमा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको खोप हो कोभिसिल्ड । त्यस्तै कोभ्याक्सिन भने भारत बायोटेकले विकास गरेको कोरोना खोप हो ।

भारतको स्वास्थ्य मन्त्रालयले एक करोड १० लाख डोज कोभिसिल्ड र ५५ लाख कोभ्याक्सिन खोप खरिद गरिसकेको बताएको छ ।

यद्यपी भारतमा कोरोना खोपलाई अनुमति दिनको लागि हतार गरेको भन्दै सरकारको आलोचना भइरहेको छ ।

कोभिशिल्ड खोपको प्रभावकारिता अन्य मुलुकमा पनि परीक्षण भइसकेकाले यसमा मानिसहरुको विश्वास देखिए पनि कोभ्याक्सिनको विषयमा भने मानिसहरुले आशंका व्यक्त गर्दै आएका छन् ।

यो खोपको अहिले अन्तिम चरणको परीक्षण चलिरहेको छ । नेपाल सरकारले पनि कोभिशिल्ड खोपलाई अनुमति दिएको छ ।

भारत सरकारले निर्धारण गरेको मापदण्डअनुसार सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु अर्थात् डाक्टर, नर्स तथा स्वास्थ्यसँग जोडिएका मानिसहरु, त्यसपछि फ्रन्टलाइन वर्कर्स अर्थात् प्रहरी, सेना, स्यानिटाइजेसन कर्मचारीहरुलाई कोरोना खोप दिइनेछ ।

त्यसपछिको प्राथमिकतामा मात्रै ५० वर्षभन्दा माथि उमेरका र गम्भीर रोगको सामना गरिरहेका सो उमेर समूहभन्दा कम उमेरका मानिसहरुलाई पनि कोरोना खोप दिइने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार