चिनी मिल र सरकारविरुद्ध भोली माइतीघरमा उखु किसानले आन्दोलन गर्ने

काठमाडौं । चिनी मिलहरुबाट ५२ करोड भन्दा बढि बक्यौता लिन नसकेका उखु किसानहरुले भोली माइतीघरमा आन्दोलन गर्ने भएका छन् । चिनी मिलहरुले सरकारले दिएको निर्देशन समेत उल्लंघन गरी किसानहरुलाई बक्यौता नदिएपछि सर्लाहीका किसानहरु आन्दोलन गर्न काठमाडौं आइपुगेका हुन् ।

उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा काठमाडौं आएका उनीहरुले आइतबार बिहान ११ बजेदेखि माइतीघरमा आन्दोलन थाल्ने तयारी छ ।

गतवर्ष उद्योग वाणिज्य तथा आपर्ति मन्त्रालयले एक महिनाभित्रै भुक्तानी दिलाइदिने भनेर पुष १८ गते किसानहरुसँग सहमति गरेको थियो । तर, एक वर्ष बित्दा किसानले सबै रकम पाएका छैनन् ।

सरकारी तथ्याङ्क अनुसार उखु मिलसंग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ । सरकारले पनि किसानहरुले पाउनुपर्ने रकमका विषयमा खासै चासो नदेखाएको उनीहरुको आरोप छ ।

तथ्यांक अनुसार श्रीराम सुगर मिलले २६ करोड, इन्दिरा सुगर मिलले ४ करोड ७० लाख, लुम्बिनी सुगर मिलले ८ करोड ४१ लाख तथा अन्नपूर्ण सुगर मिलले १७ करोड रुपयाँ उखु किसानलाई बुझाउन बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार