समाजवादी ट्रेड युनियन महासंघ र ट्रेड युनियन फेडरेशनबीच एकता समायोजन

Capture111.JPG

काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालको जनवर्गीय संगठन समाजवादी ट्रेड युनियन महासंघ र ट्रेड युनियन फेडरेशनबीच एकता समायोजन भएको छ । कार्यक्रममा नेपाल ट्रेड युनियन फेडरेशनका सह–अध्यक्ष नारायण थापाकोे नेतृत्वमा सयौँ श्रमिकहरु समाजवादी ट्रेड युनियन महासंघमा समाहित भएका छन् ।

एकता समायोजन कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आथित्यमा, जसपाका शिर्ष नेताहरु राजेन्द्र प्रसाद श्रेष्ठ, नवराज सुवेदी र रकम चेम्जोङ्ग लगायतका नेतृत्वको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल ट्रेड युनियन फेडरेशनका नेता तथा कार्यकर्ताहरुलाई खादा ओडाएर जसपाका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुले स्वागत गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष यादवले अवको बैकल्पिक श्रमिकहरुको शक्ति समाजवादी ट्रेड युनियन महासंघ बन्ने निश्चित रहेको भन्दै, व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर श्रमिकहरुको पक्षमा डटेर संघर्ष गर्न निर्देशन दिए ।

कार्यक्रमका विशेष अथिति एवम् जसपाका शिर्ष नेता राजेन्द्र प्रसाद श्रेष्ठले समुन्नत समाजवाद स्थापनाका लागि श्रमिकहरुको मुख्य भूमिका रहने भन्दै जसपा श्रमिकका पक्षमा सँधैसाथमा रहने बताउनु भयो । यसै गरी जसपाका नेता नवराज सुवेदी, रकम चेम्जोङ्गले ठूला भनिएका पार्टीसँग नजिक रहेका ट्रेड युनियनहरुले मजदुरको नाममा लुट मचाएको भन्दै समाजवादी ट्रेड युनियन महासंघ श्रमिकहरुको पक्षमा इमान्दारीपूर्वक लड्ने संगठन भएको बताए ।

कार्यक्रको अध्यक्षता गर्दै, समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङले महासंघमा प्रवेश गरेकाहरुलाई पूर्व पार्टीको हैसियत, योगदान, कार्यक्षमता, दक्षता क्रियाशीलताको आधारमा मुल्याङकन गरी पार्टी तथा महासंघका विभिन्न समिति, विभाग, तथा भूगोलमा जिम्मेवारी दिइने बताए ।

पूर्व नेपाल ट्रेड युनियन फेडरेशनका सह–अध्यक्ष नारायण थापाले समुन्नत समाजवाद स्थापनाका लागि श्रमिकहरु एकजुट हुनुको विकल्प नरहेको भन्दै जसपा तथा महासंघले श्रमिकका मुद्धाहरुलाइृ गम्भिरतापूर्वक लिनेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा दुई ट्रेड युनियन महासंघबीचमा भएको एकताको सहमति पत्र समाजवादी महासंघका उपाध्यक्ष अर्जुन लम्सालले वाचन गरेका थिए भने, स्वागत मन्तव्य उपाध्यक्ष विष्णु प्रसाद पौडेलले गरेका थिए । कार्यक्रमको सञ्चालन महासंघका महासचिव डी.वी. सरोज राईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार