बम्जनविरुद्ध बलात्कार मुद्दा दायर, १४ वर्षकाे सजाय माग

काठमाडौं । तपश्वी भनिने रामबहादुर बम्जनविरुद्ध मुद्दा दायर भएको छ । धर्मको आडमा बलात्कार र मानिस बेपत्ता पारेको आरोप लागेका बम्जनविरुद्ध जिल्ला अदालत, सर्लाहीमा मुद्दा दायर भएको हाे ।

सर्लाहीका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद गौतमका अनुसार बम्जनलाई १२ वर्षदेखि १४ वर्षसम्मको कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको हाे । जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले बिहीबार बालबालिका सम्बन्धी ऐन, २०७६ अनुसार कारबाही गर्न माग गर्दै मुद्दा दायर गरेको हो । मतियार बनेको अभियोगमा ज्ञानकुमार बम्जन र जेबी गुरुङलाई पनि आधा सजाय माग दाबी गरिएको छ । बालबालिका ऐनको यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण सम्बन्धी कसुरमा मुलुकी अपराध संहिताको करणी सम्बन्धी कसुर अनुसार कारबाही हुने व्यवस्था छ ।

बम्जनले २०७३ साल साउन २० गते राति करिब सवा ९ बजेको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाइ जबर्जस्ती करणी गरेको आरोप छ। घटना भएको समयमा बालिका नाबालिक रहेको थियो। उनको उमेर १५ वर्ष मात्र थियो। १८ वर्ष भएपछि २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।

प्रहरीले सर्लाही, सिन्धुलीलगायतका आश्रममा बम्जनको खोजी गरे पनि उनी फेला पर्न सकेन्। बम्जन पक्राउ नपरेपछि प्रहरीले केही दिन पहिले अनुसन्धान प्रतिवेदनसहितको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो। सरकारी वकिल कार्यालय मार्फत बम्जनविरुद्ध बिहीवार अदालतमा मुद्दा दर्ता गरिएको न्यायधिवक्ता गौतमले जानकारी दिएका छन्। उनले धाक, धम्की दिएर प्रभावमा पारी बलात्कार गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले तयार पारेका रायसहितको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी नै रहेको र बम्जनसहित उनका दुई मतियारसमेत फरार रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार