किन गर्छ भारतले नेपाली भूमी अतिक्रमण ? यस्ताे छ सुगौली सन्धि (पूर्णपाठसहित)

काठमाडौं। नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरेपछि दुई देश बीच बिबादले उग्र रूप लिएकाे छ।

सन्धि विपरित नेपाली भूमी अतिक्रमण गरी भारतले ६ दशकदेखि सीमाको ‘कृत्रिम विस्तार’गर्दै आएको  छ। नेपालको नयाँ नक्सा पारित गर्ने निर्णयले प्रधानमन्त्री केपी शर्मा ओलीको साहसिक काम भनेर देश/ बिदेशबाट प्रशंसा भइरहेको छ।

अहिले नेपालमा बिगतको सन्धिको कुरा उठेको छ। जसको बारेमा यहाँ चर्चा गरिएको छ।

सुगौली सन्धि नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनी बीचमा भएको सम्झौता हो, जसबाट नेपाल–अंग्रेज युद्धको विधिवत् समाप्ति भएको थियो ।

यो सन्धिमा नेपालले आफ्नो अधीनस्थ भूमिको एकतिहाई भूभाग गुमाउनु परेको थियो । यो सन्धिमा ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच ३ डिसेम्बर, १८१५ मा हस्ताक्षर भएको थियो र यसको पुष्टि (सार्वजनिकीकरण) भने ४ मार्च, १८१६ मा भएको थियो ।

यो सन्धि गरेर ब्रिटिसद्वारा पर्वतीय राज्य नेपालमाथि दोस्रो पल्ट आक्रमण गरिँदा सन् १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज–नेपाल युद्धलाई समाप्त गरियो । सन्धिमा हस्ताक्षर गर्नेमा नेपाल पक्षबाट राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय तथा ब्रिटिस (कम्पनी) पक्षका लेफ्टिनेन्ट कर्नेल प्यरिस् ब्राड्स थिए ।

सन्धिमा नेपालले लडाइँमा जितेको भूमि छोड्नुपर्ने, ब्रिटिस प्रतिनिधि काठमाडौंमा राखिने, गोर्खालाई ब्रिटिस सेनामा भर्ती गरिने र नेपालले अमेरिकी अथवा युरोपी कर्मचारीलाई राख्ने अधिकारबाट पनि वञ्चित हुनुपर्‍यो । यसअघि नेपाली सेनालाई तालिम दिने काममा फ्रान्सका कमान्डरहरूलाई लगाइन्थ्यो । यस सन्धिमा नेपालले एकतिहाई भूभाग गुमाउनु पर्‍यो ।

यस अन्तर्गत सिक्किमको क्षेत्र पनि पर्छ, यहाँका राजा जोग्यालले अंग्रेज–नेपाल युद्धमा ब्रिटिशलाई सघाएका थिए । नेपालले गुमाएका क्षेत्रहरूमा काली नदीको पश्चिमी भाग कुमाउँ वर्तमान उत्तराखण्ड, गढवाल वर्तमान उत्तराखण्ड, सतलज नदीको पश्चिमतर्फका केही क्षेत्रहरू, काँगडा वर्तमान हिमाञ्चल प्रदेश र तराई क्षेत्रका धेरै भागहरू छन् ।

तराई क्षेत्रका केही भागहरू सन् १८१६ मा नेपाललाई फर्काइयो । सन् १८५७ को विद्रोहलाई दबाउन नेपालले दिएको सहयोगका निम्ति कृतज्ञता प्रकट गर्न पुनः यस क्षेत्रका केही भागहरू हालका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर सन् १८६५ मा नेपाललाई फर्काइयो ,जसलाई नयाँ मुलुक भनिन्छ ।

नेपाल अधिराज्यमा प्रवेश पाउने ब्रिटिस प्रतिनिधि एडवार्ड गार्डनर नै प्रथम पश्चिमी प्रतिनिधि भए । उनी उत्तर काठमाडौंको एउटा परिसरमा बसे, जुन परिसरलाई लाजिम्पाट भनिन्छ । यहाँ भारत र ब्रिटिसका दूतावासहरू छन् । सुगौली सन्धिलाई सच्याउने अर्को, सदाका निम्ति शान्ति एवं मैत्री सन्धि डिसेम्बर, १९२३ मा भयो, जसमा ब्रिटिस प्रतिनिधिलाई ब्रिटिस राजदूतको दर्जा दिइयो । भारत स्वतन्त्र भएपछि भारत र नेपालबीच ताजा सम्बन्ध राख्न अलग्गै सन्धि गरियो ।

सुगौली सन्धि हुनुअघि दार्जीलिङ, पूर्वमा टिस्टासम्म, दक्षिण–पश्चिममा नैनीताल, कुमाउँ, गडवाल र पश्चिममा बशाहरसम्म नेपालको भूभाग थियो । परन्तु, वर्तमानकालमा यी क्षेत्र भारतका भूभाग पर्दछन् । नेपालले स्वेच्छाले सुगौली सन्धि गरेको थिएन ।

१. ब्रिटिश इस्ट इन्डिया कम्पनीले सन्धिको मस्यौदा २ डिसेम्बर, १८१५ गर्‍यो, जसमा लेफ्टिनेन्ट् कर्नेल प्यारिस ब्राडसाले हस्ताक्षर गरेका थिए, सो सन्धि हस्ताक्षर गरेर १५ दिनभित्रमा फिर्ता पठाउने अन्तिम चेतावनी दिँदै नेपाल पठाइयो । नेपाललाई ती शर्तहरू मञ्जुर थिएनन्, यसकारण नेपालले तोकिएको म्यादमा हस्ताक्षर गरेन ।

त्यसपछि ब्रिटिस इस्ट इन्डिया कम्पनीले काठमाडौंमा आक्रमण हुन गइरहेको हल्ला फिँजाउनुका साथै सेनाको हलचल गरायो । राजधानीमा आक्रमण अपरिहार्य बुझेर सन्धिमा हस्ताक्षर गर्न नेपाल बाध्य भयो ।

२. सुगौली सन्धि नेपालमाथि लादिएको थियो, राजा तथा उच्चपदस्थ अधिकारीहरू यसमा हस्ताक्ष‍र गर्न चाँहदैनथे तर नेपाल बाध्य बन्यो यसका शर्तहरू मान्न । पण्डित गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले सुगौली भन्ने ठाउँमा ब्रिटिसको शिविरमा गई ४ मार्च, १८१६ का दिन यस सन्धिमा हस्ताक्षर गरे ।

३. नेपालले १५ दिने म्यादलाई लत्याएर ९३औं दिनमा हस्ताक्षर गर्‍यो, सन्धि सोही दिनदेखि लागू भएको बताइयो ।

सन्धिको वैधता

१. सन्धिको अनुच्छेद ९ मा राजाद्वारा सन्धि मञ्जुर गरिनुपर्ने कुरा लेखिएको थियो तर राजा गीर्वाणयुद्धविक्रमबाट यस्तो गरेको कुनै रेकर्ड देखिँदैन ।

२. ब्रिटिसलाई नेपालले सन्धिको पालना गर्दैन भन्ने ठूलो डर थियो यसकारण गभर्नर जनरल डेबिड अक्टरलोनीले ब्रिटिस सरकारको पक्षबाट सन्धि लागू भएको पुष्टि गरे र सन्धिको एक प्रति चन्द्रशेखर उपाध्यायलाई सुम्पिए ।

३. सीमा विवाद स् सन्धिमा राष्ट्रको सीमांकन स्पष्ट नभएकाले आज पनि विवाद कायम छ । सन्धिमा सीमारेखा स्पष्ट नभएकाले सीमांकन गर्न समस्या परिरहेछ । लगभग ६० हजार हेक्टर जमिनमा आज पनि विवाद छ । यी जमिनहरूमा दावी–प्रतिदावी, बहस आदि चलिरहेका छन् । परिणामस्वरूप नेपाल–भारत सीमामा अतिक्रमणका आरोपहरू एकार्कामा लगाइन्छन् ।

यस्ता ५४ वटा क्षेत्रहरू छन्स कालापानी, लिम्पियाधुरा, सुस्ता, मेचीक्षेत्र, टनकपुर, सन्दाकपुर, पशुपतिनगर, हिले, ठोरी आदि यस्ता क्षेत्र हुन्।

यस्तो छ सुगौली सन्धिको पूर्णपाठ–
३ डिसेम्बर, १८१५

१. माननीय इस्ट इन्डिया कम्पनी र नेपाल राजाका बीच चीरस्थायी शान्ति र मैत्री कायम रहनेछ ।

२. युद्ध हुनुभन्दा पहिले दुवै राज्यका बीच जुन भू-भागका सम्बन्धमा विवाद थियो, ती भूभागहरु नेपालका राजाले परित्याग गर्छन् र ती भूभागहरुमाथि माननीय कम्पनीको प्रभुसत्ता स्वीकार गर्छन् ।

३. नेपालका राजा माननीय इस्ट इन्डिया कम्पनीलाई तल उल्लिखित इलाकाहरु सदाका निम्ति समर्पण गर्छन्–

– काली र राप्ती नदीको बीचका सम्पूर्ण तल्ला भागहरु,
– राप्ती र गण्डकी बीचको सम्पूर्ण तल्लो भूमि बुटवल छोडेर ,
– गण्डकी र कोशी बीचको समस्त तल्लो भूभाग,
– मेची र टिस्टाबीचको समस्त तल्लो भूमि,
– मेची नदीभन्दा पूर्वतर्फका सम्पूर्ण पहाडी इलाकाहरु, नागरीको दुर्ग र जमिन तथा नगरकोटको घाटी, जसमा मोरङबाट पहाडतिर जाने बाटो छ, यससँगै सो घाटी र नागरीका बीचका सबै भूभाग यस मितिदेखि ४० दिनभित्रमा गोर्खाली सेनाले खालि गरिदिनु पर्नेछ ।

४. नेपाल राज्यका प्रमुख र भारदारहरु, ज–जसको स्वार्थमा माथि उल्लिखित अभिधाराले हानि पुर्‍याएको छ, क्षतिपूर्तिका लागि ब्रिटिस सरकारले ती प्रमुखहरुलाई जम्माजम्मी सालाना दुई लाख रुपैयाँ पेन्सनका रुपमा दिन स्वीकार गर्छ । यो रकम नेपालका राजाको तजबिज अनुसार समानुपातमा बाँडिने छ । नेपालका राजाबाट यस रकमको अनुपात निश्चित भएपछि पेन्सनका लागि गभर्नर जनरलको मोहर र हस्ताक्षरसहितको सनदपत्र सम्बन्धित पेन्सनवालालाई दिइने छ ।

५. नेपालका राजा स्वयं आफ्ना सम्बन्धी तथा उत्तराधिकारीहरुको तर्फबाट काली नदीको पश्चिमी भूभागको सम्पूर्ण अधिकार परित्याग गर्छन् र साथै, त्यो इलाका तथा त्यस इलाकाका निवासीहरुसँग कुनै किसिमको सम्बन्ध नराख्न वचनबद्ध हुन्छन् ।

६. नेपालका राजा सिक्किमका राजालाई उनको प्रादेशिक अधिकारका सम्बन्धमा कुनै तरहबाट परेसान नगर्न र साथै, शान्ति भंग नगर्न स्वीकार गर्छन् र साथै के पनि स्वीकार गर्छन् भने यदि नेपाल अधिराज्य र सिक्किमका राजा अथवा सिक्किमका प्रजाहरुबीच कुनै मतभिन्नता उत्पन्न भएमा उक्त मतभिन्नता समाधान गर्न मध्यस्थको रुपमा ब्रिटिस सरकारलाई सुम्पनेछन् र नेपालका राजाले ब्रिटिस सरकारको निर्णय स्वीकार गर्नु पर्नेछ ।

७. नेपालका राजा यस नियमलाई स्वीकार गर्छन् कि ब्रिटिस सरकारको अनुमतिविना कुनै ब्रिटिस प्रजा तथा युरोपेली प्रजा अथवा अमेरिकीलाई आफ्नो सेवामा कहिल्यै पनि राख्ने छैनन् ।

८. दुवै राज्यका बीचमा मित्रता र शान्ति सम्बन्ध सुदृढ र समुन्नत गराउनका लागि एक राज्यका विश्वासपात्र मिनिस्टर दोस्रो राज्यमा रहनेछ भन्ने पनि स्वीकार गर्छन् ।

९. यो सन्धि, जसमा नौ अभिधारा समाविष्ट छन्, नेपालका राजाद्वारा आजको मितिदेखि १५ दिनभित्रमा अनुमोदन गरिनेछ । उक्त अनुमोदन लेफ्टिनेन्ट कर्नेल ब्रेडशालाई प्रदान गरिनेछ र उनले बीस दिनभित्र अथवा सम्भव भए सोभन्दा पनि अगावै गभर्नर जनरलबाट अनुमोदन गराई नेपालका राजालाई सो अनुमोदित सन्धिपत्र दिनेछन् ।

यस सन्धिमा विवादमा नपरेका नेपाल अधिकृत भूभागहरु पनि कम्पनी सरकारलाई सुम्पने प्रावधान भएकाले नेपालले यस सन्धिमा परेका केही अभिधाराप्रति आफ्नो असहमति र असन्तुष्टि प्रकट गरेको हुँदा नेपाल र कम्पनी सरकारका बीच केही तराई फिर्ता गर्ने प्रयोजनका निम्ति अर्को आंशिक सन्धि भयो । ८ डिसेम्बर, १८१६ मा भएको सो पूरक सन्धिबाट कोशी र राप्तीका बीचको तराई फिर्ता भयो तर मूल सन्धिको धारा ४ को प्रावधानलाई खारेज गरियो ।

सन् १९५० को सन्धि

३१ जुलाई, १९५०

१. नेपाल सरकार र भारत सरकारका बीच अटल शान्ति र मित्रता रहनेछ । दुवै सरकारले परस्परमा एकले अर्काको पूर्ण राज्यसत्ता, राज्य क्षेत्रको अक्षुण्णता र स्वाधीनता स्वीकार र आदर गर्न मञ्जुर गर्छन् ।

२. कुनै राष्ट्रसँग ठूलो खलबल वा फाटो पर्न आई त्यसबाट दुई सरकारका बीचमा रहेको मैत्रीको सम्बन्धमा खलल पर्न जाने सम्भावना देखिएमा दुवै सरकारले परस्परमा सो कुराको समाचार दिने जिम्मेवारी कबुल गर्छन् ।

३. कर्मचारीवर्गहसहित प्रतिनिधिहरुद्वारा परस्परमा प्रचलित अन्तर्राष्ट्रिय सम्बन्ध राजदूतस्तरीय राख्न मञ्जुर गर्छन् ।

४. दुवै सरकारले परस्परमा कन्सुलेट जनरलहरु, कन्सुलेटहरु, भाइस कन्सुलेटहरु, अरु प्रकारका कन्सुलेट र प्रतिनिधिहरुको नियुक्ति मञ्जुर भएका सहर, बन्दरगाह र अरु स्थानहरुमा निवास गर्नेछन् ।

५. नेपाल सरकारलाई भारत राज्य क्षेत्रबाट अथवा सो राज्य क्षेत्रको बाटो गरी नेपालको सुरक्षाका निमित्त चाहिने हातहतियार, कलपूर्जा, गोलीगट्ठा, खरखजाना, मालसामानको पैठारी गर्ने अधिकार छ । दुई सरकारले परस्परमा सल्लाह गरी यो बन्दोवस्तलाई चालू गराउने कारबाहीको तय गर्नेछन् ।

६. भारत र नेपालको छमेकी मैत्रीभावको प्रतीकस्वरुप दुवै सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका आदर्श सरकारका रैतीलाई आफ्ना मुलुकको औद्योगिक र आर्थिक विकास र त्यस्तो विकाससम्बन्धी रियायत र ठेक्काहरुमा भाग लिनलाई राष्ट्रिय व्यवहार दिन कबुल गर्छन् ।

७. नेपाल सरकार र भारत सरकारले आफ्नो राज्य क्षेत्रमा रहेका अर्को मुलुकका रैतीलाई निवास, सम्पत्तिको भोग, व्यापार, वाणिज्यमा भाग लिन, चलफिर गर्न र अरु त्यस्तै प्रकारका विशेषाधिकारहरुका विषयमा पारस्परिक तौरले समान विशेषाधिकार लिनलाई कबुल गर्छन् ।

८. जहाँतक यहाँ जिकिर गरिएका कुराहरुको सम्पर्क छ, ती सबैमा यो सन्धिपत्रले भारतको तर्फबाट ब्रिटिस सरकार र नेपाल सरकारका बीचमा भएका अघिका सब सन्धिपत्र, स्वीकारपत्र, कबुलियतनामाहरुलाई खारेज गर्छ ।

९. हस्ताक्षर गरिएकै मितिदेखि यो सन्धि लागू गरिनेछ ।

१०. यो सन्धि कुनै एक मुलुकले १ वर्षे भाखा दिई सो सन्धिपत्रको अन्त्य गर्न नखोजेसम्म जारी रहनेछ ।

(स्रोत: विभिन्न दस्त्ताबेज र पत्रपत्रिका )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार