राहत वितरणमा सहयोग गर्न समाजवादी पार्टीकाे अपिल

जनकपुरधाम । समाजवादी पार्टी मधेश प्रदेश समितिले गरिब विपन्नहरुको खाना व्यवस्थापनको लागि प्रदेश सरकारले पठाएको राहत वितरण सहयोग गरिदिन पार्टीका नेता-कार्यकर्तालाई अपिल गरेको छ ।

प्रदेश समिति अध्यक्ष विजय कुमार यादवले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनलाई प्रभावकारी बनाउनका साथै लकडाउनमा प्रदेशका कुनै पनि जनता भोकै नबसुन् भन्ने उद्देश्यका साथ प्रदेश सरकारले राहत वितरणको लागि स्थानीय तहमा पठाएको रकमबाट समुचित राहत वितरण एवं तथ्यांक संकलनमा सहयोग गरिदिन स्थानीय तहका प्रमुख, उपप्रमुख एवं पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका हुन् ।

उनले प्रदेश सरकारले जारी गरेको निर्देशिका बमोजिम वडा अध्यक्षको संयोजकत्वमा रहने राहत वितरण समितिलाई निस्वार्थ भावले सहयोग गर्न सबैमा आग्रह गरे । यसका साथै महामारी नियन्त्रणको लागी लकडाउन एकमात्र अस्त्र रहेकोले सम्पूर्ण प्रदेशवासीलाई आफनै घरमा बसी सहयोग गर्न समेत उनले आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार