काबुलको शिख-हिन्दु मन्दिरमा गोली चल्दा २५ जनाको ज्यान गयो

एजेन्सी । अफगानिस्तानमा एक बन्दुकधारीले गोलीबारी गर्दा २५ सर्वसाधारणको ज्यान गएको छ । राजधानी काबुलको एक शिख-हिन्दु मन्दिरमा बन्दुकधारीले गोलीबारी गर्दा त्यहाँ पूजाआजाका लागि पुगेका २५ जना भक्तालुको ज्यान गएको अफगानिस्तानको गृह मन्त्रालयले जनाएको छ । घटनाको जिम्मेवारी आईएसईएस सशस्त्र समूहले लिएको छ ।

प्रत्यक्षदर्शी राजु सिंह सोनीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपीएफलाई बताएअनुसार प्रहरीको पोशाकमा आएका एक व्यक्तिले पूजाआजामा व्यस्त रहेका भक्तजनहरूतर्फ लक्षित गर्दै अन्धाधुन्ध गोलीबारी गरेका थिए । ‘गोलीबारीपछि धेरै जना कोठाभित्र पसेका थिए र ती बन्दुकधारीले कोठाकोठामा पसेर गोली प्रहार गरेका थिए,’ उनले भने ।

गृह मन्त्रालयका प्रवक्ता तारिक आरिनले सञ्चारकर्मीलाई सुरक्षाकर्मीको अप्रेसन सफल भएको बताउँदै कारबाहीमा बन्दुकधारीको मृत्यु भएको बताए । पुरानो काबुलमा रहेको उक्त भवनमा आक्रमण सुरु भएपछि सुरक्षाकर्मीले घेरा हालेर नियन्त्रणमा लिएको उनले बताए ।

अल्पसंख्यक शिख समुदायका सांसद नरिन्द्र सिंह खल्साले समाचार संस्था एपीलाई बताए ‘म घटनास्थलनजिकै थिएँ, घटना भएलगत्तै म दौडेर त्यहाँ पुगेँ मानिसहरू छट्पटाइरहेको र चिच्याइरहेको देखेँ ।’ मारिनेहरूमा एक बालक पनि थिए । उनीहरूको शव काबुल अस्पतालमा ल्याइएको अस्पतालको आपतकालीन सेवाका अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार