थरुहटको बन्दले तराईको जनजीवन प्रभावित

कैलाली । थरुहट/थारुवान राष्ट्रिय मोर्चाले आव्हान गरेको आमहड्तालका कारण आज कैलाली र कञ्चनपुरसहित तराईका जिल्लाहरुमा जनजिवन प्रभावित भएको छ ।

सडकमा सार्वजनिक सवारी ठप्प भएको छ । सार्वजनिक सवारी साधन नचलेपछि मानिसहरु घरमै बसेका छन् भने नजिकै र जानैपर्ने मानिसहरु पैदल हिडिरहेका छन् । शैक्षिक संस्था, उद्योग, कारखाना, व्यापार, व्यवसाय पनि बन्द छन् ।

अति आवश्यक सवारी साधनहरु दमकम, एम्बुलेन्स, शव बाहन, दुध बोक्ने गाडी, सुरक्षा निकाय, रेडक्रस, मानवअधिकारकर्मीको साधन, पर्यटक, पत्रकार र कुटनीतिक नियोगका सवारी साधनहरु भने चल्न दिइएको छ ।

मोर्चाले १४ बुँदे माग राख्दै फागुन २० र २१ गते तराईका जिल्लामा आमहड्ताल गर्ने घोषणा पहिल्यै गरेको थियो ।

मोर्चाले टीकापुर घटनामा जन्मकैद सुनाइएका सांसद रेशम चौधरीसहित ११ जनालाई हिराइ गर्नुपर्ने, टीकापुर घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने, पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति र गृहमन्त्रालयले गठन गरेको देविराम शर्मा संयोजकत्वको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राखेको छ । मोर्चाले फागुन १ गतेदेखि नै आन्दोलन थालेको हो । सरकारले भने उनीहरुको मागप्रति चासो दिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार