‘कोभिड–१९’ अर्थात् कोरोना भाइरसले अहिले सम्म लियाे चाैध सय बढीकाे ज्यान

‘कोभिड–१९’ अर्थात् नोवल कोरोना भाइरसका कारण शुक्रबार बिहानसम्म मृत्यु हुनेको संख्या १ हजार ४ सय ९१ पुगेको छ ।

कोरोना संक्रमणका कारण बिहीबार चीनमा १ सय २३ र जापानमा १ जनाको मृत्यु भएको हो । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ सय ९१ पुगेको छ । यी मृतकमध्ये हङकङ, फिलिपिन्स र जापानका एक/एक जना छन् ।

बुधबारको तुलनामा भने बिहीबार मृत्यु तथा संक्रमण दर घटेको छ ।  बिहीबार चीनमा मात्रै थप ४ हजार ८ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यही दिन जापानमा ५०, सिंगापुरमा ८, हङकङमा ३, अमेरिकामा २ र मलेसिया र भियतनाममा १ /१ जनालाई कोरोना संक्रमण भेटिएको छ ।

शुक्रबार बिहानसम्म विश्वरभर गरेर कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ४७ पुगेको छ ।

बुहान प्रहरी अहिले घरमा छापा मार्ने शैलीमा कोरोनाभाइरस संक्रमित पहिचान गर्नको लागि घर घरमा पुगेर जाँच गरिरहेको छ । त्यस्तै प्रहरीले उनीहरुको घरमा शिलसमेत लगाएको छ। जसले त्यहाँको जन जीवन प्रभावित भएको छ। अहिले चीनको प्रभावित क्षेत्र सुनसान रहेको छ।

सरकारले प्रहरीलाई कोरोनाभाइरस संक्रमितलाई क्वारेन्टाइनमा राख्नको आदेश दिएको छ । ज्यान गुमाउने अधिकांश वुहान र हुबेई प्रान्त आसपासका रहेका छन्। करिब बीस वर्ष अगाडि सार्स भाइरसको सङ्क्रमण फैलँदा मारिएको संख्यालाई कोरोनाभाइरसले उछिनिसकेको छ। सन् २००३ मा सेभेर अक्युट रेस्पिरेटोरी सिन्ड्रोम वा सार्स भनिने भाइरसको सङ्क्रमणबाट विश्वभरका दुई दर्जन देशमा ७७४ जनाको ज्यान गएको थियो।

गत वर्षको अन्त्यबाट वुहानबाट शुरु भएको भाइरसको संक्रमणको अध्ययन गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एउटा टोलीलाई चीनमा नै खटाएको छ । अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमण विश्वका २५ देशमा फैलिएको पुष्टि भएको छ । धेरै राष्ट्रले आफ्ना देशका नागरिकलाई हुेबईबाट फिर्ता लगिसकेका छन् भने मुख्य एयरलाइन्सले चीनमा आफ्नो सेवालाई तत्कालका लागि बन्द गरेको छ ।

संक्रमण फैलिएसँगै डब्लुएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले चीनमा यात्राको इतिहास नभएकाहरुमा पनि यो रोगको संक्रमण फैलिएको देखिएकोमा चिन्ता व्यक्त गरे ।‘अरु देशहरुमा सानो सङ्ख्यामा संक्रमण फैलिएको देखिएको छ । तर, यो हामीले देशेको हिमशीला ‘आइसबर्ग’ मात्र हुनसक्छ,’ उनले भनेका छन् ।

उनले सबै राष्ट्रहरुलाई भाइरसको संक्रमण भित्रन सक्ने सम्भावित अवस्थाबारे तयार रहन आग्रह गरेका छन् । साथै, सबैलाई नअत्तालिन पनि भनेका छन् ।हालसम्म चीनबाहिर हङकङ र फिलिपिन्समा यस भाइरसको संक्रमणबाट मानिसले ज्यान गुमाएका छन् ।

मृत्यु/संक्रमितकाे संख्या कहाँ कति ?
चीन- १ हजार ४८८ मृत्यु, ६४,६५८ संक्रमित
हङकङ- १ मृत्यु, ५३ संक्रमित
फिलिपिन्स- १ मृत्यु, ३ संक्रमित
जापान- १ मृत्यु, २५२ संक्रमित

संक्रमित मात्र
सिंगापुर- ५८
थाइल्यान्ड- ३३
दक्षिण कोरिया- २८
ताइवान- १८
अस्ट्रेलिया- १५
मलेसिया- १९
जर्मनी- १६
भियतनाम- १६
अमेरिका- १५
फ्रान्स- ११
मकाओ- १०
बेलायत- ९
क्यानडा- ७
यूएई- ८
इटाली- ३
भारत- ३
रुस- २
श्रीलंका- १
कम्बोडिया- १
फिनल्यान्ड- १
नेपाल- १
स्विडेन- १
स्पेन- १
बेल्जियम- १

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार