जनयुद्ध दिवसमा नेकपाले गरेको कार्यक्रममा किन गएनन् ओली?

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीले आयोजना गरेको जनयुद्ध दिवसमा अनुपस्थित भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए भने ओली कार्यक्रममा उपस्थित भएनन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बिहान आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाललगायतका नेताहरु सहभागी छन् ।

तत्कालीन नेकपा माओवादीले जनयुद्ध आरम्भ गरेको अवसर पारेर नेकपाले श्रद्धाञ्जली सभा आयोजना गरेको हो । तत्कालीन नेकपा एमाले र जनयुद्धको नेतृत्व गरेको माओवादीबीच पार्टी एकता भएर नेकपा गठन भएको हो ।

तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको अवसर पारेर फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको थियो भयो पार्टी एकतापछि शहीदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गर्न थालिएको हो ।

ओली जनयुद्ध दिवसको अवसरमा अघिल्लो वर्ष आयोजना गरिएको कार्यक्रममा पनि सहभागी भएका थिएनन् ।

प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म सशस्त्र युद्ध सञ्चालन गरेको थियो । सरकार र माओवादी दुवै पक्षबाट १७ हजार जनाको ज्यान गएको सोही युद्धलाई ‘जनयुद्ध’ भन्ने गरिन्छ । २०६३ मंसिर ५ गते हतियार बिसाउँदै माओवादी शान्ति प्रक्रियामा आएको थियो । तत्कालीन जनयुद्धको बलमा भएको २०६२/६३को जनआन्दोलनले राजतन्त्र अन्त्य गरेको थियो । माओवादी बिभाजन भएर वैद्य समूह अलग भएको थियो । प्रचण्ड नेतृत्वको माओवादीले भने तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गरेको थियो । हाल प्रचण्ड एमाले र माओवादी एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्ष छन् ।

यसैबीच जनयुद्ध र जनआन्दोलनका शहीदहरुको स्मृतिमा नेकपाका भ्रातृ संगठनहरुले आज बिभिन्न कार्यक्रम गर्दैछन् । आजै ११ बजे जनक्रान्तिका घाइते अपांग योद्धा संघले महाराजगञ्जस्थित रोयल पार्टी प्यालेसमा, जनसाँस्कृतिक महासंघले १ बजे पार्टी कार्यालय पेरिसडाँडामा र वेपत्ता योद्धा फाउन्डेशनले दिउँसो २ बजे जनपथ मावि कलंकीमा कार्यक्रम आयोजना गर्दैछन् ।

यसैगरी नेकपा सम्बद्ध अनेरास्ववियूले पाँच बजे माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गर्दैछ ।

अनेरास्ववियूले देशभरका क्याम्पसहरुमा जनयुद्ध र जनआन्दोलनका शहिदहरुको स्मृतिमा श्रद्धान्जली सभा तथा दीप प्रज्ज्वलन कार्यक्रम गर्न सर्कुलर गरेको छ । यसैक्रममा बिहीबार बिहान आरआर क्याम्पसमा २५ औं जनयुद्ध दिवस जिन्दाबाद लेखिएको ब्यानरसहित बेलुन उडाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार