संविधान संशोधनको अपरिहार्यताबारे जनकपुरमा बृहत भेला गर्दै समाजवादी

जनकपुरधाम – वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता विषयमा भोली सोमबार जनकपुरधाममा बृहत राष्ट्रिय भेला हुने भएको छ ।

समाजवादी पार्टी निकट नेपाल बौद्धिक पेशाकर्मी महासंघको आयोजनामा जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा हुने उक्त भेलामा देशभरबाट करिब पाँच सय प्रतिनिधिको सहभागिता रहने आयोजक समितिका संयोजक एवम बौद्धिक पेशाकर्मी महासंघका केन्द्रीय उपाध्यक्ष जीतेन्द्र कुमार यादवले जानकारी दिएका छन् ।

समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यतामा हुने उक्त भेलामा राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादव, राजपाकै केन्द्रीय उपाध्यक्ष वृषेश चन्द्र लाल, नेपाली कांग्रेस प्रदेश न २ संसदीय दलका नेता राम सरोज यादव, वरिष्ठ अधिबक्ता डा सुरेन्द्र महतो प्रमुख बक्ताको रुपमा रहने आयोजकले जनाएको छ ।

भेलामा वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता विषयमा समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष नवराज सुबेदीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

भेलामा संविधान संशोधन पक्षधर विभिन्न दल निकट बौद्धिक ब्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहने जनाइएको छ ।

आयोजकका अनुसार सोमबार दिउँसो १ बजे शुरु हुने उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण अप्पन टेलिभिजन, टिभी टुडे, टाइम्स टिभी, जनकनन्दनी एफएम, रेडियो वीरगंज, भोरुकबा एफएम, रेडियो मलङ्वा, रेडियो मुस्कान सहितको सञ्चार माध्यमबाट गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार