भिडियो कन्फ्रेन्स मार्फत प्रधानमन्त्री ओली र मोदीद्वारा आईसीपीको उद्घाटन

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा विराटनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार बिन्दु (आईसीपी) उद्घाटन गर्न लागेका छन् । मोरङको बुधनगरमा निर्माण सम्पन्न भएको नेपाल–भारत आईपीसीको आज दुवै देशका प्रधानमन्त्रीमार्फत उद्घाटन गर्न लागेका हुन्।

संघीय आयोजना कार्यान्वय इकाई मोरङका सूचना अधिकारी राजु शर्माका अनुसार भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजे प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र भारतीय प्रधानमन्त्री मोदीले नयाँदिल्लीबाट संयुक्त रूपमा आईसीपीको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका –१८ मा आईसीपी निर्माण गरिएको हो । आईसिपी सञ्चालनसँगै आयात–निर्यात सहज हुने बताइएको छ ।आईसीपी निर्माणका लागि दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादलाई भारतले ठेक्का दिएको थियो । सम्झौताअनुसार, उसले भवन, पार्किङस्थल, जाँच पोष्टसहितका संरचना निर्माण गरेको छ । नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइमा फैलिएको आईसीपी १२९ बिघा क्षेत्रफलमा फैलिएको छ ।

यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको गरिएको छ । लिंकरोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तररदक्षिणी राजमार्गसँग जोडिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आईसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तर गरेको हो । निर्माण कार्य सन् २०१७ फेब्रोअरी १ देखि सुरु भएको थियो ।

दुई वर्षभित्र आईसीपी निर्माण सम्पन्न गर्ने भनिए पनि लक्ष्यभन्दा १५ महिनापछि मात्र निर्माण सम्पन्न गरी भारतीय पक्षले नेपालललाई हस्तान्तरण गर्न लागेको हो । भारतीय सहयोगमा पुनर्निर्माण भएका निजी आवास गृहहरू हस्तान्तरण हुने भएको छ । उद्घाटनका क्रममा भारतीय सहयोगमा निर्माण भएका भूकम्प प्रतिरोधी घरसमेत हस्तान्तरण हुने कार्यक्रम रहेको बताइएको छ ।

भारतीय सहयोगमा ०७२ सालको भूकम्पले क्षतिग्रस्त गोरखामा २७ हजार घर पुनर्निर्माण भएका छन् । भारतले नुवाकोट र गोरखामा गरी ५० हजार निजी आवास निर्माणमा सहयोग गरेको प्राधिकरणले जनाएको छ । निजी आवास पुनर्निर्माणतर्फ भारत सरकारले ‘नेपाल आवास पुनर्निर्माण परियोजना’मा लगानी गरेको हो ।

यसअघि गत सेप्टेम्बर १० मा नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाको भारतीय प्रधानमन्त्री मोदीले दिल्लीबाटै तथा प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै भिडियो कन्फ्रेन्समार्फत संयुक्तरूपमा उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार