प्रदेश ३ को नाम नेवास्ताम्सालिङ राख्न माग गर्दै समाजवादी पार्टीकाे प्रदर्शन

काठमाडाैँ – हालै सरकारबाट बाहिरिएकाे समाजवादी पार्टी नेपालले प्रदेश नम्बर ३ को नाम पहिचानमा आधारित भएर राख्नुपर्ने माग गर्दै प्रदर्शन गरेको छ। शनिबार काठमाडौंमा प्रदर्शन गर्दै समाजवादीले प्रदेशको नाम नेवास्ताम्सालिङ राख्न माग गर्दै प्रदर्शन गरेको हो।

समाजवादी प्रदेश ३ को आयोजनामा शनिबार दिउँसो रत्नपार्कमा प्रदर्शन भएको हो। पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेका अनुसार प्रदेश ३ को नाम बाग्मती राख्ने विषयमा पार्टीले फरक मत राखेको हो।

‘प्रदेशको नाम पहिचानमा आधारित हुनुपर्छ र राजधानी सबैलाई पायक पर्ने ठाउँमा हुनुपर्छ भन्ने हाम्रो भनाइ हो,’ पाण्डेले भने। प्रदर्शनपछि आयोजित कोणसभामा समाजवादीकासहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, नेतृ हिसिया यमीलगायतले सम्बोधन गरेका थिए।

प्रदेश ३ को स्थायी नाम बाग्मती र राजधानी हेटौंडा राख्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित प्रतिपक्षी दल राप्रपा र राप्रपा संयुक्तले शनिबार नै संयुक्त प्रस्ताव दर्ता गराइसकेका छन्। आइतबार बस्ने प्रदेशसभा बैठकले उक्त प्रस्ताव पारित गर्ने मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार