मधेशमा फेरि ठूलो आन्दोलनकाे चेतावनी

जलेश्वर । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेशमा फेरि ठूलो आन्दोलन गर्ने बताएका छन्। युवा संघ महोत्तरीको जिल्ला सम्मेलनलाई मंगलबार जलेश्वरमा सम्बोधन गर्दै उनले वर्तमान सरकार आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएकाेले आन्दाेलनमा जाने चेतावनी दिएका हुन् ।

उनले आफ्नो हक र अधिकार प्राप्तिका लागि मधेशमा फेरि ठूलो आन्दोलन गर्ने बताए । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले संविधान संशोधन गरेर जबसम्म मधेश र मधेशीलाई बराबरीको हक दिँदैन, तबसम्म आफूहरु आन्दोलन गरिराख्ने र मधेशी जनताले आफूहरुलाई सधैँ सहयोग गरिरहने बताए ।

अध्यक्ष यादवले वर्तमान सरकार आफूहरुलाई वाचा गरेर पनि मधेश र मधेशीलाई हकअधिकार दिनबाट खुट्टा पछाडि तानेको तथा संविधान संशोधन गर्न नमानेको भन्दै सोही कारण आफूहरुले सरकार छाडेको स्पष्ट पारे ।

अब मधेशी जनताले ठूलोभन्दा ठूलो अन्तिम आन्दोलन गर्न पुनः जरुरी भएको भन्दै आन्दोलनका लागि सबैलाई तयार रहन आग्रह समेत गरे । सरकारमा जाँदा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएको भन्दै समाजवादी सरकारबाट बाहिरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार