कार्यक्रममा नबोलाउन प्रदेश मन्त्रीको आग्रह

जनकपुरधाम । प्रदेश २ का एक मन्त्रीले कार्यक्रममा नबोलाउन आग्रह गरेका छन्। भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले कार्यक्रममा नबोलाउन आग्रह गरेका हु्न्। मन्त्री बनिसेकपछि शिलान्यास, उद्घाटन गर्न पाउँदा नेताहरु गौरव महसुस गर्छन् । यस्ता कार्यक्रममा गएर घण्टौं भाषण गर्ने मन्त्रीहरु आफ्नो पदीय दायित्व त्यसैलाई सम्झन्छन् ।

अझ अहिले संघ र प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरु शिलान्यास, उद्घाटन, पार्टीको कार्यक्रममा भाषण ठोक्दै हिँडेपछि मन्त्रालयको कामकाज अगाडि बढ्न सकेको छैन् । अन्य मन्त्रीहरुलाई यस्ता गतिविधीमा सरिक हुन रमाइलो लागेपनि प्रदेश २ का कृषि मन्त्री साहलेभने दिक्क महसुस गरेका छन् ।

‘जहिल्यै पनि उद्घाटन, शिलान्यास, कार्यक्रमकै निम्तोले दिक्क भइसकेको छु’ भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह भन्छन्, “मन्त्री भएपछि त मन्त्रीको भूमिका निभाउनुपर्नेमा कार्यक्रममै जाँदा जाँदै मन्त्रालयको काम गर्न सकिरहेको छुइनँ ।”

मन्त्री भनेको आफ्नो मन्त्रालयको कामलाई चुस्त, दुरुत तरिकाले अगाडि बढाउनुपर्ने, योजनाहरुको कार्यान्वयन गर्नेतर्फ ध्यान दिनुपर्नेमा लगातार कार्यक्रममा जाँदा यस्ता कामहरु गर्न नसकिरहेको बताउँछन् । ‘मन्त्रालयमा समय दिए पो त काम अगाडि बढ्छ’ उनी भन्छन्, “मन्त्रालयमा बसेर कर्मचारीसँग सरसल्लाह गर्दै उनीहरुलाई आवश्यक निर्देशन नदिएसम्म काम हुँदै, हुँदैन् ।”

आफू धेरै पटक कार्यक्रम आयोजकहरुलाई यस्तो कुरा बताउँदा पनि बोलाउन नछाडेको उनको अनुभव छ । ‘आयोजकले नै समय निर्धारण गर्छ र सोही समयमा बोलाउँछ’ उनी भन्छन्, “कम्तीमा आफूलाई बोलाएपछि समय त आफ्नो दिनुपर्‍यो, त्यो पनि दिदैंन् ।”

‘जहिल्यै पनि कार्यक्रममा सहभागी हुन १५ वटासम्म फोन आउने गरेको बताउँदै उनले कार्यक्रममा गए दिनभर लगाइदिने गरेको गुनासो गरे । ‘कार्यक्रम छोटो बनाए त ठीकै हुन्थ्यो, तर नाचगान, गीतदेखि पुरकार, प्रमाण पत्र, सम्मान पत्र बितरण गर्दागर्दै दिनभर लगाउने गरिन्छ’ उनी भन्छन्, “कार्यक्रममै गएर थाक्ने अवस्था अहिलेसम्म आएको छ ।”

मन्त्री गएर मात्र कार्यक्रम सफल नहुने बताउँदै मन्त्री साह भन्छन्, “मन्त्रीको काम शिलान्यास र उद्घाटन मात्र नभई योजनाहरु बनाउने र कार्यान्वयन गराउने मुख्य काम पनि भएको सबैलाई बुझिदिनुपर्‍यो ।”कार्यक्रमहरुमा नबोलाउन उनी सबैसँग हात जोडेरै आग्रह गर्छन् । ‘केहि दिन त काम गर्न दिनुस्’ उनी भन्छन्, “चालू आर्थिक बर्षमा महत्वपूर्ण कामहरु गर्नुछ । जुन कार्यक्रमहरुमा गएर गर्न सकिन्न ।”

‘म कार्यक्रममा नजाँदा केहि व्यक्ति रिसाउँलान्, तर काम गरेर देखाएपछि प्रदेशका जनताले खुशी व्यक्त गर्छन’ उनले भने, “अब केहि महिना कार्यक्रममा पट्क्कै जान्नँ । कार्यक्रममै आउनका निम्ति फोन नगरिदिएर सहयोग गरिदिन सबैसँग अनुरोध गर्दछु ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार