यसकारण स्थगन भयाे राजपा–समाजवादीकाे एकीकरण

काठमाडौं – समाजवादी पार्टीले तत्काल सरकार छाड्न इच्छा नदेखाएपछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीचको सुरु भएको पार्टी एकीकरण प्रक्रिया तत्काललाई स्थगन भएको छ। समाजवादी पार्टीले सरकार नछाडेसम्म एकीकरण प्रक्रिया अघि नबढ्ने राजपाका नेताहरूले बताएका हुन्।

‘समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकले तत्काल सरकार छाड्ने निर्णय नगरेपछि राजपा र समाजवादी पार्टीबीच सुरु भएको एकीकरण प्रक्रिया उहाँहरू ९समाजवादी पार्टीका नेताहरू०ले नै स्थगन गरेको देखियोे,’ राजपाका नेता राजेन्द्र महतोले भने, ‘हामीले सुरुदेखि नै समाजवादी पार्टीसँग पार्टी एकीकरण गर्न समाजवादी पार्टीले सरकार छोड्नुपर्छ भन्दै आएका थियौं। हाम्रो भनाइ उहाँहरूले मानेको देखिएन।’

समाजवादीले सरकार नछाडेसम्म एकीकरण प्रक्रिया र वार्ता संवाद अघि नबढ्ने उनले प्रष्ट पारे। उनले भने, ‘जुन सरकारले केही काम गरेको छैन। संविधान संशोधनको सिन्कोसमेत भाँचेको छैन। त्यो सरकरमा किन बसीरहने रु’ राजपाका अर्का नेता महेन्द्र यादवले भने समाजवादी पार्टीले सरकार छाडेमा एकीकरण प्रक्रिया अघि बढ्ने बताए। उनले भने, ‘उहाँहरूको पनि केही परिस्थिति होला। ती परिस्थिति मिलाएर तत्काल सरकार छाड्नुपर्छ।’ राजपाका नेताका अनुसार समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक बस्नुअघि राजपाका नेताहरूलाई पार्टीको केन्द्रीय समितिको बैठकबाट पार्टी सरकारबाट बाहिरिने आश्वासन समाजवादी पार्टीका नेताहरूले दिएका थिए। बैठकको अजेन्डा पनि सरकार छाड्ने बनाइएको थियो।

राजपाका नेता महतोले भने, ‘केन्द्रीय समितिको बैठक बस्नुअघि उहाँहरू९समाजवादी पार्टीका नेताहरू०ले केन्द्रीय समितिको बैठकले सरकार छाड्ने निर्णय गर्ने बताउनुभएको थियो, तर बैठकमा उहाँहरू त्यस्तो निर्णय नगरी एकीकरण प्रक्रियालाई अनिश्चित बनाउनुभएको छ।’

पूर्व नयाँ शक्ति पार्टीका नेताहरू तथा समाजवादी पार्टीका राष्ट्रिय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको अडान सुरुदेखि नै पार्टी तत्काल सरकारबाट बाहिरिनुपर्ने थियो। बैठकको पहिलो दिन गत बिहीबार भट्टराईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि सरकारमा पार्टीको संलग्नताबारे पुनःसमिक्षा गर्नुपर्ने बताएका थिए। प्रतिवेदनमा उनले सरकार र प्रधानमन्त्रीको कार्यशैलीको निकै कडा आलोचना गरेका थिए। उनले प्रधानमन्त्रीलाई गफास्टक भनी संज्ञा दिएका थिए। तर उनी आफ्नो अडानमा टिक्न सकेनन्। यादव भने सुरुदेखि नै सरकार छाड्ने इच्छा देखाएका थिएनन्।

केन्द्रीय समितिको बैठकपछि बस्ने पार्टीको पदाधिकारी बैठकबाट सरकार छाड्ने÷नछाड्ने विषयमा निर्णय गर्ने समाजवादी पार्टीका नेताहरूले बताएका छन्। यही कुरा उनीहरूले समाजवादी पार्टीका नेताहरूलाई पनि अनौपचारिक रूपमा सुनाएका थिए। समाजवादी पार्टीका कोषाध्यक्ष विजय यादवले भने, ‘सरकार छाड्ने÷नछाड्ने तथा राजपासँग एकीकरण प्रक्रियालाई अघि बढाउन केन्द्रीय समितिले पदाधिकारी बैठकलाई निर्णय गर्ने अधिकार दिएको छ।’ अब बस्ने पदाधिकारी बैठकले यस विषयमा निर्णय गर्ने उनले जनाए। आइतबार समाजवादी पार्टीको पदाधिकारी बैठक बस्ने कार्यक्रम तय गरिएको थियो। तर आइतबार पदाधिकारी बैठक नबसी समाजवादी पार्टीका केही पदाधिकारी आइतबार साँझ काठमाडौ छाडे। केही नेतहरू सोमबार मधेस जाँदै छन्।

अब पदाधिकारी बैठक उपनिर्वाचनपछि मात्र बस्ने पार्टीका नेताहरू बताउछन्। आइतबार विहानसम्म्म पदाधिकारी बैठकले तत्काल सरकार छाड्ने निर्णय गर्ने आशा राजपाका नेताहरूले गरेका थिए। तर आइतबार पदाधिकारी बैठक बस्न नसकेपछि राजपाका नेताहरू झन् निरास भए। समाजवादी पार्टीका सचिव इस्तियाक राईले भने, ‘हाम्रो पार्टीको लाइन प्रष्ट छ, दुई बुँदे सहमति कार्यान्वनका लागि सरकारमा रहेर दबाव दिने, पहिलो विकल्पबाट माग सम्बोधन नभए अन्तिम विकल्पका रूपमा सरकार छाडेर सडक संघर्षमा जाने पार्टीको लाइन हो।’ आवश्यक परेको स्थितिमा पदाधिकारी बैठक बस्ने उनले बताए।

बिहीबारदेखि शनिबारसम्म बसेको समाजवादी पार्टीको केन्द्रीय समितिको बैठकले तत्काल सरकारबाट नबाहिरिने उपेन्द्र यादवको लाइन पास गरेको छ। शनिबारको बैठकमा यादवले संविधान संशोधनका लागि सरकारलाई दबाब दिन र पार्टीले अघि सारेका मुद्दा सम्बोधन गराउन तत्काल सरकार र सदनबाट संघर्ष गर्ने र अन्तिम विकल्पको रूपमा सरकार छाडेर सडक संघर्षमा जाने बताएका थिए। उनको आसय तत्काल सरकार नबाहिरिने थियो।

करिब ६ महिनादेखि राजपा र समाजवादी पार्टीवीच एकीकरण प्रक्रिया अघि बढेको थियो।यसकोलागि राजपा र समाजवादी पार्टीवीच पटक पटक अनौपचारिक वार्ता र संवाद भएको थियो। एकीकरण प्रक्रियामा राजपाबाट महतोले अगुवाइ गरेका थिए तर समाजवादी पार्टीको केन्द्रीय समितिको निर्णय पछि महतो नै निरास भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार