नेकपा नेता समाजवादी पार्टीमा प्रवेश गरेर दिए उम्मेदवारी

महोत्तरी – महोत्तरीमा एक सत्तारुढ दल नेकपाका नेता समाजवादी पार्टीमा प्रवेश गरेर स्थानीय निकायमो चुनावमा उम्मेदवारी दिएका छन्। पिपरा गाउँपालिकामा रिक्त रहेको अध्यक्षमा समाजवादी पार्टीका नव प्रवेशी नेता रामजानकी यादवले उम्मेदवारी दिएका हुन्।

रामजानकी यसअघिको स्थानीय तहको निर्वाचनमा तत्कालीन माओवादीबाट उम्मेदवार बनेका थिए । त्यसबेला उनले १५७८ मत ल्याएका थिए । चौधरी केही दिन अघिमात्रै सत्तारुढ नेकपा छाडेर समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

नेकपाले भने गत स्थानीय चुनावमा निकटतम प्रतिद्वन्दी रहेका तत्कालीन एमालेका विक्रम चौधरीलाई नै उम्मेदवार बनाएको छ । पिपरा गाउँपालिकाको अध्यक्षमा गत निर्वाचनमा राजपाका बिनोद चौधरी २ हजार ७ सय ७५ मत ल्याएर निर्वाचित हुँदा तत्कालीन नेकपा एमालेका उम्मेद्वार विक्रमले १ हजार ८ सय ७३ मत ल्याएका थिए ।

कांग्रेसबाट विजय यादवको उम्मेदवारी परेको छ भने राप्रपा संयुक्तबाट सुनील ठाकुरले उम्मेदवारी दिएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट इसराजुल, नेपाल लोकतान्त्रिक पार्टीबाट राजकिशोर यादव र नेपाल जनता पार्टीबाट रमाकान्त यादवले उम्मेदबारी दिएको निर्वाचन अधिकृत बिष्णु सुवेदीले जानकारी दिए ।

पिपरा गाउँपालिकाको चुनाव यसकारण पनि रोचक हुने देखिएको छ कि यहाँ सिके राउत नेतृत्वको जनमत पार्टीले पनि उम्मेदबारी दिएको छ । यो पार्टीबाट अञ्जली देवी मण्डलले उम्मेदवारी दिएकी छन् ।

पिपरा गाउँपालिकामा रिक्त रहेको अध्यक्ष पदका लागि १७ जनाले उम्मेद्वारी दिएका छन् । समाजवादी र राष्ट्रिय जनता पार्टी ९राजपा० ले संयुक्तरुपमा उम्मेदवारी दिने जनाए पनि दुबै दलबाट छुट्टाछुट्टै उम्मेदवारी दर्ता भएको छ ।राजपाबाट अध्यक्ष पदमा यसअघि निर्वाचित भएर निधन भएका विनोद चौधरीकी पत्नी रबिता चौधरीले राजपाबाट उम्मेदवारी दर्ता गराएकी छन् ।

निर्वाचन अधिकृत सुवेदीका अनुसार अहिलेसम्म १७ वटा उम्मेदवारी परेको छ । तोकिएको समयभित्र अन्य उम्मेदवारहरु आएर फर्म भरिरहेकाले उम्मेदवारको संख्या बढ्न सक्ने सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार