सत्तारुढ दल समाजवादी पार्टीकी नेतृ निवासबाटै पक्राउ

काठमाडाैँ – चिनियाँ राष्ट्रपतिको विरोधमा प्रदर्शन गर्नसक्ने भन्दै समाजवादी पार्टीकी एक नेतृ पक्राउ परेकी छन्।  चिनियाँ राष्ट्रपति सी को २ दिने असन्न नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्नसक्ने आशंकामा प्रहरीले सप्तरीकी नेतृलाई शुनिता शाहलाई पक्राउ गरेको हो।

अन्तरपार्टी महिला सञ्जाल सप्तरीकी जिल्ला अध्यक्ष समेत रहेकी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सप्तरीका एसपी कृष्ण प्रसाईंले महानगरीय प्रहरी वृत्त कमलपोखरीले पत्राचार गरेकाले पक्राउ गरिएको बताए। उनका अनुसार कमलपोखरी वृतमा रहेको पुरानो मुद्दाका सन्दर्भमा उनलाई पक्राउ गर्न पत्र आएपछि पक्राउ गरिएको हो। उनी शुक्रबार राजविराज-६, खरसालटोलस्थित निवासबाटै पक्राउ परेकी हुन्। साहलाई काठमाडौं पठाइएकाे छ।

यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा उनीविरुद्ध भदौ २३ मा प्रदर्शन भएको थियो। प्रदर्शनमा सहभागी भएको भन्दै प्रहरीको कमलपोखरी वृत्तले १० जनालाई पक्राउ गरेको थियो। सोही क्रममा साहविरुद्ध पनि अभद्र व्यहारको मुद्दा चलाइएको छ।

चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा पनि पुनः प्रदर्शनमा सहभागी हुनसक्ने आशंकाका बीचमा साहलाई पुरानो मुद्दामा जोड्दै पक्राउ गरिएको श्रोतले जनाएको छ। विवाह गर्ने बहानामा चीनमा नेपाली चेली बेचबिखन भइरहेको भन्दै महिलाको समूहले ‘चेलीबेटी बेचबिखन बन्द गर, चीनमा मानव तस्करी बन्द गर’ नारा लेखिएका ब्यानर र प्ले कार्डसहित महिलाहरुले प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार