Bal-Umang

Bal-Umang

बलात्कार गरेको अभियोग लागेका महराविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडाैँ – संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोग लागेपछि पदबाट राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

त्यसपछि महराविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरी स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतबाट आज महराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी ज्ञान कार्कीले जानकारी दिए ।

अदालतको आदेशसँगै महरालाई हिरासतमा लिएर सो घटनामाथि थप छानबिन गर्न प्रहरीलाई बाटो खुलेको छ। अदालतबाट पक्राउको अनुमति पाएको प्रहरीले सम्भवत आज साँझसम्म नै महरालाई पक्राउ गर्नेछ।

मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को परिच्छेद २ पक्राउ पूर्जी र हिरासतमा राख्ने अनुमति सम्बन्धी व्यवस्था अन्तर्गत अदालतले पक्राउ पुर्जी जारी गर्न अनुमति दिनुपर्ने प्रावधान छ ।

ऐनको दफा ९ को उपदफा ९२ बमोजिम अनुसन्धान अधिकारी वा प्रहरी कार्यालय वा अनुसन्धान गर्ने कार्यालयको प्रमुखले कुनै व्यक्तिका नाउँमा पक्राउ पूर्जी जारी गर्ने अनुमतिका लागि अदालतसमक्ष अनुसूची १ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने उल्लेख छ ।

महरााविरुद्ध शुक्रबार जबरजस्ती करणी उद्योगको उजुरी दर्ता भएको थियो । पीडित भनिएकी महिलाले महराविरुद्ध नयाँ बानेश्वर प्रहरी वृत्तमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी हुन् ।

गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् । उनले महरा आफ्नो कोठामै नआएको दाबी गरेकी थिइन् । प्रहरीले गरेको प्राविधिक अनुसन्धानमा महरा आइतबार रोशनीको कोठामा देखिएको पुष्टि भएको छ ।

शाहीको मध्य रातको त्यो बयान पनि प्रहरीले रेकर्ड गरेर राखेको थियो। घटना भएको पर्सी पल्ट असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएका रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान प्रहरीले बरामद गरेको थियो।

जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाइसकेको छ। त्रिवि शिक्षण अस्पतालमा शुक्रबार नै रोशनीको स्वास्थ्य परीक्षण गरिसकिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार