Bal-Umang

Bal-Umang

कृषि विकास बैंक ह्याकिङ प्रकरणमा कर्जा प्रमुख पक्राउ

काठमाडौं – कृषि विकास बैंकको सिस्टम ह्याक गरी ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ लुटिएको प्रकरणमा प्रहरीले प्रारम्भिक अनुसन्धानमा कर्मचारीकै संलग्नता देखिएको भन्दै कृषि विकास बैंक लहान शाखाका कर्जा प्रमुखलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनीलकुमार साह रहेका छन्।

प्रहरीले अनुसन्धानका लागि उनलाई लहानबाट आइतबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखका प्रवक्ता तथा एसपी केदार ढकालले बताए। उनका अनुसार बैंककै कर्मचारीको संलग्नता देखिएकोले उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।

कर्मचारीकै युजर आइडीबाट बैंकको रकम लुटिएको पाइएको थियो। लहान शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम ह्याकरले लुटेका थिए।यसअघि गत शुक्रबार प्रहरीले महेन्द्र भट्ट, मालतीदेवी न्यौपाने भट्टराई र गणेश बस्याललाई पक्राउ गरेको थियो।

भट्टको महेन्द्रनगरस्थित कृषि विकास बैंकको शाखाको खातामा ४५ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको थियो। त्यस्तै पर्वतकी मालतीदेवी न्यौपानेको खातामा २४ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको थियो।

गत बिहीबार पनि प्रहरीले स्याङ्जाका रामकृष्ण भुसाललाई पक्राउ गरेको थियो। उनी प्रतीक्षा निर्माण सेवाको प्रोपाइटर हुन्। उनी पनि बैंक ह्याक प्रकरणका नेपाली एजेन्ट भएको प्रहरीले जनाएको छ। उनको खातामा ६५ लाख रुपैयाँ ट्रान्सफर भएको पाइएको प्रहरीले जनाएको छ।

योसँगै बैंक ह्याक प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।अपराध महाशाखाको टोलीले यसअघि पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरेको थियो। घटनामा संलग्न भनिएका मुख्य अभियुक्त अफ्रिकन मुलका काले भनिने पिटर भने फरार छन्। उनकै योजनामा बैंक ह्याक गरेर व्यक्तिको खातामा रकम ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ। कृषि विकास बैंकबाट ह्याकरले ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरेर व्यक्तिको खातामा ट्रान्सफर गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार