Bal-Umang

Bal-Umang

राजपा र समाजवादी एकीकरणको नजिक, राजपाले यस्तो शर्त मान्दै समाजवादी पार्टीलाई पठायो प्रस्ताव

काठमडौं– राष्ट्रिय जनता पार्टी, (राजपा) नेपाल र समाजवादी पार्टी एकिकरणको नजिक पुगेको संकेत देखाएका छन्। राजपाले डा. बाबुराम भट्टराईलाई एकीकृत पार्टीमा वरियाताक्रमको एक नम्बरको अध्यक्ष मान्न तयार भएको भन्दै प्रस्ताव पठाएको छ।

राजपाले समाजवादी पार्टीसँग गर्ने एकीकरणका लागि चार जनाको अध्यक्षमण्डल हुनेपर्ने प्रस्ताव गरेको छ । त्यसमा समाजवादी पार्टीको तर्फबाट भट्टराई, उपेन्द्र यादव र राजपा नेपालको तर्फबाट महन्थ ठाकुर र राजेन्द्र महतो रहने भनिएको छ ।

भदौं १३ गते शुक्रवार दुई पक्षबीच भएको वार्तामा समाजवादी पार्टीले राखेको प्रस्तावको जवाफमा राजपाले भदौं २० गते भएको वार्तामा अर्को प्रस्ताव गरेको छ । राजपा नेपालको अध्यक्षमण्डलको बैठकबाट सो प्रस्ताव गरिएको स्रोतले दावी गरेको छ ।

समाजवादी पार्टीले गरेको प्रस्तावमा डा।बाबुराम भट्टराई वरियताक्रमको एक नम्बरको अध्यक्ष, महन्थ ठाकुरलाई मनार्थ अध्यक्ष, उपेन्द्र यादवलाई वरियाताक्रमको दुई नम्बरको अध्यक्ष र राजेन्द्र महतोलाई वरियताक्रमको दोस्रो नम्बरको वरिष्ठ नेता दिने प्रस्ताव गरेको थियो ।

तर राजपा नेपालले त्यसलाई अस्वीकार गर्दै समाजवादी पार्टीबाट दुई र राजपा नेपालबाट दुई गरि चारजना अध्यक्ष रहने गरि अध्यक्षमण्डल बनाउने प्रस्ताव गरेको बैठकमा सहभागी एक नेताले बताए ।
डा।बाबुराम भट्टराईलाई एक नम्बरको अध्यक्ष स्वीकार गर्दै अन्य अध्यक्षहरुको वरियाता उसको योगदान, वरिष्ठताको आधारमा तोक्ने प्रस्तावमा उल्लेख छ ।

उपेन्द्र यादवले एकीकृत पार्टीको नाम समाजवादी पार्टी, चुनाव चिन्ह मसाल र झण्डा समाजवादी पार्टीकै रहने प्रस्ताव गरेका थिए । तर राजपा नेपालले त्यसलाई पनि अस्वीकार गर्दै दुवै पार्टीको नाम झल्किने गरि साझा नाम राख्न प्रस्ताव गरेको छ ।

राष्ट्रिय समाजवादी जनता पार्टी या राष्ट्रिय समाजवादी पार्टी हुनु पर्ने राजपा नेपालले प्रस्ताव गरेको छ । झण्डा समाजवादी पार्टीको भयो भने चुनाव चिन्ह राजपाको हुने र राजपा नेपालको झण्डा भयो भने चुनाव चिन्ह समाजवादी पार्टीको रहने राजपा नेपालको प्रस्ताव छ ।
लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष देश हुनुपर्ने तथा संसदीय व्यवस्था मिश्रित निर्वाचण प्रणाली हुनुपर्ने राजपा नेपालको प्रस्ताव रहेको छ । जबकी समाजवादी पार्टीले कार्यकारी राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव गरेको थियो ।

राजपा नेपालले पदाधिकारी बराबर माग गरेको छ । वरिष्ठ नेतामा राजपा नेपालबाट महेन्द्र राय यादव, शरदसिंह भण्डारी र समाजवादी पार्टीबाट अशोक राई र राजेन्द्र श्रेष्ठ रहने प्रस्ताव गरेको छ । त्यसमा वरियताक्रमको कुरा उल्लेख गरेको छैन । राजपा नेपालले वरिष्ठ उपाध्यक्षका लागि यताबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णको नाम प्रस्ताव गरेको छ भने अन्य उपाध्यक्षमा निर्जला राउत र रामनरेश राय यादवको नाम प्रस्ताव गरिएको छ ।

महामन्त्रीमा राजपा नेपालबाट तीन जनाको नाम प्रस्ताव गरिएको छ । त्यसमा गोविन्द चौधरी, केशव झा र राजेमान सिंह श्रेष्ठको नाम रहेको छ । सचिवको संख्या आपसी सहमतिमा हुने प्रस्तावमा भनिएको छ भने संसदीय दलको नेता समाजवादी पार्टीले राखे उपनेता, प्रमुख सचेतक राजपालाई दिनुपर्ने भनिएको छ ।

एकीकरण भइसकेपछि सरकार, सदन, सडको अवस्था एउटै बनाउने प्रस्ताव राजपा नेपालको रहेको छ । सरकारमा रहने भए दुवै दल रहने, यदि बाहिर रहने भए दुवै दल बाहिर रहने राजपाको प्रस्ताव रहेको छ ।
यद्यपी राजपा नेपालले वार्ता अघि नै सरकार छाड्न दवाव दिँदै आएको छ । यदि समाजवादी पार्टी सरकारमा रहिरहे राजपा नेपाललाई पनि सरकारमा राख्नुपर्ने प्रस्ताव गरेको छ ।

राजपा नेपाल स्रोतले भन्यो, ‘यदि राजपा नेपालबाट सरकारमा जाने कुरा हुन्छ भने महेन्द्र राय यादव र शरतसिंह भण्डारीलाई पठाउने कुराकानी पनि भइरहेको छ ।’ शुक्रवार भएको वर्तामा उपेन्द्र यादवको उपस्थिति थिएन । उनी त्यो दिन दिल्लीमा थिए ।

समाजवादी पार्टीको तर्फबाट डा।बाबुराम भट्टराई, अशोक राई, राजेन्द्र श्रेष्ठ थिए भने राजपा नेपालको तर्फबाट राजेन्द्र महतो, महेन्द्र राय यादव र शरतसिंह भण्डारी सहभागी थिए ।
वार्तामा सहभागी समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले राजपा नेपालको प्रस्तावको बारेमा केही कुरा खुलाउन नचाहे पनि विभिन्न विषयमा छलफल भइरहेको प्रतिकृया दिए । उनले कसैको तर्फबाट कुनै औपचारिक प्रस्ताव नआए पनि विभिन्न विषयमा छलफल भइरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार