Bal-Umang

Bal-Umang

राजपाद्वारा निर्वाचित मेयरमाथि आयो यस्तो विपत्ति, पक्राउ गर्न माग

जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपका क्रममा घाइते भएकामध्ये तपेश्वर मण्डलको मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ। आन्दोनकारीको ज्यान गएपछि राष्ट्रिय जनता पार्टी(राजपा) बाट निर्वाचित मेयरसहित ३ जनामाथि जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेको छ।

मृत्यु भएका मण्डलका परिवारले बिहीबार जिल्ला प्रहरी कार्यालयमा मेयर रामज्ञान मण्डल, हंसपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष उदय सिंह र वडा सदस्य श्याम राउतलाई पक्राउ गर्न माग गर्दै उजुरी दिएका छन् । मण्डलको मृत्युपछि आक्रोशित बनेका हँसपुरका स्थानीयवासीले मेयर मण्डलविरुद्ध प्रदर्शन समेत गरेका छन्।

प्रदर्शनको क्रममा उनीहरुले मेयर मण्डलमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन् । हँसपुर नगरपालिकाका उपमेयर रेणु झाले झडपको क्रममा घाइते भएका तपेश्वर मण्डलको मृत्यु मेयर रामज्ञान मण्डल, वडा नम्बर ३ का अध्यक्ष उदयसिंह र वडा सदस्य श्याम राउतको कारण भएको भन्दै तीन जनालाई तत्काल कारवाही माग गरेकी छिन् ।

गत साउन २१ गते नगरपालिकाका मेयर मण्डलले प्रहरीको सहयोगमा बघचौडामा रहेको साविकको कार्यालयका सामग्रीहरु जबर्जस्ती लैजान खोजेपछि उपमेयर रेणु झासहित स्थानीयले अवरोध गरेका थिए । त्यसक्रममा प्रहरीले लाठी प्रहार गर्दा मृतक मण्डलसहित आधा दर्जन स्थानीय घाइते भएका थिए । हँसपुर नगरका मेयर रामज्ञान मण्डल र उपमेयर झा बीच निर्वाचित भएदेखि नै विवाद चल्दै आएकोछ । मेयर र उपमेयर दुवै जना राजपा नेपालको तर्फबाट निर्वा्चित भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार