Bal-Umang

Bal-Umang

मेलम्ची आयोजनामा झडपः गोली चल्दा २ प्रहरीसहित चार जना घाइते

काठमाडाैँ – मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र  प्रहरीबीच झडप भएको छ । आन्दोलनको दोस्रो दिन आज  खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडित मजदुर, भेन्डर तथा सप्लायर्सहरुमाथि सशस्त्र प्रहरीले गोली चलाउँदा २ जना मजदुर घाइते भएका छन् । त्यस्तै प्रहरीले अश्रु ग्यासल पनि प्रहार गरेकाे छ।

गोली लाग्नेमा सन्तोष चौधरी र बालमुकुन्द अधिकारी रहेका छन् । उनीहरुलाई हात तथा शरीरका तल्लो तहका विभिन्न अंगमा गोली लागेको छ ।अश्रुग्याँसले दर्जनौं प्रदर्शनकारी घाइते भएको अम्बास्थानस्थित मेलम्ची आयोजना संघर्ष समितिका सदस्य विष्णुमणि आचार्यले जानकारी दिएका हुन् ।

आचार्यका अनुसार करिब ३ सय जति प्रदर्शनकारीहरु हातमा प्लेकार्ड सहित शान्तिपूर्ण धर्नामा थिए । सरकारले सशस्त्र तथा जनपद गरी दर्जनौं प्रहरी परिचालन गरेको थियो ।

सरकारले दुई दिन अघि मात्रै मेलम्ची खानेपानीमा संलग्न भेन्डर तथा सबकन्ट्र्याक्टरहरुलाई पैसा दिन नसक्ने बताएको थियो ।संघर्ष समितिका अनुसार सरकारको उक्त निर्णय मजदुर तथा श्रमिक मार्ने प्रपञ्च रहेको आरोप छ ।

गत माघमा मेलम्ची खानेपानी परियोजना छाडेर भागेको सिएमसीसँग सम्बन्धित भई निर्माण सामग्री सप्लाइ गरेका तथा सबकन्ट्र्याक्टरका रुपमा विभिन्न निर्माण उपकरण सहित करारमा रहेका भेन्डरहरुलाई पैसा नदिने भन्ने निर्णय अमान्य र अन्यायपूर्ण भएको बताएका छन् ।सरकारको उक्त निर्णय सच्चिनु पर्ने भन्दै उनीहरु आफ्नो लागत लिनका लागि संघर्षमा उत्रिएको बताउँछन् ।

झडपमा दुई प्रहरी पनि घाइते भएको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिए। आन्दोलनकारीले मेलम्ची आयोजनाको सवारी साधनमा ढुङ्गा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरी निरीक्षक लामिछानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार