Bal-Umang

Bal-Umang

गाईगोरु मुत्यु प्रकरणमा गृह मन्त्रालयद्वारा छानविन समिति गठन

काठमाडाैँ – सुर्खेतको विरेन्द्रनगरमा भएको गाई र गोरुको अस्वाभाविक मृत्यु प्रकरणमा संलग्न व्यक्तिलाई सरकारले कारवाही गर्ने भएको छ ।

उक्त घटनाको छानविन गर्न गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

समितिलाई १५ दिनको म्याद दिइएको छ । गौ–हत्या जस्तो गम्भीर अपराधमा संलग्नलाई कानूनअनुसार हदैसम्मको कारवाही गरिने गृह मन्त्रालयले जनाएको छ ।

“अपराधमा संलग्नलाई उन्मुक्ति नदिइने कुरामा गृह मन्त्रालय प्रतिबद्ध छ”, मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । समितिलाई घटनाको अनुसन्धान र सहयोग पु¥याउन सरोकारवालालाई मन्त्रालयले आग्रह गरेको छ ।

नेपालगन्जबाट बिहिबार दैलेखका लागि लगिएका गाई र गोरु सुर्खेतको विरेन्द्रनगर नगरपालिकास्थित दैलेख–सुर्खेत सडकखण्डको कटकुवा जङ्गलमा मरेको फेला परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गाई र गोरुको ओसारपसार, अस्वाभाविक मृत्यु र घाइते भएको घटनामा कसको सम्बन्ध थियो भन्नेबारे यकिन गर्नसमेत समितिलाई निर्देश गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रहरी र ट्रक चालकले विरेन्द्रनगर नगरपालिका–१४ कटकुवा जङ्गलमा गाई र गोरु छाडेर फर्किएका थिए । नेपालगन्ज–२१ बेतनी र फूलटे बीचमा रहेको काञ्जीहाउसबाट नगरप्रहरीको नेतृत्वमा आठ ट्रकमा गाई र गोरु दैलेखको श्रीस्थान पठाइएको थियो । बीचमा गाई र गोरु बिरामी भई मर्न थालेपछि उनीहरुले बीच जङ्गलमै छाडेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार