Bal-Umang

Bal-Umang

बाढीपहिराेकाे कहर : मृत्यु हुनेकाे संख्या ५० पुग्याे, ३५ बढी बेपत्ता

काठमाडाैं-  बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ५० जनाले ज्यान गुमाएका छन्। प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार अबिरल वर्षापछि आएको बाढी पहिराेमा परी २१ महिला, २७ पुरुष र २ बालबालिका गरी ५० जनाकाे ज्यान गएको हाे।

प्रहरीले दिएको जानकारी अनुसार प्रदेश नं– १ मा १७, प्रदेश नं– २ मा सात, प्रदेश नं– ३ मा १२, प्रदेश नं– ५ र ६ मा दुई­दुई र उपत्यकाको दुई जिल्लामा आठ गरी ४८ जनाको ज्यान गएको हो। उपत्यकाको काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन्।

प्रदेश नं– १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, झापामा दुई, सुनसरी, उदयपुर, इलाममा एक­एक जनाको ज्यान गएको छ।

प्रदेश नं– २ अन्तर्गत धनुषा र बारामा दुई­दुई तथा पर्सा, रौतहट, सिरहामा एक­एक गरी सात जनाको मृत्यु भएको छ। प्रदेश न–३ अन्तर्गत काभ्रे, मकवानपुरमा तीन­तीन, सिन्धुली र धादिङमा दुई­दुई तथा रामेछाप र चितवनमा एक­एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै प्रदेश नं– ५ को पाल्पा र दाङमा एक­एक तथा प्रदेश नं– ६ को डोल्पामा दुई जनाको मृत्यु भएको छ। बेपत्ता हुनेमा काठमाडौँ र ललितपुरमा एक­एक जना, प्रदेश नं– १ को पाँचथरमा, झापा, उदयपुर र सुनसरीमा एक­एक तथा मोरङ र इलाममा तीन­तीन जना छन्।

प्रदेश नं– २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा,र धनुषामा एक­एक जना बेपत्ता छन्। प्रदेश नं– ३ को सिन्धुलीमा ६ जना र धादिङमा एकजना बेपत्ता छन्। यस्तै प्रदेश नं– ६ को डोल्पास्थित कासिल खोलाले बगाएर ११ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। घाइते हुनेमा उपत्यकामा पाँच, प्रदेश नं– १ मा आठ, प्रदेश नं– ३ मा १२ जना रहेका छन्। सुरक्षाकर्मीले उपत्यकाबाट १९४ जना, प्रदेश नं– १ बाट १२ जना, प्रदेश नं– २ बाट ८२७ जना, प्रदेश नं– ३ बाट ७१ जनाको उद्धार गरेको जनाएको छ। अहिले पनि उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार