Bal-Umang

Bal-Umang

‘समाजवाद राजनीतिको बजारमा सजिलोगरी बिक्ने वस्तु हो’

डम्बर खतिवडा
संविधानतः नेपाल ‘समाजवादउन्मुख’ राज्य हो । नेपालका अधिकांश राजनीतिक दल सिद्धान्तले ‘समाजवादी’ छन् । व्यवहारमा सिद्धान्त प्रतिबिम्बित छ छैन, त्यो अर्कै कुरा । शब्दमा भने सबै एक से एक समाजवादी । एउटा भनाई छ– ‘तपाई समाजवादी हुनुस् नहुनुस् तपाईको खुशी तर राजनीतिमा सफल हुन चाहनुहुन्छ भने कुनै न कुनै प्रकारले समाजवाद जप्न कहिल्यै नछोडनुस् किनकी समाजवाद राजनीतिको बजारमा सबैभन्दा सजिलोगरी बिक्ने मालवस्तु हो ।’ एउटा कोणबाट हेर्दा आज नेपालको अवस्था यस्तै छ ।

नेपाली काङ्ग्रेस– प्रजातान्त्रिक समाजवादी । सत्तारुढ नेकपादेखि माले, मसाल, नेमकिपा, बैद्य र विद्रोही विप्लवसम्म मार्क्सवादी–लेनिनवादी–माओवादी समाजवादी । यहाँसम्म कि बिल्कुल नयाँ पुस्ताको राजनीतिक पहलकदमी विवेकशील नेपाली दलले ‘स्वतन्त्रता, समानता र भातृत्वको गतिशील सन्तुलनबाट मानवतावादको प्रवर्द्धन गर्ने’ धारणा राख्दछ । शब्दमा समाजवाद नभनिए पनि अर्थ र मर्मको दृष्टिकोणले यो ‘समाजवादी दर्शन’ नै हो ।

यतिधेरै समाजवादीहरुको बीचमा भर्खरै समाजवादलाई नै विचार, सिद्धान्त, दर्शन र मूल आदर्श बनाएर समाजवादी पार्टी, नेपाल निर्माण भएको छ । घोषित रुपमा आफूलाई समाजवादी नभन्ने दुईवटा मात्र दल देखिन्छन् नेपालमा– राप्रपा र साझा विवेकशील पार्टी । राप्रपाले सम्वर्द्धनवादलाई आफ्नो राजनीतिक दर्शन बनाएको छ । साझाले परोपकारी लोकतन्त्रमा आधारित पुँजीवादलाई ।

अर्को कोणबाट हेर्दा समाजवादप्रतिको यो मोह एक सकारात्मक परिघटना हो । अंग्रेजीमा एउटा भनाई छ– ‘एक्जिस्टेन्स कम्स बिफोर इसेन्स ।’ यसको सामान्य अर्थ भनेको विचारलाई वस्तुले निर्धारण गर्दछ । यसलाई राजनीतिमा भन्न सकिन्छ( कुनै पनि राजनीतिक अवधारणा यथार्थमा परिणत हुनु अघि सघन विमर्शमा हुनुपर्दछ । समाजवाद अधिकांश पार्टीहरुको एजेण्डा बन्दै जानु नेपाल निकट भविष्यमा समाजवादतिर प्रवृत हुने लक्षण पनि हो । जसरी हिजो गणतन्त्र, लोकतन्त्र, संघीयता विमर्शमा थिए, आज यथार्थमा परिणत भए, त्यसरी नै आज समाजवाद जुनस्तरको छलफलमा छ, त्यो भविष्यमा अवश्य व्यवहारमा परिणत हुनेछ ।

तर, कुन समाजवाद ? कस्तो समाजवाद ? किन समाजवाद ? कसरी समाजवाद ? आदि प्रश्न अझै अनुत्तरित छन । यी सबै दलहरुले भनेको समाजवाद एउटै हो कि फरक, फरक हुन ? एउटै हो भने एउटै उद्देश्यका लागि यतिका धेरै दल किन चाहियो ? फरक
फरक हुन भने समान शब्दाबलीले सृजना गर्ने भ्रम वा अन्यौलबाट कसरी मुक्ति पाउने ? के आधारमा मतदाताले यी दलका समाजवादी मान्यताको फरक छुट्याउने ? यी प्रश्नमा प्रवेश गर्नु अघि सम्भवत् राजनीतिक दर्शनहरुको सामान्य ज्ञान आवश्यक पर्दछ ।

राजनीतिक दर्शन मूलतः ११ प्रकारका देखिन्छन् । सम्बर्द्धनवाद, उदारवाद, साम्यवाद, समाजवाद, राष्ट्रवाद, फासीवाद, धार्मिक कट्टरतावाद, संघवाद, जैविकतावाद, अराजकतावाद र महिलावाद ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार