Bal-Umang

Bal-Umang

शल्यक्रिया गर्दा आन्द्रामा प्वाल परेपछि बिरामीको मृत्यु

काठमाडाैँ – ओम अस्पताल चाहबिलमा बिरामीको मृत्युको विषयलाई लिएर शुक्रबार मृतकका आफन्तले दिनभर प्रदर्शन गरेका छन्। प्रदर्शनको क्रममा प्रहरीले प्रदर्शनकारीमाथि ढुंगामुढा गरेको छ । ढुंगामुढा प्रहारका कारण बिरामीका आफन्तलाई चोटपटकसमेत लागेको बताइएको छ । शान्तिपूर्ण प्रदर्शनमा अस्पतालले घुसपैठ गरी ढुंगामुढा प्रहार गर्न लगाएको उनीहरूको गुनासो छ ।

गत शुक्रबार सोही अस्पतालमा पित्तथैलीको शल्यक्रिया भएकी सिन्धुपाल्चोक इन्द्रावती–१० की रामप्यारी थापाको मृत्यु भएपछि अस्पतालमा विवाद चर्किएको हो । मृत्युको दुई दिन बितिसक्दा पनि आफन्तले मृतकको शव बुझेका छैनन् । आफन्तका अनुसार थापाको गत शुक्रबार अस्पतालका डा. रविन कोइरालाले उनको लेजरथेरापीबाट शल्यक्रिया गरेका थिए । शल्यक्रियाको क्रममा उनको आन्द्रामा प्वाल परेकाले सेफसिस भएर बिरामीको मृत्यु भएको थियो ।

मृतकका आफन्तले शल्यक्रियामा संलग्न चिकित्सक कोइरालालाई कारबाही हुनुपर्ने, मृतकका पति मुटुरोगी भएका र छोरा पढ्दै गरेकाले उनीहरूको औषधोपचार तथा शिक्षाको व्यवस्था गर्नुपर्ने र अस्पतालले अर्कोपटक यस्तो घटना दोहोरिन नदिने सम्झौता गर्नुपर्ने माग अघि सारेका छन् । अस्पतालले पीडितसँग वार्ता गर्नुपर्नेमा उल्टै दमन गरेको मृतकका बहिनीज्वाइँ खड्ग श्रेष्ठको आरोप छ । ‘अस्पतालमा यस्तो घटना भएको १९औं पटक भएको रहेछ, अब अरूमा यस्तो लापर्बाही नहोस् भन्न चाहन्छौं,’ उनले भने । क्षतिपूर्ति र कारबाही नभएसम्म प्रदर्शन जारी राख्ने उनीहरूले बताएका छन् ।

घटनाको विषयमा अस्पतालका निर्देशक केपी देवकोटाले अस्पतालको तर्फबाट लापर्बाही नभएको दाबी गरे । घटनापछि अस्पताल तोडफोड भइसकेको अवस्थामा अबको विवाद प्रहरीले सुल्झाउने जवाफ दिए । उनले भने, ‘बिरामी पक्षले हामीलाई प्रत्यक्ष रूपमा गल्ती देखाउन सक्दैनन्, बाहिर मात्र यसरी प्रस्तुत भएका छन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार