उच्च गुणस्तरीय स्वास्थ्य प्रणालीसम्बन्धी ल्यानसेटको प्रतिवेदन सार्वजनिक

काठमाडौं – ल्यानसेट कमिसनको उच्च गुणस्तरीय स्वास्थ्य प्रणालीसम्बन्धी विश्वव्यापी प्रतिवेदन बिहिबार काठमाडौंमा सार्वजनिक भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पब्लिक पोलिसी पाठशालाले राजधानीमा गरेको एक कार्यक्रमबीच ल्यान्सेटको ‘द ल्यानसेट ग्लोबल हेल्थ कमिसन अन हाइ क्वालिटी हेल्थ सिस्टम इन द सस्टेनेबल डेभलपमेन्ट गोल्स इरा स् टाइम फर अ रिभोलुसन’ नामक प्रतिवेदन सार्वजनिक भएको हो।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपन्द्र यादवले र द ल्यान्सेट ग्लोबल हेल्थ कमिसनकी अध्यक्ष डा मार्गरेट क्रुकले संयुक्त रुपमा सो प्रतिवेदन सार्वजनिक गरेका हुन्। प्रतिवेदनमा स्वास्थ्य सेवा प्रवाह उच्च गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै भनिएको छ, ‘न्यूनतम गुणस्तरको पनि प्रत्याभूति नगरी स्वास्थ्य सेवा प्रवाह गर्नु अनैतिक, अप्रभावकारी र खर्चको बर्बादी मात्र हो।’

प्रतिवेदनमा विश्वका विभिन्न देशका स्वास्थ्य सेवा, गुणस्तरका लागि भएका प्रयास, स्वास्थ्यका क्षेत्रमा ती देशले गरेको लगानी, स्वास्थ्य सेवाको पहुँच, उपलब्धतालगायतका विषय समावेश छन्। प्रतिवेदनमा नेपालको स्वास्थ्य अवस्था, लगानी, गुणस्तर लगायतका विषयमा पनि उल्लेख छ। प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सरकारले प्राथमिकता दिँदै गएको बताए। उनले स्वास्थ्यमा सर्वव्यापी पहुँचसँगै गुणस्तरीय सेवालाई पनि जोड दिइएको दाबी गरे।

‘अब स्वास्थ्य सेवा विस्तार गरेर र पहुँच बढाएर मात्र पुग्दैन,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले गुणस्तरलाई पनि केन्द्रबिन्दुमा राखेर काम अगाडि बढाएको छ।’ उनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वास्थ्यसँगै खानेपानी, कृषि, वातावरण। शिक्षालगायत अन्य निकायहरुले पनि साथ र सहयोग आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार