Bal-Umang

Bal-Umang

समाजवादी पार्टी निर्माणका अन्तर-कुन्तर

बाबुराम र उपेन्द्र : कसले कसलाई मिसायो ?

डम्बर खतिवडा

सृष्टि आफैंमा एक ‘ननलिनियर डाइनामिक्स’ अर्थात् गैर-एकलरेखीय अस्तित्व हो । सृष्टिको गुण समाजमा र समाजको गुण राजनीतिमा रहनु स्वभाविक हुन्छ । यही कारण हो कि राजनीतिमा अनेक विचार, सोच, पात्र, प्रवृति, चिन्तन, चेतनास्तर, कार्ययोजना, कार्यशैली, आकांक्षा, महत्वाकांक्षा र मिसनहरुको ‘इन्टरफेरेन्स’ अर्थात् संघर्ष, संश्रय र संघुलन भइरहेको हुन्छ ।

यही प्रक्रियाले पदार्थ जगतमा अनेक तत्वहरुको संघठन र विघठनबाट अनेक चिज बनिरहेका हुन्छन । चेतन जगतमा अनेक परिघटना निर्माण हुन्छन् । ती परिघटनाले मानव समाजको रुपान्तरणमा भूमिका गर्दछन । समाज गतिशील हुन्छ । राज्यले नयाँ विकल्प पाउँछ । राष्ट्रले जीवन पाउँछ । मान्छेको इतिहास भनेकै मष्तिष्कको चेतनस्तर अनुरुप उसले गर्ने प्रयास, प्रयासबाट निर्मित परिघटनाहरुको समुच्चय हो ।

नेपाली राजनीतिमा गत वैशाख २३ गते त्यस्तै एउटा परिघटना भयो- नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालबीच एकता र समाजवादी पार्टी, नेपाल निर्माण । यस घटनाबारे अनेक प्रकारका जिज्ञासा र बुझाइहरु छन् । आ-आफ्ना प्रकारका अनुमान र आँकलन छन् । कतिपय बुझाईहरु पूर्ण सूचनाको अभावमा समेत निर्मित छन् । कतिपयलाई यो हुनै नसक्ने घटना कसरी भयो भनेर आश्चर्य लागेको हुन सक्छ । समाजवादी पार्टी, नेपालको निर्माणसंग जोडिएका त्यस्ता केही प्रश्न, कोण र प्रतिकोणबारे चर्चा गर्नु यो आलेखको उद्देश्य हो ।

अपजसको श्रृखलाः

एउटा रमाइलो कथाबाट प्रसंग अगाडि बढाउँ । मुल्ला नसरुद्दिनले गधा पालेका थिए । एक दिन नसरुदिन र नौजवान छोरा घाटबाट गधालाई पानी खुवाएर फकिर्ंदै थिए । गधा अघिअघि थियो, बाउछोरा पछिपछि हिँड्दै थिए । गाउँ पुग्दा एउटा गाउँले डगरको किनारामा उभिरहेको थियो । उसले बाउछोरालाई लक्षित गर्दै भन्यो- ‘क्या बेबकुफ यार तिमीहरु । गधाको पछिपछि लुखुरलुखुर हिँड्ने हो ? नचड्ने हो भने गधा किन पाल्नु ?’

कुरा ठीकै हो । चड्न, भारी बोकाउन त हो गधा पाल्ने । नसरुद्दिन तुरुन्तै गधामा चडे । छोरो पछिपछि हिँड्दै थियो । अगाडि अर्को गाउँले छिमेकी भेटियो । उसले भन्यो- ‘कस्तो निर्दयी तिमी नसरुद्दिन । कलिलो छोरालाई खाली खुट्टा हिँडाइरहेका छौं । आफू मस्तले गधा चड्न लाज लाग्दैन ?’ कुरा त यो पनि ठीकै हो । नसरुद्दिन गधाबाट उत्रे र छोरालाई चढाए ।

केही अगाडि तेस्रो गाउँले भेट भयो । उसले भन्यो- ‘ल हेर, अहिलेका छोराहरुको बेहोरा । बुढो बाउ पछिपछि लुखुरलुखुर हिँड्दै छ, जवान छोरो मस्तले गधामा सवार छ । कस्तो लाज नभएको ।’ कुरा त यो पनि ठीकै हो । अब गधामा बाउछोरा दुबै चडे ।

अगाडि चौथो गाउँले भेट भयो । उसले भन्यो-‘कस्तो निर्दयी यार तिमीहरु । मर्न आटेको लुरे गधा छ । दुईदुई जना चडेका छौं । गधा पालेपछि अलिकति माया गर्नु पर्छ नि ?’ कुरा त यो पनि ठीकै हो । तर गर्ने के ? गधा नचडी हिँडाउँदा पनि विरोध भयो । बाउ मात्र, छोरा मात्र चढ्दा पनि भएन । दुबै जना चढ्दा पनि भएन । के गर्ने त ? के बिकल्प बाँकी छ ?

केहीबेर सोचेपछि मुल्ला नसरुद्दिनले जुक्ति निकाले । बाउछोरा भएर बरु गधालाई नै बोक्ने । गधाप्रति माया देखाएको पनि पुष्टि हुने भो । बाउछोराले गधा काँधमा बोके । अगाडि पाँचौं गाउँले भेट भयो । उसले भन्यो-‘ ल हेर, बिजोक । गधामा मान्छे चढेको त देखेको हो, अब त गधा मान्छेमाथि चढ्न थालेछ । जमाना उल्टिएको हो कि यी बाउछोरा बहुलाएका हुन् ?’

अब त हदै भयो । अब यो गधाबाट मुक्ति पाउनु नै उचित हुन्थ्यो । बाउछोराले गाउँ नजिकको भीरमा लगेर काँधमा बोकेको गधा झारिदिए । गधा मर्‍यो । छैठौं छिमेकी पशु अधिकारकर्मी थियो । उसले तुरुन्तै पुलिस थानामा गएर रिर्पोट गर्‍यो । ‘नसरुद्दिनका बाउछोराले निर्दोष गधाको हत्या गरे । पशुबधको अपराध गरेवापत उनीहरुमाथि अविलम्व कार्वाही होस ।’

मुल्ला नसरुद्दिनका बाउछोरा पक्राउ परे र जेल गए ।

राजनीतिमा पनि यो कथा लागू हुन्छ । जतिसुकै राम्रो नियत र प्रयास किन नहोस्, आलोचकहरुका लागि आलोचना गर्न योग्य विन्दु बाँकी हुन्छ । लोकतन्त्रमा सबैका कुरा सुन्नु पर्छ । ठीक कुरा मान्नु पर्छ । तर, त्यसको सीमा हुन्छ । मान्ने भन्दैमा आफ्नो योजना र दृष्टिकोणको सारतत्व छोडन् मिल्दैन । मुल्ला नसरुद्दिनले प्रत्येक गाउँलेका कुरा सुनेर आफ्नो निर्णय बदल्न जरुरी थिएन । सबैको कुरा मान्ने हुँदा गधा पनि मर्‍यो, बेवकुफ पनि भइयो । जेल पनि जानु पर्‍यो ।

गन्तव्य भुल्न हुुन्न, बाटामा मोड आउँछन्

राजनीतिमा लक्ष्य, गन्तव्य वा उद्देश्य महत्वपूर्ण हुन्छ । तर, यात्रा गर्दै जाँदा बाटोमा अनेक मोडहरु आउँछन् । राजनीति सधैं सिधारेखामा हिँड्दैन । बक्ररेखामा घुम्तीहरु हुन्छन् नै । लक्ष्य भुल्नुहुँदैन । तर, मोडहरु त पार गर्नैपर्छ ।

नेपालमा वैकल्पिक शक्ति निर्माणका मुख्य ५ वटा फोकसहरु थिए/छन् ।

एक- साम्यवाद र पुँजीवादभन्दा फरक, कांग्रेस र कम्युनिष्ट धारले थाती छाडेका ऐतिहासिक कार्यभार पूरा गर्न प्रगतिशील, लोकतान्त्रिक र अग्रगामी चरित्रको वास्तविक समाजवादी दल निर्माण गर्नु । यस बृहत्त उद्देश्यका लागि हिजोका पुराना शासक पार्टीहरु राप्रपा, कांग्रेस र कम्युनिष्ट बाहेक सम्पूर्ण राजनीतिक शक्तिलाई एक ठाउँमा ल्याउनु । कांग्रेस, कम्युनिष्ट र राप्रपाभित्रको पनि प्रगतिशील र देशभक्त तप्कालाई ध्रुवीकृत गर्नु ।

दुई- संविधान संशोधनमार्फत् संविधान जारी गर्दा बखतको कमजोरी र असन्तुष्टिलाई हटाई संविधानको स्वीकार्यता वृद्धि गर्नु । मुख्यतः ३ वटा मुद्दा शासकीय स्वरुपको परिवर्तन, अहिलेको खच्चड संसदीय प्रणालीका ठाउँमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद, ७ प्रदेशका ठाउँमा १०+१ हुने गरी प्रदेशको पुनर्सिमाङ्गकन र पूर्ण समानतामा आधरित नागरिकता सम्बन्धी प्रावधानको व्यवस्था गर्नु । यसका लागि संविधान संशोधनका पक्षमा जनमत निर्माण गर्नु ।

तीन- सुशासनका लागि कर्मचारीतन्त्र र अख्तियारको पुनर्गठन गर्नु । निर्वाचन प्रणाली परिवर्तन गर्नु । प्रणाली र कानुनी व्यवस्थका आधारमा राजनीतिक लागत र निर्वाचन खर्चको पारदर्शीता कायम गर्नु । संघीयता, समावेशिता र सुशासनको जगमा समृद्धि र समाजवादको आधार निर्माण गर्नु । आर्थिक बृद्धि, समन्यायिक वितरण, दीगो विकास र आत्मिक खुशीको अवधारणमा आधारित समतामूलक समृद्धिको मोडेल लागू गर्नु । निरन्तर दुई अंकको आर्थिक वृद्धिदर हासिल गरी केही दशकभित्रै देशलाई पहिलो विश्वमा पुर्‍याउने आर्थिक नीतिको पैरवी गर्नु ।

चार- पहिचान र समावेशिताको अन्तर्सम्बन्धलाई स्थापित गर्नु । नेपालको बहुराष्ट्रिय चरित्रलाई स्वीकार गर्नु । राष्ट्रियताहरुको कुल योग नै नेपाल राष्ट्र हो भन्ने मान्यता अनुुरुपको सामाजिक,भाषिक तथा प्रशासनिक संचरना निर्माण गर्नु । भूराजनीतिक जटिलताबीच नेपालको स्वाधीनताको रक्षा र अवसरहरुको बहुआयामिक उपयोग गर्नु । नेपालका सबै प्रकारका सीमान्तकृत जनसमुदायको भावनालाई समेट्नु, मूलप्रवाहीकरण गर्नु र सहभागिता, साझेदारी र समावेशितामार्फत् स्वशासनलाई प्रत्याभूत गर्नु ।

पाँच- अहिलेको औपचारिक संसदीय र सीमित लोकतन्त्रलाई सहभागितामुलक, समावेशी र समानुपातिक लोकतन्त्रमा परिणत गर्नु । गैरपदसोपानीय अवधारणाअनुरुप लोकतन्त्रको नयाँ संस्कृति निर्माण गर्नु । अन्तरपार्टी लोकतन्त्रलाई बलियो बनाउनु ।

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम, नेपाल एकीकरणको मुख्य मान्यता अहिले पनि यिनै हुन् । लक्ष्य यो हो । गन्तव्य यो हो । एजेण्डा यो हो । हो, तत्कालै यी सबै चिजको प्रत्याभूति एकिकृत पार्टीमा नभएको हुन सक्छ । संक्रमणकालीन जटिलताको केही समय रहन्छ । तर, आधारभूत सोच र कार्यदिशा ठीक छ भने अरु कुरा मिलाउँदै जान सकिन्छ ।

विचार कि शक्ति ?

यदाकदा केही मान्छेहरु यो प्रश्न गर्छन्, वैकल्पिक विचार कि बैकल्पिक शक्ति ? बैकल्पिक राजनीति कि वैकल्पिक पार्टी ? यो आफैंमा भ्रान्त धारणा हो । राजनीति भनेको विचार र शक्ति दुबै हो । विचारविना शक्ति हुँदैन । शक्तिविना विचार कार्यान्वयन हुँदैन, विचार नभए बराबर हुन पुग्छ । विचार प्राज्ञिक बहसमा सीमित हुन पुग्छ । प्राज्ञिक बहसका लागि पार्टी बनाइरहनुपर्दैन । पार्टी बनाउनुको अर्थ जनपरिचालन गर्नु नै हो । त्यसका लागि रणनीति र कार्यनीति बीचको तारतम्य मिलाउनैपर्छ । राजनीति अवश्य शुद्ध हुन पर्छ । तर, शुद्धतावादलाई मार्गदर्शन बनाएर राजनीति बनेको दुनियाँमा एउटा पनि उदाहरण छैन ।

दक्षिण एशिया यतिखेर विश्वकै सबैभन्दा अल्पविकसित क्षेत्र हो । संसारका करिब ७ अर्ब मान्छेमध्ये अब मुस्किलले २ अर्ब मान्छे मात्रै गरिबीको रेखामुनि छन् । त्यसमध्ये करिब १ अर्ब त दक्षिण एशियामा मात्र गरिब छन् । केही युद्धग्रस्त अपि|mकी मुलुकहरु नहुनु हो भने दक्षिण एशिया अल्पविकासको एक मात्र क्षेत्र हुने थियो । युगाण्डा, इथियोपिया, कंगोलगायत अफ्रिकी मुलुकहरुले अहिले तीव्र अर्थिक विकास गरिरहेका छन् । सबै अफ्रिकी मुलुकमा यो क्रम जारी रहे दक्षिण एशिया केही वर्षभित्रै संसारको एक मात्र दरिद्रतम् क्षेत्र रहने छ ।

त्यसमा पनि नेपाल । जो एशियाकै दोस्रो गरिब मुलुक हो । दक्षिण एशियाली लोकतन्त्रमा वंशवाद, नश्लवाद, जातीय विभेद र छुवाछुत, अपारदर्शीता र थैलीतन्त्र, शक्तिपुजक संस्कृतिजस्ता गम्भीर समस्या छन् । मतदाताहरु एजेण्डाले हैन, मातृ संगठन, शक्ति, धनजस्ता तत्वहरुबाट ठूलो परिणाममा प्रभावित हुन्छन् । नेपालमा यस्तो प्रवृति झनै धेरै छ । समाजको यो पक्षलाई ध्यान दिँदै मिसनको मूल उद्देश्य नमर्ने गरी समाजको यथार्थसँग जोडिनैपर्छ ।

ज्ञानविज्ञानको तहमा मान्छे वैश्विक हुन्छ । तर, जीवनको अभ्यास आफ्नै समाजको धरातलमा गर्नु मान्छेको बाध्यता हो । त्यसको अर्थ समाजको पिछडिएको चिन्तन र मान्यताहरुलाई जस्ताको त्यस्तै स्वीकार गर्ने हैन । समाजसँग जोडिने र समाजलाई नै रुपान्तरण गर्ने हो । अन्यथा राजनीतिशास्त्रमा त योगदान होला, तर राजनीतिको मैदानमा योगदान गर्न सकिन्न । जस्तै- पिछडिएको वा अल्पविकसित किन नहोस् जनतालाई साथ नलिइकन देश बदल्न सकिँदैन । विचार र एजेण्डा नै छोडियो भने शक्ति मात्र बनाएर त केही हुन्न । मूल एजेण्डा ठीक छन् भने कार्यनीतिक लचकता राजनीतिको सार्वभौम कला हो ।

को नयाँ, को पुरानो ?

नेपाली राजनीतिमा नयाँ र पुरानो छुट्याउने दुईवटा सीमांकन हुन सक्छन । एक- संस्थापन भइसकेका विचार/संस्था र नभएका विचार/संस्था । दुई- लोकतन्त्रको स्थापना अघि निर्माण भएका विचार/संस्था, लोकतन्त्रको स्थापनापछि उत्तरलोकतान्त्रिक युगका विचार/संस्था । पहिलो तरिकाबाट हेर्दा राप्रपा, कांग्रेस र कम्युनिष्ट बाहेक सबै नयाँ हुन् । राप्रपा राणा, राजा र पञ्चायती शासनको विरासत हो । कांग्रेस र कम्युनिष्टले आलोपालो ३ दशक शासन गरिसके । दोस्रो दृष्टिकोणबाट हेर्दा विकल्प निर्माणको स्पेश झनै साँघुरो भएर जान्छ ।

नयाँ वा पुरानो भनेको मूलतः एजेण्डा र सोच हो । व्यक्ति हैन । संरचना र सिष्टम परिवर्तनका एजेण्डमा निरन्तर पैरवी गर्नु, जनमत निर्माण गर्नु र अन्ततः सिष्टम परिवर्तन गर्नु राजनीतिको मुख्य अभिभारा हो । यसक्रममा व्यक्ति तथा नेतृत्व समूहको छवि र निष्ठा अवश्यक महत्वपूर्ण हुन्छ । तर, व्यक्तिको तहमा इमान्दारिताको कुरा गर्ने, सिष्टम र संरचनाको तहमा मौन बसेर नयाँको कुरा गर्ने तरिका झट्ट हेर्दा लोकपि्रयजस्तो देखिए पनि प्रकारान्तले खासै परिणाम दिंदैन ।

मधेसलाई बुझाइयो, पहाडलाई बुझाइयो:

सृष्टि गतिशील छ । घटनाहरु छिटोछिटो हिँडिरहेका हुन्छन् । मान्छेको सोच जडतामा छ भने पुरानै कुरातिर ध्यान जान्छ । अनि गति र जडता बीच बेमेल पैदा हुन्छ । यस्तै भएर गाडीमा यात्रा गर्ने कैयौं यात्रुहरुले वान्ता गर्छन् ।

पार्टी कसले कसलाई बुझायो ? कसैले भन्दैछन्- बाबुरामले उपेन्द्रलाई पार्टी बुझाए । नयाँ शक्ति मधेसलाई बुझाइयो । कसैले भन्दैछन्- उपेन्द्रले बाबुरामलाई पार्टी बुझाए । फोरम पहाडलाई बुझाइयो । समाजवादी पार्टीको गाडी छुटिसक्यो । यस्ता तर्क समाजवादी पार्टीको गतिसँग सोच मिलाउन नसक्नेहरुको हुकहुकी मात्र हो ।

मधेस र पहाड मिल्न हुँदैन भन्नेहरुले मात्र यस्तो तर्क गर्छन् । यो देशको संवेदनशीलतालाई नबुझ्ने साँघुरो र पूर्वाग्राही मान्छेहरुको सोच मात्रै हो । लोकतन्त्रमा राजनीतिक दल भनेको आम नागरिकको संस्था वा सम्पति हो । त्यो कसैले कसैलाई बुझाउने, दाइजो, पेवा वा दान दिने चिज हैन । दल एजेण्डाका आधारमा बन्छ, अनुहारका आधारमा हैन ।

एजेण्डा मिले दल मिल्छन् । एउटै देशभित्र एउटै राजनीतिक एकाईभित्र मधेस र पहाड छन् । मधेस र पहाडबीच मधेस भएको कारणले, पहाड भएको कारणले, केवल भूगोलको कारणले वेमेल भएको हैन । सोचको कारणले, एजेण्डाको कारणले द्वन्द्व भएको हो ।

मधेस आन्दोलनले मुख्य तीन एजेण्डा स्थापित गर्‍यो । संघीयता, समानुपातिक निर्वाचन प्रणाली र सरकारी सेवामा आरक्षण । तर, यो मधेसले मात्र पाएन, मधेस आन्दोलनका कारण अरुले पनि पाए । संघीयता स्थापित हुँदा मधेसले मात्र प्रदेश पाएन, कर्णालीले पनि पायो । समानुपातिक निर्वाचनभित्र मधेसी मात्र निर्वाचित भएनन्, महिला, दलित, जनजाति आदि पनि भए । आरक्षण आज मधेसीले मात्रै पाएका छैनन्, दूर्गमबासीले पनि पाएका छन ।

अर्थात् मधेश आन्दोलनले केवल मधेसलाई मात्रै योगदान गरेको छैन, एजेण्डाको हिसाबले, संरचनात्मक परिवर्तनका हिसाबले मधेस आन्दोलनले सिंगो देशलाई योगदान गरेको छ ।

आन्दोलनका बेला केही तीतामीठा भए होलान् । त्यही सम्झेर सधैं बस्नु बान्छनीय छैन । अगाडि बढ्ने एउटा मात्रै उपाय हुन्छ, अगाडि बढ्नु । अगाडि बढ्न डराएर अगाडि बढ्ने इच्छा गर्नुको कुनै अर्थ हुँदैन । आज समाजवादी पार्टीमा जुन अभूतपूर्व एकता र समावेशिता देखा परेको छ, यो वास्तविक रुपमा राष्ट्रिय चरित्रको दल बनेको छ । कांग्रेस वा कम्युनिष्ट ठूला दल अवश्य होलान् । तर, समाजवादी पार्टीझैं वास्तविक राष्ट्रिय चरित्रका दल हैनन् ।

पहिचान र समावेशिताको प्रश्न

केही मान्छेहरुको अर्को तर्क छ- यो त पहिचानवादी दल भयो । जातीय, क्षेत्रीय दल बन्न पुग्यो । यस्तो तर्कमा अज्ञानता र पूर्वाग्रह बाहेक केही देखिँदैन । हो, मधेसी जनाधिकार फोरम मात्र हुँदा यो मधेस केन्दि्रत दलका रुपमा क्षेत्रीय जस्तो देखिन्थ्यो होला, तर जातीय त कहिल्यै थिएन । किनकि मधेस भनेको कुनै एउटा जात हैन । मधेसमा अनेक जातजाति र धर्मालम्बीहरु बस्छन् । मधेस जनविद्रोह उनीहरुको साझा आन्दोलन थियो ।

तर, संघीय समाजवादी फोरम बनिसक्दा यो अलि फरक चरित्रको भइसकेको थियो । नयाँ शक्तिसँग एकीकरण हुँदा संगठनात्मक विस्तार र आकारको हिसाबले यो क्षेत्रीय दल हुनै सक्दैन । मधेस नेपालको प्रदेश हो, हुन्छ नै । संघीयता भएको देशमा प्रदेशको नाम जोडेर क्षेत्रीय दल जन्मिन पाउँछन् । जन्मिन सक्छन् । तर, समाजवादी पार्टीको चरित्र केवल क्षेत्रीय हुने कुनै सँभावना बाँकी छैन ।

जहाँसम्म जातीय कुरा छ, त्यो पहिचानको एउटा आधार हो, पूर्ण आधार हैन । भाषिक, सांस्कृतिक र ऐतिहासिक मनोविज्ञानसमेत त्यसमा जोडिएर आउँछ । नयाँ शक्तिको एकल दस्तावेजमा नै अहिलेको संघीयता वास्तविक संघीयताको मर्मअनुरुप छैन भनेकै थियो । अहिले एकीकृत पार्टीले पनि त्यही त भनेको छ । खास ऐतिहासिक तथा विशिष्ट कारणहरुले क्षेत्रीय रुपमा उदित भएका दलहरु आफूलाई राष्ट्रिय रुपमा रुपान्तरित गर्न इच्छुक र तत्पर हुन्छन् भने त्यो त झन त्यस्ता मान्छेहरुका लागि खुशीको कुरा हुनु पर्ने हो ।

नेपालमा अहिले एउटा बौद्धिक विमारी देखापरेको छ । ‘समावेशिता’ भन्दा राम्रो मान्ने, ‘पहिचान’ भन्दा आकाश खसेजस्तो गर्ने । जबकी पहिचान र समावेशिता एकअर्काका पुरक पाटो हुन । जहाँ पहिचानहरु नै छैनन्, त्यहाँ समावेशिता नै किन र केका लागि जरुरी हुन्छ र ? जहाँ समावेशिता स्वीकार गरिन्छ, त्यहाँ पहिचानहरु छन भनेर स्वतः स्वीकार गरेको बुझिन्छ ।

एउटा सानो उदाहरणमा भनौं । सलादको थालीमा गाजर, मूला, काक्रो, प्याज र टमाटरको टुक्रा छन, त्यो समावेशिता भयो । तर, त्यसका लागि कहीँ मुला, गाजर, काँक्रो, प्याज र टमाटरको खेती भिन्नाभिन्नै त भएको हुनुपर्‍यो । मूलाको खेती गर्न दिन्न, तर सलादको थालीमा मूलाको टुक्रा चाहिँ हुनुपर्छ भनेजस्तै मूर्ख तर्क हो पहिचान चाहिँ मान्दिनँ तर समावेशिता चाहिँ मान्छु भन्नु ।

पहिचान भएकै कारण समावेशिता हुने हो । समावेशिता हुन्छ भने पहिचान हुन्छ, हुन्छ । सलादको थालीमा मुलाको टुक्रा छ भने कहीँ न कहीँ बारीमा मुलाको खेती त भएकै हुनु पर्दछ ।

तर, पहिचानलाई सम्वोधन गर्नु र पहिचानवादी हुनु भनेको फरक कुरा हो । वादको हिसाबले त यो एककिृत पार्टी ‘समाजवादी’ हुन्छ ‘पहिचानवादी’ हैन । नेपालका राष्ट्रियता र सीमान्कृत जनसमुदायको पहिचान, स्वशासन, साझेदारी र सहभागिताको आकांक्षालाई भने यो पार्टीले पुरा गरेरै छोड्छ ।

जातिवाद हैन, मानवतावाद

नेपालमा एउटा अर्को बौद्धिक विमारी छ मानवतावादलाई जातिवाद देख्ने । यसलाई पनि एउटा उदाहरणमा भनौं ।

अफ्रिकामा नेल्सन माण्डेला कालाहरुको पक्षमा लडे । काला जातिका पक्षमा लड्ने मान्छे भन्ने अर्थमा संसारले उनलाई किन जातिवादी भनेन ? किन मानवतावादी भन्यो ? माहत्मा गान्धी हिन्दू थिए तर किन धर्मनिरपेक्षता र अल्पसंख्यक मुस्लिमहरुको कुरा गरे । त्यसो गरेवापत गान्धीलाई किन जातिवादी नभनेर मानवतावादी भनिएको ? गान्धी र माण्डेलालाई किन जातिवादी नभनेर मानवतावादी भनिन्छ ?

यसको प्रष्ट अर्थ हो- अल्पसंख्यक तथा सीमान्तकृत जनसमुदायलाई साथ दिनु जातिवाद हैन, मानवतावाद हो । हो, माण्डेलाले कालामाथिको विभेद विरुद्ध लडे, तर गोराहरु माथि पनि कुनै अत्याचार र विभेद हुन दिएनन् । नेपालमा पनि ठीक त्यही कुरा हो । उत्पीडनमा परेका जाति, भाषा, धर्म, संस्कृति र समुदायलाई विभेद हुन नदिने हो । यसको अर्थ पुरानो शासक जातिलाई अपमान र विभेद गर्ने हैन ।

यदि यो अन्तर्यको मर्म कसैले बुझ्छ भने बाबुराम भटट्राई वा उपेन्द्र यादवले रोजेको बाटो हिटलर वा पिटर बोथाको झैंं जातिवाद हैन, गान्धी र माण्डेलकोझै मानवतावाद हो । समाजवादी पार्टीले रोजेको पहिचान र समावेशिताको बाटो जातिवाद हैन, मानवतावाद हो ।

चुनौती त छन् नै

यसको अर्थ यो हैन कि यो चुनौतिहीन बाटो हो । दस्तावेजमा लेख्दैमा त्यही अनुसारको राजनीतिक संस्कार र संस्कृति बनाउँन नेपालको राजनीतिक माहौलमा सजिलो छैन । मूलतः अन्तपार्टी लोकतन्त्रलाई नयाँ ढंगले पुनर्परिभाषित र अभ्यास गर्न केही जटिलताहरु आउँन सक्छन् ।

यतिमात्र एकताले अझै पुग्दैन । आउने निर्वाचनसम्म माथि भनिएझैं कांग्रेस, कम्युनिष्ट र राप्रपाभित्रको इमान्दार तप्कासहित त्यसबाहेका व्यक्ति, व्यक्तित्व, शक्ति, समूहलाई कुनै न कुनै रुपमा एकीकृत र ध्रुविकृत गर्ने दायित्व समाजवादी पार्टी, नेपालले पूरा गर्नैपर्छ । अनि मात्र साँचो अर्थमा तेस्रो वैचारिक ध्रुव र देशको नेतृत्व गर्न सक्ने बैकल्पिक राजनीतिक शक्तिको उदय हुनेछ ।

नेपालमा दलहरु बन्ने र बिग्रने विचित्रका उदाहरण छन् । ०४६ पछि कांग्रेस एक्लै बहुमत ल्याउने हैसियतमा थियो । त्यसपछि निरन्तर साँघुरियो । ०५४ मा एमाले एक्लै दुईतिहाई ल्याउने हैसियतमा थियो । पछि तेस्रो दलमा झर्‍यो । पहिलो संविधानसभामा माओवादी पहिलो भयो । आज उसको विरासत पत्ता लगाउन मुश्किल छ । पहिलो संविधानसभामा फोरम निक्कै ठूलो शक्ति थियो । निरन्तरको फुट विभाजनले त्यसको कोर्स नै अर्को भयो । यी सबै घटनामा पार्टीका आन्तरिक चरित्र र व्यवहार निर्णायक देखिन्छन् ।

यो एकताबाट समाजवादी पार्टी पंक्ति उत्साहित हुनु स्वाभाविक हुन्छ । तर, धेरै अहंकार गर्न आवश्यक छैन । कति न ठूलो पार्टी बनिहाल्यो भनेर पद, प्रतिष्ठाका लागि हापझाप मात्र गर्ने प्रवृति विकास भयो भने पार्टीको भविश्य सुखद हुने छैन । सुविचारित योजना, बलियो आन्तरिक एकता र चुस्त व्यवस्थापन क्षमता विकास गर्न सके समाजवादी पार्टी एक हाराहारीको प्रतिस्पर्धी दलका रुपमा उदित हुने आधारहरु प्रष्ट देखिन्छन् ।(खतिवडा समाजवादी पार्टीका नेता हुन्) अनलाइनबाट सभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार