Bal-Umang

Bal-Umang

केपी ओली कडा आलाेचना गर्दै सरकारविरूद्ध आन्दोलकाे चेतावनी

बुटवल– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा नेतृत्वको कम्युनिष्ट सरकार विरुद्धमा आन्दोलन गर्न तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

नेपाली कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलनको तिलोत्तमामा उद्घाटन गर्दै उनले राणा, पञ्चायत र राजतन्त्र ढाल्न कांग्रेसले नेतृत्व गरेको भन्दै कम्युनिष्ट शासनको अन्त्य गर्न पुनः आन्दोलन गर्नुपर्ने समय आएको बताए।

नेकपा नेतृत्वको सरकारले सबै क्षेत्रमा आफू अनुकूल नियन्त्रण गर्दै गएको भन्दै त्यसका विरुद्ध आन्दोलन गर्ने उनले चेतावनी दिए।
न्यायालय, मानवअधिकार र प्रेस जगतको अधिकारमा सरकारले हस्तक्षेप गरेर आफू अनुकुल बनाउन खोजेको भन्दै उनले केपी ओली नेतृत्वको सरकारको कडा आलोचना गरे।

‘यो सरकारले न्यायपालिका, मानवअधिकार र प्रेसको क्षेत्रलाई नियन्त्रण गरेर आफू अनुकूल बनाउन खोजेको छ’, उनले भने, ‘हामी कदापी यो स्वीकार गर्दैनौँ, हामी त्यसका विरुद्धमा आन्दोलन गर्छौँ, यो बुद्धभूमिबाट प्रजातन्त्रका लागि आन्दोलन गर्न तयार हुनुस्।’

सरकारले ल्याएको बजेट कार्यकर्ता पोस्ने खालको भएको भन्दै सभापति देउवाले बजेटले मुलुकको विकास गर्न नसक्ने बताए। ‘बजेट सबै कार्यकर्तालाई बाँडेर सक्ने खालको छ’, उनले भने, ‘यसले मुलुकको विकास भन्दा बढी कार्यकर्ता पोस्ने काम गर्छ।’

उनले कम्युनिष्ट नेतृत्वको सरकारका कारण प्रजातन्त्र नै धरापमा परेको भन्दै प्रजातन्त्रको रक्षाका लागि पनि कांग्रेसले आन्दोलन गर्ने बताए। ‘जुन देशमा स्वतन्त्र न्यायपालिका छैन, त्यहाँ प्रजातन्त्र धरापमा पर्छ’, उनले भने, ‘पञ्चायत भन्दा पनि बढी नियन्त्रण गर्न खोजिएको छ, त्यो ठाडै प्रजातन्त्रको खिलाफमा छ, प्रजातन्त्र अहिले खतरामा परेको छ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार