Bal-Umang

Bal-Umang

पाँचथर सामूहिक हत्या प्रकरण संसदमा प्रवेश, गृहमन्त्रीमाथि उठ्यो प्रश्न!

काठमाडौं– प्रतिनिधिसभाका सांसदले पाँचथरमा सोमबार राति भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसद पुष्पा भुसालले सो घटनामा हत्या भएका निर्दोष नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारको ध्यानाकर्षण गराइन्।

उनले घटनामा बाँच्न सफल भएकी बालिकाको उचित उपचारको प्रबन्ध गर्न पनि आग्रह गरिन। पाँचथरमा सोमबार राति भएको सो घटनामा अपरिचित समूहले दुई परिवारका नौ जनाको हत्या गरेको थियो। सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्रीले सो घटनाका बारेमा सार्वजनिक रुपमा जवाफ दिनुपर्ने भन्दै उनको कार्यक्षतामाथि प्रश्न समेत उठाएका छन्।

यता प्रहरीले भने उक्त हत्याको छानबिन गर्न तालिमप्राप्त कुकुरसहित ५० जना प्रहरीको टोली घटना स्थलमा परिचालन गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी), संघिय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयइलाम र पाँचथरबाट ५० जना प्रहरी घटनास्थलमा पुगेको नेपाली प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले बताए।

हत्या प्रकरण रहस्यमय बनिरहेका घटनाको सत्य तथ्य छिटो भन्दाछिटो बाहिर ल्याउन विभिन्न कोणबाट अनुसन्धान गर्न आवश्यक प्रहरी परिचालन गरिएको प्रवक्ता पोखरेलले बताए। उनले भने,’ यस्ता गम्भीर प्रकृतिका घटनामा तत्काल अनुसन्धान गर्नको लागि जिल्लाबाट बाहिर निस्कने नाकामा काडा निगरानीका साथै चेकजाँच गर्छौँ।’

सीआईबीका एसपी उमाशंकर चतुर्वेदीको नेतृत्वमा तीन प्रहरी अनुसन्धान गर्न घटनास्थल तर्फ लागेको सीआइबीका प्रवक्ता एसपी सुदिप गिरीले बताए। त्यसैगरी संघिय प्रहरी कार्यालय धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको १५ जनाको टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए।

त्यसैगरी इलाम प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष बुढाथोकीको नेतृत्वमा २७ जनाको टोली अनुसन्धानको लागि घटना स्थलमा पुगेको छ। त्यस्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट डिएसीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ भने इलाका प्रहरीका कार्यालय दशमीका प्रहरी पनि घटनास्थलमा परिचालित छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार