Bal-Umang

Bal-Umang

दर्जनौं खुनडाँका अपराधी २४ वर्षपछि पक्राउ

दर्जनौं खुनडाँका अपराधी २४ वर्षपछि पक्राउ परेका छन्। लालबन्दी नगरपालिका–२, पुर्नवास (डी) टोलका ४५ वर्षीय दर्जनौं खुनडाँकासहित सङ्गठित अपराध र किर्ते मुद्दामा फरार सञ्जिव पासवानलाई सर्लाही प्रहरीले पक्राउ गरेको हो।

विशेष सुराकीका आधारमा शुक्रबार साँझ आफ्नै घरबाट पक्राउ परेका पासवानलाई शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलङ्गवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। 

२० वर्षको उमेरदेखि विभिन्न आपराधिक घटनामा संलग्न पासवान पेशेवर रुपले लुटपाट, खुनडाका लगायतमा संलग्न भएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले दाबी गरे। ‘पासवान विरुद्ध सर्लाहीसहित महोत्तरी, सिरहा, सिन्धुली, रुपन्देही र भारतीय बजारमा भएका लुटपाट र अन्य आपराधिक घटनामा दर्जनौं मुद्धा रहेको पाईएको छ’, प्रउ भट्टराईले भने, ‘उनी नेपालका विभिन्न प्रहरी कार्यालय तथा भारतीय प्रहरीबाट समेत सर्वाधिक खोजीको सूचीमा परेका अभियुक्त हुन्।’ 

पासवान २०७४ साल असोज २४ गते सर्लाहीको हरिपुर नगरपालिका–९ मा कविलासी नगरपालिका–२ का सुनचाँदी व्यवसायी सुनिल साहको गोली हानी हत्या गरिएको र २०७५ साल असोज २० गते ईश्वरपुर नगरपालिका–१३, बाँके जङ्गलमा श्रीनगरस्थित एक सहकारीका सञ्चालक धनेश्वर महतोको साथबाट नौ लाख नब्बे हजार लुटपाट गरिएको घटनामा समेत संलग्न रहेको प्रहरीको दाबी छ। यस्तै, महोत्तरीमा दुईवटा डकैती, एउटा सवारी चालक अनुमति पत्र किर्ते, सिरहा, सिन्धुली र रुपन्देहीमा तीनवटा लुटपाट र भारतको विभिन्न स्थानमा ११ पटक लुटपाटको घटनामा पासवानको संलग्नता रहेको पाइएको प्रउ भट्टराईले दाबी गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार