Bal-Umang

Bal-Umang

महोत्सवमै नेकपाले यस्तो हतकण्डा अपनाएपछि फोरमले निकाल्यो विज्ञप्ति

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले दोबाटेडाँडामा आयोजना गरेको सांस्कृतिक तथा पर्यटन महोत्सवमा नेकपाको पार्टी प्रवेश कार्यक्रम राखेर जबरजस्ती आफ्नो नेतालाई आबिर माला लगाएपछि संघीय समाजवादी फोरम नेपालले कडा विरोध गरेको छ।

गाउँपालिका अध्यक्ष मेजर राई नेकपाका कार्यकर्ता भएकै कारण महोत्सवमै पार्टी प्रवेश कार्यक्रम राखिएको हो ।गाउँपालिकाले दोबाटेडाँडामा यही वैशाख १ देखि ५ गतेसम्मका लागि महोत्सव आयोजना गरेको छ ।

अध्यक्ष राईले वैशाख १ गते नयाँ शक्ति पार्टी लिम्चुङबुङ गाउँपालिकाका संयोजक मनराज राई र संघीय समाजवादी फोरम लिम्चुङबुङ गाउँपालिकाका सचिव टिमराज राईलाई पार्टी प्रवेश गराए ।

अध्यक्ष राईले आफ्नो फेसबुकमा ‘दुवै जना कमरेडहरुलाई स्वागत’ भन्दै तस्बिर समेत राखे । तर ससफोका टिमराज राईलाई भने नाटकीय ढंगले पार्टी प्रवेश गराइएको खुलेको छ ।

नेकपाका नेता जगनाथ खतिवडा, मोहनबहादुर खत्री, नारायण बुर्जा मगर महोत्सवमा अतिथि भएर आएको मौका छोपेर अध्यक्ष राईले नाटकीय ढंगले पार्टी प्रवेश भन्दै अबिर र माला लगाएर फोटो खिचेर सामाजिक सञ्जालमा राख्दै भ्रम सिर्जना गरेको टिमराज राईले बताए ।

ससफो लिम्चुङबुङ गाउँपालिका अध्यक्ष छत्र राईले सोमबार प्रेस विज्ञप्ती जारी गरी गाउँपालिका अध्यक्ष मेजर राईको कार्यशैलीको विरोध गरेका छन् ।

गाउँपालिका अध्यक्ष जस्तो व्यक्तिले एउटा पार्टीको लागि अराजनीतिक, अपरिपक्क र बचपना झल्कने चरित्र देखाएको विज्ञप्तीमा उल्लेख छ ।

टिमराजको भनाइ

आफ्नै गाउँपालिकाको महोत्सव भएकोले म पनि महोत्सवमा सहभागी भएको थिए ।

पार्टी प्रवेशबारे मलाई थाहा थिएन, सल्लाह पनि थिएन ।

महोत्सवमा जगनाथ खतिवडा, मोहन खत्री, नारायण बुर्जा जस्ता नेकपाका नेताहरु आएका रहेछन् ।

गाउँपालिका अध्यक्ष मेजर राईले मलाई आउनुस न भनेर बोलाउनुभयो ।

उहाँहरु कुर्सीमा बसिरहनुभएको रहेछ ।

अब तपाई हामी मिलेर एउटै मोर्चामा काम गर्नुपर्छ, हाम्रो पार्टीमा स्वागत छ भनेर अबिर लगाएर फोटो खिच्न थालियो ।
मैले मेरो असहमति छ, छलफल नै भएको छैन भनेँ ।

पछि सामाजिक सञ्जालमा पार्टी प्रवेश भन्दै फोटो राखिएको देखेँ ।

मैले पछि पनि मेजर राईलाई फोन गरेर भने ।

उहाँले हामी मिल्नुको विकल्प छैन भन्नुभयो ।

म संघीय समाजवादी फोरम नेपाल छोडेको छैन । नेकपामा प्रवेश गरेको पनि हैन ।

भ्रम फिजाउने काम भयो । यसमा दुःख व्यक्त गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार