परम्परागत शैलीको काम गराइले पार्टी निर्माण हुन सकेन, पार्टी पद्धतिभन्दा व्यक्तिलाई महत्व दिइयो

काठमाडौँ । संघीय समाजवादी फोरम नेपालका प्रदेश नं १ का अध्यक्ष भुपेन्द्र नेम्वाङले आफूले अब विगतको भन्दा फरक ढंगले प्रदेश नं १ मा काम गर्ने बताएका छन् । विगतको परम्परागत शैलीको काम गराइले पार्टी निर्माण हुन नसकेको उनले बताए ।

विभिन्न राजनीतिक दल र राजनीतिक स्कूलिङबाट आएका नेताहरुबीच काम गर्ने तौरतरिकामा एकरुपता नहुँदा समस्या भएको र उक्त समस्या परम्परागत भएको नेम्वाङको भनाइ छ ।
प्रस्तुत छ संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य समेत रहेका नेता नेम्वाङसँग गरिएको कुराकानीः

तपाई भर्खरै प्रदेश नं १ को अध्यक्षमा निर्वाचित हुनुभएको छ । अब पार्टीलाई मजबुद बनाउन कसरी अघि बढ्नुहुन्छ ? के के योजनाहरु छन् ?

पार्टीलाई मजबुद बनाउन त सबभन्दा पहिला पार्टी नै मजबुद हुनुपर्यो । मजबुद हुने नीति, कार्यक्रम र योजनाहरु ल्याउनुपर्यो । मजबुद बनाउने आधारहरु छन् तर पनि म एक जना प्रदेश नं १ को अध्यक्षको हैसियतले हिजो जुन शैलीमा ६ वर्षसम्म अर्थात संघीय समाजवादी फोरम नेपाल बनेपछि अहिले तीन वर्ष पुगेर चार वर्षमा लागिरहेको छ ।

विगतमा जुन शैलीबाट संगठन समितिहरुले काम गरे त्यो समितिहरुको काम गराइभन्दा फरक ढंगले लाग्नुपर्छ र लाग्ने योजना बनाएको छु ।

विगतका कमजोरी कस्ता थिए ? कसरी काम गरेका थिए समितिहरुले ?

विगतको कमजोरी भनेको परम्परागत शैली थियो । परम्परागत शैली भनेको लिम्बुवान पार्टीबाट आउनेहरु लिम्बुवानी शैलीमा चल्ने, एमालेबाट आउनेहरु एमाले शैलीमा चल्ने, कांग्रेसबाट आउनेहरु कांग्रेस शैलीमा चल्ने, नेकपा एकीकृतबाट आउनेहरु नेकपा एकीकृतको शैलीमा चल्ने, माओवादीबाट आउनेहरु माओवादी शैली खोज्ने, जातीय संगठन र जनजाति महासंघबाट आउनेहरुले त्यही किसिमको र त्यही प्रक्रिया खोज्ने गरियो । र त्यसलाई पार्टीको माथिल्लो तहबाट व्यवस्थापन गर्ने काम भएन ।

यो कुरा व्यवस्थापन गर्नका निमित्त संघीय समाजवादी पार्टी हुँदै अर्थात संघीय समाजवादी पार्टी गठन भएको २०६९ साल मंसिर ७ गते हो र पार्टीले केन्द्रीय समितिको दोस्रो बैठक फागुन ३ गते बोलाएको थियो । फागुन ४ गते मैले चार लाइनको लिखत पेश गरेको थिए ।

के थियो त्यसमा ?
संगठन सम्बन्धी जुन संघीय समाजवादअन्तर्गत वैकल्पिक पार्टी बनाउने जुन योजना र उद्देश्य थियो, त्यो उद्देश्य र मर्म अनुरुपको संगठन पद्धति र शैली सुरु भएको थिएन ।

त्यो शैलीले आज पनि गुड गरेको छ । सायद हामीबीच अन्तरघुलन पनि नभएको होला, अन्तरघुलन नहुँदा त्यस्तो होला ।

अहिले चाहिँ कस्तो छ अवस्था ? पार्टी एकता भएको लामो समय भइसक्यो, दुई पटक निर्वाचनमा पनि गइसकेको छ पार्टी, अन्तरघुलन भइसक्यो होला नि ?

अहिले झन धेरै समस्या छ । समस्याहरु कसरी जेलिन्छ भने जब पार्टीको माथिल्लो समितिबाट सांगठनिक पद्धतिलाई मजबुद बनाउनेभन्दा पनि धेरै मान्छे हामीलाई चाहिएको छ भनेर धेरै मान्छे बटुल्नेतिर मात्रै पार्टी लाग्यो । त्यसकारण पार्टी सिस्टममा चलाउने कुरालाई महत्व दिइएको छैन ।

यो नेतृत्वबाटै भएको समस्या हो ?

नेतृत्वबाटै भन्नुपर्छ । किनभने १ नम्बर प्रदेशमा जानुभयो भने एक खालको शैली छ, २ नम्बरमा जानुभयो भने अर्को शैली छ, ३ नम्बरमा जानुभयो भने अर्को शैली छ ।
पार्टी संगठन निर्माणको निमित्त एकरुपता हुनु जरुरी छ ।

पार्टीको विधान छ, पार्टीको नियमावली कार्यविधिहरु होला, त्यस अनुसार पार्टी चलेकै छैन ?

पार्टी विधान पनि त्यति सोंच विचार पुर्याएर हाम्रो आवश्यकता अनुसारको बन्न सकिरहेको छैन । अबको अधिवेशनमा त्यो परिमार्जन हुन्छ भन्ने विश्वास लिएको छु । विधान बनेको छ त्यसलाई फलो गरिएन ।

जस्तै जिल्लामा दुईजना उपाध्यक्षहरु रहने व्यवस्था छ । तर आठ÷आठ जना उपाध्यक्षहरु बनाएर पनि समिति बनाइएको छ । त्यो बनाउनुको अर्थ के हो भने सबैलाई मिलाएर लाने ।

यहाँ त व्यक्तिलाई खुसी बनाउने र व्यक्तिलाई महत्व दिने कुराहरु पार्टीभित्र बढी प्रभावित भइरहेको छ । व्यक्तिलाई महत्व दिएपछि दुईजना उपाध्यक्ष राख्नुपर्नेमा तदर्थ समिति हो चल्छ भनेर एउटै समितिमा आठ÷आठ जना उपाध्यक्षहरु बनाइएको छ ।

अब तपाईले आफ्नाे प्रदेशमा पार्टी पद्धति र नीति बनाउन सक्नुहुन्छ ?

मलाई अध्यक्ष बनाइएपछि मैले १ नम्बरमा हाम्रो पार्टीको सुन्दरता भनेको समानुपातिक समावेशी हो । त्यसलाई पूर्णरुपमा पालना गर्ने प्रयास मैले गरिरहेको छु ।

जस्तै प्रदेशको पदाधिकारीहरु मनोनयन गर्दाखेरि सबै जाति मिलाएर गरेको छु । राई समुदाय र खस आर्य समुदायको मात्रै दुई÷दुई जना परे, त्यो पनि विभिन्न कारणले परे । कारक धेरै छन्, सायद मेरो पनि कमजोरी हुन सक्छ । तर मलाई लाग्छ जो साथीहरु टिमभित्र हुनुहुन्छ उहाँहरुमा सुझबुझ नपुगेको हो कि के कारणले हो दुई समुदायको दुई÷दुईजना परेको छ ।

नत्र भने मैले त के भनेको थिएँ भने पदाधिकारीमा केही लिम्बू साथीहरुले पनि आकांक्षा नराखेको होइन । तर मैले भने हाम्रो सुन्दरता भनेको समानुपातिक समावेशी हो ।

कि म लिम्बू होइन भनेर तपाईहरुले भन्नुपर्छ, होइन भने लिम्बूको प्रतिनिधित्व त मैले पनि त गरिरहेको छु, अर्को लिम्बू किन चाहियो ? त्यसकारण सदस्यमा बस्ने, पार्टीभित्र पद ठुलो कुरो होइन, जिम्मेवारी मुख्य कुरो हो ।

जिम्मेवारी पूरा गरेन भने पद लिएर पनि केही अर्थ हुँदैन । त्यसकारण तपाईहरु सबै साथीहरुले जिम्मेवारी कसलाई के दिदा हुन्छ भन्ने कुरा ल्याउनुहोस भनेँ ।

तपाई आफै चाहिँ किन अध्यक्ष हुनुभयो भन्ने प्रश्न आउला । मैले हिजोको जुन परम्परागत शैलीमा जुन तरिकाबाट पार्टी चलेको थियो । त्यो शैलीबाट संगठन बनेन । नबनेको उदाहरण पनि म दिन्छु । कसरी बनेन भने २०७० सालमा संविधानसभाको चुनावमा हामीले ल्याएको मतभन्दा २०७४ सालको चुनावमा ८० प्रतिशत घटेको छ । के कारणले घट्यो ? यो खोजीको विषय छ ।

कोही व्यक्तिलाई आरोप लगाएर मात्रै हुँदैन । व्यक्तिको कुरामा पनि के छ भने २०७० सालपछि नेताहरुचाहिँ धेरै थुपार्यौ तर भोटरहरु गुमायौ, के कारणले हो ? यो खोजीको विषय हो, पार्टीले नै खोज्नुपर्ने बेला भएको छ ।

तपाईलाई चाहिँ के लाग्छ ? किन पार्टीको मत बढ्नुपर्नेमा घटेको हो ?

मेरो विचारमा विभिन्न कारणहरु छन् । मूल कारण संघीय समाजवादी फोरम नेपाललाई जनजातिको पार्टी, मधेसीको पार्टी भनेर व्यापक रुपमा एमाले, कांग्रेस माओवादीहरुले भ्रम फैलाइदिए । त्यो भ्रमले आम मतदाताहरु अल्मलिए ।

अर्को कुरो हाम्रो पार्टीका नेता र कार्यकर्ता हामीले त्यस्ता खालका अनर्गल आरोपलाई खण्डन गर्न सकेनौ । मुख्य कुरो यही हो । यसबाहेक अन्य सहायक कारण पनि छन् ।

पार्टीको संगठनको संरचना हेर्दा पनि जनजाति र मधेसीहरु नै बढी देखिन्छ । खस आर्य समुदायका नेता कार्यकर्ताहरुलाई ल्याउने कुनै कार्यक्रम पनि त गर्नुभएन होला ?

होइन, हाम्रो कार्यक्रम नीति छ । हाम्रो मार्गदर्शक सिद्धान्त नै सबै जातजातिलाई समेट्ने छ ।
त्यसो हो भने कांग्रेसलाई बाहुनको पार्टी किन नभन्ने ? उनीहरुको त नेतृत्व तहमा सबै बाहुन नै बाहुन मात्रै छन् ।

एमालेलाई बाहुनको पार्टी किन नभन्ने ?
तर उनीहरुलाई भनिएको छैन । किन भनिएको छैन भने उनीहरुको धेरै कार्यकर्ताहरु छन् ।

बाँकी भिडियोमा…

सार्वजनिक अनलाइनबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार