भूमिराज राईले जिते पोखरामा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि

पोखरा फागुन ७ -भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजनमा गरेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि नेपाल प्रहरीका भूमिराज राईले जितेका छन ।
पोखरामा भएको प्रतिस्पर्धामा उनले निर्धारित ४२।१९५ किलोमिटरको दौड २ घण्टा ३६ मिनेट ४२ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन ।उपाधिसँगै उनले नगद ७० हजार रुपैयाँ प्राप्त गरे । भूमिराज भन्दा २ मिनेट ४ सेकेण्डले पछि परेका नेपाली सेनाका हरिकुमार रिमाल द्वितीय भए । उनले निर्धारित दूरी २ घण्टा ३८ मिनेट ४६ सेकेण्डमा पार गरे । रिमालले ४५ हजार रुपैयाँ पुरस्कार पाए ।

२ घण्टा ३९ मिनेट ३२ सेकेण्डमा सो दुरी पार गरेका आर्मीकै लालबहादुर थापा तेस्रो भए । उनले नगद ३० हजार रुपैयाँ पाए ।म्याराथनमा १ सय १३ जना सहभागी भएकोमा सशस्त्र प्रहरीका गणेश ठकुरी चौथो भए । उनले २ घण्टा ४५ मिनेट ४५।२ सेकेण्डमा उक्त दुरी पार गर्दै ५ हजार रुपैयाँ पुरस्कार पाए भने ब्रेभ गोर्खा ट्रेनिङ सेन्टरका रामकुमार लिम्बुले ३ घण्टा १ मिनेट २० सेकेण्डमा उक्त दुरी पार गर्दै पाचौं भए ।

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको अवसरमा आयोजित १० किलोमिटर दौड प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो स्थानमा नेपाली सेनाका खेलाडीले स्थान सुरक्षित गरे ।निर्धारित दूरी प्रतियोगितामा ३७ मिनेट ५३ सेकेण्डमा पार गर्दै आर्मीका रामजी बस्नेत पहिलो, ३८ मिनेट २० सेकेण्डमा दूरी पार गर्दै आर्मीका कल्याण बानियाँ दोस्रो र ३८ मिनेट ४१ सेकेण्डमा सो दूरी पार गरेका आर्मीकै मिलन कार्की तेस्रो भए ।

पहिलो भएका बस्नेतले, १५ हजार, दोस्रो हुने बानियाँले १० हजार र तेस्रो हुने कार्कीले ५ हजार रुपैयाँ पाए ।१० किलोमिटर महिला दौड प्रतियोगितामा सशस्त्रकी ईन्द्रधन्के श्रेष्ठ प्रथम, नेपाली सेनाकी सरिता बासी द्वितीय र सशस्त्रकै स्वस्तिका श्रेष्ठ तृतीय भइन् । श्रेष्ठले १५ हजार, द्वितीय हुने सरिता बासीले १० हजार र तृतीय हुने स्वस्तिका श्रेष्ठले ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

५ किलोमिटर छात्रा दौडमा लक्ष्मी आवासीय मावि लेखनाथकी ललिता लामिछाने प्रथम, शहीद स्मृति विद्यालय पोखराकी माधुरीदेवी कुर्मी द्वितीय र शिशु कल्याण स्कुलकी कृति थापा तृतीय भए ।

प्रथम हुने ललिता लामिछानेले १० हजार, द्वितीय हुने माधुरीदेवी कुर्मीले ७ हजार र तृतीय हुने कृति थापाले ४ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।५ किलोमिटर छात्र दौड प्रतियोगितामा जेसिज सेकेण्डरी स्कुलका सागर श्रेष्ठ प्रथम, डेफोडिल बोर्डिङ स्कुलका मनिस कार्की द्वितीय र सृजना माविका मदन ओली तृतीय भए । प्रथम हुने सागर श्रेष्ठले १० हजार, द्वितीय हुने अनिस कार्कीले ७ हजार र तृतीय हुने मदन ओलीले ४ हजार प्राप्त गरे ।

अपाङ्गतामा भएकाहरुका लागि आयोजित ४ सय मिटर पुरुष हृविलचेयर प्रतियोगितामा सुरेश गौली प्रथम, भरत अधिकारी द्वितीय र बलबहादुर रोकाया तृतीय भए । १ सय मिटर महिला हृविलचेयर प्रतियोगितामा लक्ष्मी सुनार प्रथम, अञ्जु बराल द्वितीय र पूजा विक तृतीय भए । १ सय मिटर पुरुष दृष्टिविहीन प्रतियोगितामा सुरेश गौली प्रथम, भरत अधिकारी द्वितीय र बलबहादुर रोकाया तृतीय भए भने १ सय मिटर महिला दृष्टिविहिन् दौडमा लक्ष्मी सुनार प्रथम, अञ्जु बराल द्वितीय र पूजा विक तृतीय भए ।हृविलचेयर तथा दृष्टिविहीन दौडमा प्रथम हुनेले ५ हजार, दोस्रो हुनेले ३ हजार र तेस्रो हुनेले २ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार