क्वालालम्पुर, फागुन ६ – मलेसियामा दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको छ ।
क्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांकअनुसार जनवरीमा ३३ जना र फेब्रुअरीमा २१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २२(४० वर्ष उमेर समूहका युवा छन्। सन् २०१८ को दुई महिनामा यति धेरै संख्यामा नेपालीले ज्यान गुमाएका हुन्।
मृत्यु हुनेमा सबैभन्दा धेरै सुतिरहेकै बेला श्वासप्रश्वास बन्द हुनेको संख्या छ। सन् २०१८ को जनवरीमा भने सबैभन्दा धेरै करेन्ट लागेर, जलेर, ढलमा खसेर र कुटपिटमा परेर मर्नेको संख्या २१ छ। सात जनाले आत्महत्यामा ज्यान फालेका छन् भने सडक दुर्घटनामा परेर तीन र सुतेकै ठाउँमा श्वासप्रश्वास बन्द भएर मर्नेको संख्या दुई जना छ।

यसैगरी, फेब्रुअरीमा सबैभन्दा धेरै अन्य शीर्षकमा मर्नेको संख्या १३ जना छ। श्वासप्रश्वास बन्द भएर, टीबी, निमोनियालगायत रोगका कारण पाँच जनाको ज्यान गएको छ। उद्योगमा काम गर्दा घाइते भएर दुई जनाको मृत्यु भएको दूतावासको तथ्यांक छ। सन् २०१७ मा तीन सय ५१ पुरुष र तीन महिलाको मृत्यु भएको थियो।
सोही वर्ष करेन्ट लागेर, जलेर, ढलमा खसेर, कुटपिटमा परेर मर्नेको संख्या एक सय ८९ रहेको दूतावासको तथ्यांक छ। आत्महत्या गरेर मर्नेको संख्या ६४ र श्वासप्रश्वास बन्द भएर मृत्यु हुनेको संख्या ६१ थियो। दुर्घटनामा परेर सन् २०१७ मा २६ जनाको मृत्यु भएको थियो। यसैगरी, सन् २०१६ मा तीन सय ९२ जना नेपाली मजदुरको मृत्यु भएको छ।