पाल्पामा गाईपालनमा कृषकको आकर्षण

पाल्पा, फागुन ६- पाल्पाको डुम्रे दुग्ध उत्पादक सहकारी संस्थाले निःशुल्क दूध ढुवानी गर्न थालेकाले गाइपालनमा कृषकको आकर्षण बढ्न थालेको छ ।

कृषकलाई पशुपालन व्यवसायमा हौसला बढाउन सहकारीले कृषकको घरघरमा पुगेर दूध खरिद गर्दै आएको छ । घरघरमा दूध खरिदका लागि सहकारी पुगेपछि डुम्रे क्षेत्रका कृषक उत्साहित हुँदै विभिन्न पेशा, व्यवसाय, रोजगार छाडेर गाईपालनमा लागेका हुन । कृषकको आम्दानी उकास्न र उनीहरुलाई दूध उत्पादनबाट आत्मनिर्भर बनाउने उद्देश्यले कृषकको घरदैलोमै पुगेर निःशुल्क ढुवानी खर्चमा दूध खरिद गर्दै आइरहेको सहकारीका व्यवस्थापक गोपाल जिसीले जानकारी दिए ।
सहकारीमा हाल दैनिक तीन हजार लिटर जति डुम्रे आसपास क्षेत्रबाट दूध संकलन हुने गरेको जिसीको भनाइ छ । यस सहकारी संस्थामा तीसवटा व्यावसायिक पशुफार्म दर्ता भएका छन । सहकारीले घरमै आएर दूध खरिद गर्न थालेपछि व्यवसाय गर्न सजिलो भएको माथागढी गाउँपालिका–२ रुप्सेका अगुवा कृषक कृष्णप्रसाद भट्टराईले बताए । दूध बिक्री गरेर छोराछोरीलाई उच्च शिक्षा दिन, घरायसी खर्च चलाउन सजिलो भएको उनको भनाइ छ । उनको फार्ममा हाल दशवटा उन्नत जातका गाईबाट दैनिकजसो ८० लिटर जति दूध बिक्री हुन्छ । एक महिनामा दूध बिक्रीबाट रु एक लाखको हाराहारीमा आम्दानी लिँदै आएको भट्टराईले बताए ।

त्यस्तै तानसेन नगरपालिका–९ दमकडा बस्ने सुमा बन्जाडेले पनि छिमेकीले घरबाटै दूध बिक्री गरेको देखेपछि गाईपालन व्यवसाय शुरु गरेका छन । रोजगारीको सिलसिलामा ६ वर्षसम्म विदेशमा पसिना बगाउनुभएकी बन्जाडेले दशवटा गाईको दूध बिक्रीबाट एक महिनामा रु ४० हजारसम्म आम्दानी गरेको जानकारी दिँदै उनले जानकारी दिए । दूध बिक्रीका लागि सहज वातवरण बनेपछि डुम्रे क्षेत्रका स्थानीयवासीको आम्दानीको स्रोत नै गाईपालन व्यवसाय बनेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार