प्रदेश २ को मुख्यमन्त्रीमा राउतको सपथ ग्रहण, विजय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी

जनकपुर ३, फाल्गुन । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय उपाध्यक्ष समेत रहेका लालबाबु राउतले प्रदेश २ का मुख्यमन्त्रीको लागि पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री राउतले प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थबाट पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

मुख्यमन्त्री राउतसँगै बिहीबार आर्थिक मामिला तथा योजनामन्त्रीको पदमा फोरम नेपालका केन्द्रीय कोषाध्यक्ष विजय यादवले पनि सपथ ग्रहण गरेका छन् ।

त्यस्तै, राजपाका महामन्त्री जितेन्द्र सोनलले भौतिक पूर्वाधारमन्त्रीको सपथ लिएका छन् । मुख्मन्त्री राउतले भोजपुरी, आर्थिक मामिला मन्त्री यादवले मैथिली र सोनलले हिन्दी भाषामा सपथ लिएका छन् ।

सपथ समारोहमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी थिए ।

सपथपछि मुख्यमन्त्री राउतले हिन्दी र नेपाली भाषामा सम्बोधन गरेका थिए । मुख्यमन्त्री राउतले शिक्षा, स्वास्थ्य, सिञ्चाई, सुशासन, सडक गरी पाँच स मा आफूले जोड दिने उल्लेख गरेका छन् ।

उनले आफूले कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने, हुलाकी सडक निर्माण गर्ने, रेलमार्ग निर्माण गर्ने र प्रदेश २ लाई औद्योगिक केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार