विद्यत उत्पादन घटेपछि डोल्पा १८ घण्टासम्म लोडसेडिङ

डोल्पा माघ २५ – ठूलीभेरी नगरपालिकाको जैरीगार खोलामा रहेको विद्युत गृहबाट उत्पादन हुने दुई सय किलोवाट विद्यत उत्पादन घटेपछि डोल्पा सदरमुकाम दुनैमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको छ ।

दुई मेसिनबाट एक सय १० किलोवाट मात्र विद्युत् उत्पादन हुने भएपछि स्थानीयवासी लोडसेडिङको मार खेप्न बाध्य भएको विद्युत् प्राधिकरण डोल्पा वितरण केन्द्रका निमित्त प्रमुख कालीबहादुर महतले बताए।
दुई दशकभन्दा पुराना प्रविधिका मेसिनका कारण विद्युत् उत्पादनमा गिरावट आएका नेपाल विद्युत् प्राधिकरण डोल्पा वितरण केन्द्रले जानकारी दिएको छ।
उपभोक्ताको माग बढेको र मागअनुसार पावरहाउसमा बिजुली उत्पादन नभएकाले विद्युत् सेवा दिन नसकिएको उनको भनाइ छ।

सदरमुकामलगायत साविकका जुफाल, सुँ र दुनै गाविसमा लाइन वितरण गरिएको छ। हाल यो विद्युत् केन्द्रबाट विद्युत् उपभोग गर्ने ग्राहक एक हजार तीन सयभन्दा धेरै छन्।

दुई दिनमा एक दिन मात्र विद्युत् आउने हुँदा उद्योग सञ्चालनमा समस्या भएको हिमाली हर्बल चिया उद्योगका भक्तबहादुर थापाले गुनासो गरे। ‘हरेक दिन भनेका बेला उद्योग चलाउन पाइँदैन, लाइन आउने दिन मात्र काम हुँदा नाफाभन्दा घाटामा उद्योग चलेको छ’, उनले भने।

दुई मेसिनबाट एक सय १० किलोवाट मात्र बिजुली उत्पादन हुने भएपछि स्थानीयवासी लोडसेडिङको मार खेप्न बाध्य छन्।

जिल्लाका सरकारी कार्यालय सबै यहीँ भएकाले कर्मचारीले हिटरलगायत कर्मचारीले बढी बिजुली खपत हुने उपकरण बाल्ने गरेकाले पनि विद्युत् खपत धेरै हुने र लोडसेडिङ बढ्ने विद्युत् प्राधिकरणका कर्मचारी बताउँछन्।

‘महसुल तिरेरै विद्युत् उपभोग गरेका छन्। नबाल भन्न पनि मिलेन, यता विद्युत्को क्षमता भने बढेको छैन। चिसो पनि उस्तै छ, काम गर्न कठिन भइरहेको हुन्छ। यस्तो अवस्थामा उनीहरू ९सरकारी कर्मचारी०लाई पनि के भन्नु,’ प्राधिकरणका कर्मचारीले भने।

निरन्तर विद्युत् नआएपछि बैंकदेखि सरकारी कार्यालयका काम प्रभावित हुने गरेका छन्। लोडसेडिङका कारण व्यापारीहरू सबैभन्दा बढी मारमा पर्ने गरेको स्थानीय व्यापारीको भनाइ छ।

ठूलाबडालाई लाइन सधैं आउने र लोडसेडिङको मारमा सर्वसाधारण मात्र पर्ने व्यापारीहरू बताउँछन्। अत्यावश्यक क्षेत्र ९जिल्ला प्रशासन, प्रहरी, अदालत, अस्पताल तथा रेडियो०मा भने नियमित विद्युत् सेवा प्रदान गरिएको विद्युत् प्राधिकरण डोल्पा शाखाले जानकारी दिएको छ।

क्षमता वृद्धिका लागि पटकपटक क्षेत्रीय तथा केन्द्रीय कार्यालयमा लिखित रूपमा अनुरोध गरे पनि सुनुवाइ नभएको एमाले वैकल्पिक केन्द्रीय सदस्य हंसबहादुर शाहीले बताए। यता ६ महिनादेखि विद्युत् क्षमता विस्तारका लागि पहल गर्छु भन्ने विद्युत् प्राधिकरण डोल्पा जिल्ला शाखा प्रमुख शिवप्रसाद पाण्डे अहिलेसम्म कार्यालयमा हाजिर भएका छैनन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार