राष्ट्रियसभा सदस्य चयनका लागि मतदान सुरु

 

काठमाडौं, माघ २४- राष्ट्रियसभा सदस्य चयनका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको छ ।

मतदान दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम छ । प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले चुनावका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए ।विगतका निर्वाचनझैं राष्ट्रियसभा निर्वाचन पनि शान्तिपूर्ण र उल्लासमय वातावरणमा सम्पन्न हुनेमा उनले बताए ।

चुनाव सुरक्षाका लागि नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीसहितको तीन घेरे सुरक्षा प्रबन्ध गरिएको गृह मन्त्रालयले जनाएको छ । प्रदेश १, ३, ४, ५, ६ र ७ गरी ६ वटा प्रदेशमा मतदान हुनेछन । प्रदेशका उच्च अदालत रहेका स्थानमा मतदान केन्द्र कायम गरिएको छ । ६ वटा प्रदेशका १२ वटा मतदान केन्द्रमा मतदान हुनेछ ।

राष्ट्रियसभा चुनावमा ३२ सिटमा नौ दलका ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन । प्रदेश २ मा आठै पदसहित २४ सिटमा निर्विरोध भइसकेको छ । निर्विरोध भएकालाई बुधबार नै प्रमाणपत्र प्रदान गरिनेछ ।

एकल संक्रमणीय मत प्रणालीबमोजिम प्रत्येक प्रदेशबाट आठ जनाका दरले राष्ट्रियसभामा कुल ५६ जना निर्वाचित हुने व्यवस्था संविधानमै छ । प्रत्येक प्रदेशबाट महिला तीन, दलित एक, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट एक र अन्य तीनजना निर्वाचित हुनेछन् । राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशअनुसार सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित हुनेछन ।

प्रदेश १ मा महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध भएकाले दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी २ सदस्यका लागि मतदान हुँदै छ ।

प्रदेश ३ मा ८ वटै पदमा मतदान हुनेछ । प्रदेश ४ मा अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ सदस्यमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले बाँकी सदस्य चयनका लागि निर्वाचन हुँदै छ ।

यसैगरी, प्रदेश ५ मा महिला ३ सदस्यमा उम्मेदवार निर्विरोध भइसकेकाले अन्य ३, दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी ५ सदस्यका लागि निर्वाचन हुँदै छ ।

त्यस्तै, प्रदेश ६ मा सबै पदमा निर्वाचन हुँदै छ भने प्रदेश ७ मा महिला ३ र अन्य ३ गरी ६ सदस्य निर्विरोध भएकाले दलित १ र अपांगता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी २ सदस्यमा निर्वाचन हुँदै छ । यो चुनावमा मतदान तरिका फरक छ । चुनावमा स्वस्तिक चिह्नको प्रयोग नगरीकनै मतदान हुनेछ । प्रदेशसभा सदस्यले हरियो रंगको मतपत्रबाट र स्थानीय तहका मतदाताले रातो रंगको मतपत्रमा मत संकेत गर्नुपर्नेछ ।महिला, दलित, अपांग, अल्पसंख्यक र अन्य समूह गरी चार वटा मतपत्र प्रयोग गरिएको छ ।

स्थानीय तहका मतदाताले सही तरिकाले मत संकेत नगर्दा १८ मतभार र प्रदेशसभा सदस्यले सही तरिकाले मत संकेत नगर्दा ४८ मतभार फरक पर्ने हुनाले मत बदर नहुने गरी संकेत गर्न उम्मेदवार तथा मतदातासँग आयोगले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार