प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक पोखरामा, यस्तो छ कार्यसूची

पोखरा । प्रदेश नम्बर ४ को पहिलो प्रदेशसभा बैठक आज पोखरामा बस्दैछ । पोखराको नदीपुरस्थित नगरविकास प्रशिक्षण केन्द्रको सभाकक्षमा दिउँसो ११ बजे बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए । बैठकमा सहभागी हुन प्रदेश नं ४ अन्तर्गतका जिल्लाबाट प्रदेशसभा सदस्य पोखरा आइसकेका छन् ।

प्रदेश नं ४ मा गोरखा, लमजुङ, कास्की, तनहु, स्याङ्जा, नवलपरासी, मुस्ताङ, म्याग्दी, बाग्लुङ, पर्वत र मनाङ गरी ११ वटा जिल्ला पर्दछन् ।

बैठकका प्रक्रियालगायतका विषयमा छलफल गर्न शनिबार सर्वदलीय बैठक बसेको प्रदेससभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठले जानकारी दिए । सर्वदलीय बैठकले सोमबार बस्ने प्रदेशसभा बैठकका प्रक्रिया सम्बन्धमा छलफल गर्नुका साथै पोशाकलगायतका विषयमा सहमति कायम गरेको उनले बताए ।

ज्येष्ठ सदस्य श्रेष्ठका अनुसार प्रदेशसभा बैठकमा आउन पुरुष तथा महिला सदस्यलाई तीन प्रकृतिको पोशाक निर्धारण गरिएको छ । बैठकमा आउँदा पुरुष प्रदेशसभा सदस्यले दौरा, सुरुवाल, कोट वा सुट पाइन्ट वा आफ्नो जातीय पहिचानको सांस्कृतिक पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको छ भने महिला सदस्यका लागि साडी चोलो वा सुट पाइन्ट वा जातीय पहिचानको सांस्कृतिक पोशाक निर्धारण गरिएको छ ।

एक घण्टा १५ मिनेट समयावधि अनुमान गरिएको सोमबारको बैठकमा संसदीय परम्पराअनुरुप प्रदेश प्रमुखले संसद् बैठक आह्वान गरेको सूचना पढ्ने, आन्तरिक कार्यविधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्तिको अध्यक्षमण्डल चयन गर्नेलगायतमा विषयमा सर्वदलीय सहमति गरिएको सहसचिव बुढाथोकीले जानकारी दिए ।

सोमबार प्रत्येक ठूला दलबाट तीन/तीन जना (कम्तीमा एक जना महिलासहित) र साना दलबाट एक÷एक जना गरी ११ जनाले मन्तव्य दिने तय भएको छ । जम्मा ६० सदस्यीय प्रदेशसभाको बैठक बस्ने स्थलमा सांसदहरूका लागि माइकसहितका कुर्ची छुट्टै मिलाएर राखिसकिएको छ ।

अघिल्लो दिन पूर्वअभ्यास

यसैबीच बैठकको तयारीका लागि आइतबार ११ मिनेट पूर्वाभ्यास गरिएको थियो। नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा प्रदेशसभाको पूर्वाभ्यास बैठक दिउँसो ४ः२९ बजेदेखि ४ः४० बजेसम्म चल्यो ।

सभामुखको कुर्सी काठमाडौँबाट

बैठक कक्षका अधिकांश फर्निचर स्थानीय तहमा नै व्यवस्थापन गरिए भने सभामुख बस्ने कुर्सी भने काठमाडौँबाटै मगाइएको संघीय संसद् सचिवालयका सहसचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले प्रदेश नं ४ को प्रदेशसभाको सोमबार बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको बताए र

बैठकको मूलकक्षमा सभामुखसहितको रोस्ट्रमका अतिरिक्त प्रदेशसभा सदस्यका लागि ६६ वटा कुर्सी र केन्द्रीय संसद्कै ढाँचाका ३५ वटा माइक जडान भएका टेबुल राखिएको छ ।

मुलकक्षको पछिल्लो भागलाई पारदर्शी सिसाले छुट्याइएको उपकक्षमा विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी र दर्शकका लागि व्यवस्था गरिएको छ ।

उनका अनुसार सोमबार विहान १०ः५५ मा बैठकका लागि जनाउ घण्टी बज्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार