सडक सञ्चालनसँगै खोटाङका पुराना बस्ती विस्थापित

 1103 पटक हेरिएको

खोटाङ, माघ २१ – खोटाङका कतिपय पुराना बस्ती तथा ऐतिहासिक बजार विस्थापित हुँदै गएका छन । गाईघाट हुँदै काठमाडौँ लगायतका शहर आवतजावत गर्ने सडक सञ्चालन भएसँगै बजार विस्थापित हुदै गएको हो ।

खोटाङ बतासेस्थित सुनकोशी किनारमै रहेको भण्डारेघाटमा स्थापित पुरानो बजार हाल उराठलाग्दो देखिन्छ । पहिला बजार लाग्ने ठाउहरुमा पसलहरु राखिएको घरभित्र हाल गाईगोठ, बाख्रा खोर, कुखुरा खोर र कतै सुँगुर राखेको देखिन्छ । अन्तैबाट सडक सञ्जाल जोडिएपछि कतिपय घरहरु संरक्षण नहुँदा भत्किसकेका छन । स्थानीयवासी राजेन्द्र राईका अनुसार नून–तेलको जोहो गर्ने जिल्लावासी होस या साहुको भारी बोक्ने भरिया सबै बास बस्नका लागि तथा एक बिसाउनी बिसाउन मात्र भए पनि सोही स्थानलाई केन्द्र बनाउने गरेको उनले बताए ।
गाईघाट हुँदै काठमाडौँ लगायतका शहर आवतजावत गर्ने यात्रु पनि भण्डारेघाटमा बसेर थकाइ मार्थे, खाजा, नास्ता खान्थे उस्तै परे बासै बस्थे ।सडक पछ्याउँदै अलिकति माथितिर पर्ने सडक किनारमा स्थापित भएका छन । महुरे–फोक्सिङ्टार सडकखण्डमा पर्ने सो स्थानमा पसल तथा होटल व्यवसायलाई नै निरन्तरता दिइरहेको स्थानीयवासी बताउँछन । नेपाल सरकार र स्विस सरकारको आर्थिक लगानीमा २०६७ सालदेखि निर्माण शुरु गरिएको सडक २०७० देखि नै आंशिक रुपमा सञ्चालनमा आएको थियो ।

हाल कालोपत्रको तीव्र काम भइरहेको सो सडक सञ्चालनमा आएसँगै विकासको रेखा कोरिएको छ । नयाँ संरचनाका कारण कतिपय बजार तथा बस्ती नयाँ स्थानमा सर्न थालेका छन । परापूर्वकालदेखि व्यापार–व्यवसाय गर्दै आएका कतिपय परिवार अन्यत्रबाट सडक सञ्चालन भएपछि विस्थापित भएका छन । जयरामघाट, फोक्सिङटार लगायतका कतिपय व्यवसायी अन्यत्र लगानी गर्ने क्षमता नभएका कारण अन्य पेशा अँगाल्न बाध्य भएका छन । पुराना बजारभन्दा फरक स्थानबाट सडक सञ्चालन भएपछि स्थानीयवासीले सडकतिरै सरेर व्यापार–व्यवसाय गर्न थालेपछि पुराना बजार तथा बस्ती रित्तो बन्दै गएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार